‘जसले प्राविधिक विश्वविद्यालय बनाए’

 गणेश लम्साल

विराटगनर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा स्थापना भएको मनमोहन पोलिटेक्निक इन्स्टिच्युट अब देशकै पहिलो प्राविधिक विश्वविद्यालय(एमएमटीयु) मा रुपान्तरित भैसकेको छ । गत वर्ष प्रदेश १ सरकारले सभाबाट कानुन निर्माण गरेर पोलिटेक्निकलाई रुपान्तरण गरि देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा स्थापना गराएको हो । आगामी शैक्षिक सत्रदेखि इलेक्ट्रिोनिक्स् र इलेक्ट्रिक इन्जिनियरिङ अन्तर्गत पानी जहाज र रेलबारे स्नातक तहको पठनपाठन गराउने तयारी गरिरहेको एमएमटीयुले दश वर्षभित्र दक्षिण एसियाकै चिनिएको प्राविधिक विश्वबिद्यालय हुने अपेक्षा लिएको छ । यसका लागि मनमोहन अनुसन्धान केन्द्र स्थापना गरेर धमाधम आफ्ना योजना र रणनीतिहरू अगाडि बढाउन थालेको छ ।

एउटा सामान्य ‘वेसबटम’ पठनपाठनमा आधारित प्राविधिक शिक्षालय ठूलो महत्वकांक्षा पालेर अब ‘टप टु बटम’ रिसर्चको ध्येय लिएर प्राविधिक विश्वबिद्यालय बन्न सफल भएको छ । र, एउटा सामान्य प्राविधिक शिक्षालय ‘मनमोहन पोली इन्स्टिच्युट’ लाई भारतको प्रसिद्ध इन्जिनियरिङ शिक्षण संस्थान ‘आइआइटी’ (इण्डिन इन्स्टिच्यट अफ टेक्नोलोजी) को हाराहारीमा पु¥याउन लक्ष्य बोकेको मनमोहन प्राविधिक विश्वबिद्यालयमा रुपान्तरित गराउने कार्यमा डा. सुभाषश्री पोखरेलको मुख्य हात छ । गत दश वर्षदेखि मनमोहन पोलिटेक्निकमा प्रमुख प्राचार्यका रुपमा कार्यरत सुभाषश्रीले नै हो एउटा प्राविधिक शिक्षालयलाई देशकै पहिलो प्राविधिक विश्वबिद्यालयमा रुपान्तरित गराएको ।

हुन त मनमोहन पोलिटेक्निकबाट विश्वविद्यालय बनाउने कार्यमा प्रदेश १ सरकारका मुख्यमन्त्री, शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, कानून पास गराउने सांसदहरू मात्र नभएर मनमोहन स्मृति प्रतिष्ठानका पदाधिकारी अनि धेरै नेता कार्यकर्ताहरूको योगदान छ । तर एउटा समान्य शिक्षालयलाई देशकै प्राविधिक विश्वविद्यालय बनाउन सकिन्छ र दक्षिण एसियामै चिनाउन सफल हुनसकिन्छ भनेर पहिलो योजना बनाएर प्रस्ताव अगाडि सार्ने व्यक्ति चाँही डा. सुभाषश्री पोखरेल नै हुन् ।
चाहेका भए डा.सुभाषश्रीले भारत, कोरिया, अमेरिका जहाँ गएर पनि धेरै मानप्रतिष्ठा र पैसा कमाउन सक्थे । अझै माथिको ओहोदामा जागिर खानसक्थे । नेपालमै पनि उनले मासिक चार–पाँच लाखसम्मको जागिर खान कतै भौतारिनु पर्ने थिएन । उनले चाहेको भए सरकारको उच्च निकायको कार्यकारी प्रमुख पनि नियुक्त हुनसक्ने थिए ।

तर, सुनसरीको ग्रामिण क्षेत्र दुहबी नगरपालिका ५ स्थित गाउँमा जन्मेका डा. सुभाषश्रीले आफनो लागि पैसा र प्रतिष्ठा सबै मनमोहनलाई नै ठाने । आफ्नो जीवनको लक्ष्य शिक्षालयलाई उत्कृष्ट बनाउनु मात्र हैन नेपालमा एउटा भरपर्दो प्राविधिक विश्वविद्यालय स्थापना गराउने बनाए ।
नेपालमा विज्ञानमा स्नातक सकेर भारत सिक्किमको मनिपाल विश्विद्यालयबाट सूचना प्रविधिमा स्नातोकोत्तर गरेका सुभाषश्रीले दक्षिण कोरियाको ‘चोङबुक नेशनल युनिभर्सिटी’ बाट विद्यावारिधि गरेका छन् । सोही विश्वद्यिालयमा सहायक अनुसन्धानकर्ताको रुपमा तीन वर्ष जागिर खाएर आप्mनै देशमा केही गरेर देखाउने अठोटले स्वदेश फर्केका उनले सन् २०११ देखि मनमोहन पोलिटेक्निक इन्स्टिच्युटमा कार्यकारी प्रमुख बनेर जागिर खान थालेका हुन् । कुनै पनि काममा हातहालेपछि त्यसलाई फत्ते गरेर मात्र छाड्ने लगनशील स्वभावका डा.सुभाषश्रीले तीन पटक देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रुपमा मनमोहन पोलिटेक्निकलाई ‘वेस्ट इन्स्टिच्युट’ को अवार्ड पनि दिलाए । थोरै तलब , सीमित भौतिक स्रोतसाधन, साँधुरो मानसम्मान तर धेरै अभावको दवाव झेलेर पनि डा. सुभाषले मनमोहन पोलिटेक्निक छाडेनन् ।

भारतको सरकारको सहयोगमा निर्माण भएर सरकारी अनुदानमा सञ्चालन भएको शिक्षालयले सरकार परिवर्तन भएपिच्छे बजेटको अभाव झेल्नुपर्दथ्यो । यसैले कार्यक्रमहरूको पनि अभाव हुनेगर्दथ्यो । तर, सुभाषश्री कहिल्यै अभावको दवावसँग विचलित भएनन् । उनी निरन्तर शिक्षालयको उन्नती प्रगतिका लागि दत्तचित्तले लागिरहे । मन्त्रालय, विभाग र सिटिइभिटी धाइरहे । आफुले उत्पादन गरेको जनशक्त्तिलार्ई रोजगार दिलाउन र माग अनुकुलको जनशक्ति उत्पादन गर्न उद्योगीहरूसँग घुलमिल भैरहने । नभन्दै बिद्यार्थी पाउन पनि मुस्किल पर्ने मनमोहन पालिटेक्निक दुई सय विद्यार्थीका लागि हजारौंले आवेदन दिने विश्वासिलो शिक्षालय बन्न सफल भयो ।

देशमा संघीयता आयो । यसैले डा. सुभाषश्रीलाई पनि अब आप्mनो सपना साकार बनाउन सकिन्छ भन्ने विश्वास पलायो । यसैले उनले स्वर्गीय भरतमोहन अधिकारीसँग विश्वबिद्यालय बनाउन सकिने योजना सुनाए । भरतमोहन उनको योजनादेखि प्रभावित भए । अनि शिक्षालयलाई विश्वबिद्यालय बनाउने अभियानको पहल थाल्न स्विकृति दिए । त्यसपछि उनले बिस्तारै मनमोहन शिक्षालयलाई प्राविधिक विश्वविद्यालय कसरी र कस्तो बनाउन सकिन्छ भन्ने खाका तयार गरे । प्रदेश १ मा बहुमतको पहिलो प्रदेश सरकार निर्माण भयो । शिक्षा सेवा हेर्ने समाजिक विकास मन्त्रालयका मन्त्री जीवन घिमिरे नियुक्त भए । डा. सुभाषले मन्त्री घिमिरेलाई कन्भिन्स गरे । मन्त्री घिमिरे सहमत भए । त्यसपछि कानून मन्त्री हिक्मतकुमार कार्की र मुख्यमन्त्री शेरधन राईलाई कन्भिन्स गर्ने काम भयो । मुख्यमन्त्रीले पनि देशमा ‘बोलीखाने हैन गरिखाने शिक्षा’को खाँचोलाई बुझेकोले विश्वविद्यालय बनाउन स्विकृती दिए । त्यसपछि प्रदेश १ सरकारले २०७५ को नीति कार्यक्रममा प्राविधिक विश्वविद्यालय बनाउने योजना समावेश गरायो । अनि समाजिक विकास मन्त्रालयले कानूनी परामर्शदाता अधिवक्ता कोषराज न्यौपाने सहितको कार्यदल बनाएर संभाव्यता अध्यन गरेपछि विधेयक तयार गरायो ।

विधेयक प्रदेशसभामा दर्ता भयो । तर, विपक्षी दलहरूले मात्र हैन सत्ताधारी दलकै सांसदहरूले विभिन्न स्वार्थले गर्दा मनमोहन पोलिटेक्निक विश्वविद्यालय बनाउन नहुने र नसकिने भन्दै तीब्र विरोध गरे । तर सरकारले चाहेपछि किन हँुदैन र ? अन्ततः प्रदेश सभाबाट बहुमतले विधेयक पारित भयो । उक्त विधेयक १६ असोज २०७६ मा प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त देशकै पहिलो प्राविधिक विश्वविद्यालयको कानुन बन्यो । त्यसपछि मनमोहन स्मृति प्रतिष्ठाले कूल २ अर्ब ६५ करोड बराबरको आफ्नो सबै सम्पत्ती सञ्चालनको दायित्व २०७६ कार्तिकमा प्रदेश १ सरकारलाई हस्तान्तरण गरिदियो ।

अब स्वर्गीय नेता मनमोहनको स्मृतिमा स्थापना भएको प्रतिष्ठानमार्फत सञ्चालन भइरहेको ‘मनमोहन पोलीटेक्निकल ईन्स्टिच्युट’ प्रदेश १ सरकार मातहतको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा रुपान्तरित हुन सफल भयो । अहिले मनमोहन विश्वविद्यालय स्थापना हुनेवित्तिकै ग्रामिण क्षेत्र भनेर चिनिएको बुढीगंगा गाउँपालिका अब विस्तारै ‘स्मार्ट सिटी’ का रुपमा विकास हुने सम्भावना बढेर गएको छ । नजिकै रहेको ठूलो शहर विराटनगरबाट हेपायती व्यवहार खेप्दै आएका बुढीगंगाबासी प्राविधिक विश्वविद्यालय स्थापना भएपछि गद्गद् भएका छन् । स्थानियबासी सत्यनारायण चौधरीका अनुसार यसैले गाउँपालिकाले चाँडोभन्दा चाँडो मनमोहनलाई ५० विगाहा जग्गा दिलाउने तयारी पनि गरेको छ । आसपासका पालिकाहरू सुनसरीको दुहबी र बर्जु अनि मोरङको ग्रामथान लगायतले ‘हामी पनि निःशुल्क जमिन दिन्छौ, विश्वविद्यालयको संरचना निर्माण गरिदिनुहोस् भन्दै आग्रह गर्न थालेका छन् ।’

‘प्राविधिक शिक्षालयलाई विश्वविद्यालयमा रुपान्तरित गराउने काम डा. सुभाषश्रीले नै गरेका हुन् उनको योगदानलाई हामी कसैले बिर्सन हँुदैन’ बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझी भन्छन् । उनका अनुसार सरल, सबैलाई पहुँचदिने, कहिल्यै झर्केर नमिठो नबोल्ने, सँधै सकारात्मक सोच राख्ने र हातहालेको काम पुरा गरेरै छाड्ने स्वभावका धनी डा. सुभाषश्रीको विश्वविद्यालयलाई दश वर्षभित्र दक्षिण एसियामै चिनाउने सपना सफल भएरै छोड्ने विश्वास अध्यक्ष माझीको छ । अध्यक्ष माझी भन्छन्, ‘अहिलेसम्म सुभाषश्रीले थालेका सबै काम पुरा भएका छन् । यसैले दश वर्षभित्र उहाँले देखेको सपना पनि अवश्य असफल हँुदैन यो मेरो विश्वास हो ।’

हाल मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुनी सल्लाहकारको रुपमा कार्यरत अधिबक्त्ता कोषराज न्यौपाने पनि डा सुभाषश्रीले नचाहेको भए मनमोहन शिक्षालय विश्वविद्यालयमा रुपान्तरित हुन धेरै समय लाग्ने बताउँछन् । उनका अनुसार डा. सुभाषश्रीले लोभलालच सबै त्यागेर आफ्नो तनमन मनमोहनलाई दिएकै कारण उत्कृष्ट शिक्षालयदेखि विश्वविद्यालयमा रुपान्तरित हुन सफल भएको हो । अधिवक्ता न्यौपाने भन्छन्, ‘यसैले निर्धक्क भन्न सकिन्छ डा. सुभाषश्री लोभहिन, त्यागि व्यक्ति मात्र नभएर सपना देख्ने दुरदर्शी शिक्षाविज्ञ पनि हुन् । उनले चाहेको भए छाडेर अन्त धेरै पैसा कमाउन पनि सक्ने थिए ।’

पहिले मनमोहन पोलिटेक्निकल कलेजको प्राचार्य रहेका डा. सुभाषश्री हाल प्राविधिक विश्वविद्यालयको कार्यकारी प्रमुख बनेका छन् । यसैले उनी जसरी भए पनि पहिलो प्र्राविधिक विश्वबिद्यालयलाई चाँडोभन्दा चाँडो ‘रन’ गराउन चाहन्छन् । यसैेले पहिलेभन्दा उनको व्यस्तता चार गुणाले बढेको छ ।

एउटा भौतिक पूर्वाधार सम्पन्न विश्वविद्यालय बनाउन अनुसन्धान केन्द्र, विज्ञान पार्क, हर्वल गार्डेन, आधुनिक ल्याब, पूर्वाधार सम्पन्न शंकायका भवन आदि चाहिन्छ । जसलाई तीन सय विगाह जमिन र अर्बौ बजेट आवश्यक पर्दछ । प्रदेश सरकारले उपलब्ध गराएको सीमित बजेटले एकैचोटी सबै निर्माण गर्न सकिने अवस्था अहिले छैन । यसैले डा. सुभाष क्रमशः सबै संरचना पुरा चाँडो निर्माण गराउने भन्ने ध्याउन्नमा लागेका छन् । यसैले विश्वविद्यालयले आफ्नो आम्दानीको स्रोत पनि आफंै बनाउँदै लानुपर्ने सोच सुभाषश्रीको रहेको छ । केन्द्रिय कार्यालय परिसर नजिकै विज्ञान पार्क निर्माण गराएर सर्बसाधारणका लागि सशुल्क खुल्ला गराउने योजना उनले बनाएका छन् ।

आफनो सबै मेहनत लगाएर सुभाषश्रीले बनाएको प्राविधिक विश्वविद्यालयको योजनाबारे अझै धेरैले बुझेका छैनन् । केहीले बुझेर पनि बुच पचाएका छन् । यही कारण उनले समस्यासँगै चुनौतीको पनि सामना गरिरहनुपरेको छ । ‘खै मनमोहन विश्वविद्यालय बनाएर प्रदेश सरकारले के पायो ?’ भनेर होच्याउँदै निरास बनाउने ‘तातै खाउँ जली मरौ’ भन्नेखालका र ‘आरिसे’ पनि कम छैनन् । यसैले उनी ईख पालेर उपलब्धिलाई देखाउन मात्र हैन दश वर्षभित्र चर्चित गराउने गरि आन्तरिक तयारीमा जुटेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकारको मात्र नभएर देशकै भएकोले संघीय सरकारले पनि सहयोग गर्ने सुभाषश्रीको अपेक्षा छ ।

एमएमटीयुले आगामी वर्षदेखि रेल्वे र पानीजहाज पढाई सुरु गर्ने योजना बनाइसकेको छ । यसैले सुभाषश्री विदेशी विज्ञहरू मार्फतपाठ्यक्रम तयार गराउन पनि सक्रिय छन् । यसबाहेक चाँडै पारामेडिकल, कृषि, सिभिल इन्जिनियरिङ, पब्लिक हेल्थलगायत विभिन्न विषयमा स्नातक र स्नातकोत्तरसम्मको हिमाल, पहाड तराई सुहाउँदो पढाई सुरु गराउने र दश वर्षभित्र विद्यावारिधि (पिएचडी) कसरी सकिन्छ भनेर योजना बनाउन पनि तल्लिन छन् । योसँगै भर्खरै स्थापना भएको मनमोहन विश्वविद्यालयको विभिन्न संकायहरूका भवन निर्माण गराउनुदेखि अनेकांै सरंचनाहरू निर्माण गराउने अभिभारा पनि छँदैछ । यसैले उनी दिनरात भात–पानी नभनी निरन्तर विश्वविद्यालयको सपना पुरा गराउन लागिरहेका छन् । जस्तोसुकै समस्या आइपरे पनि निरास नभएका र अभावको दबाबसँग कहिल्यै हार नखाएका डा. सुभाषश्री भन्छन्, ‘सपना भनेको ज्यूँदाले देखेको योजना हो । यसैले पुरा गरेरै छाडनुपर्छ नत्र त्यो निद्रामा देखिने कल्पनिक कथा जस्तो मात्रै हुनेछ ।’

आइतबार, २८ मंसिर, २०७७

प्रतिक्रिया

  1. माथी उल्लेखित नाम सत्यनारायण चौधरी एक स्थानीय मात्रै न भएर मनमोहन पॉलीटेक्निकको लागी एक योगदान दिने महत्वपूर्ण ब्यक्ति हुन। अनुरोध छ केही कुराहरू लेखदा अलि बुझेर अध्यन गरेर गर्दा झन राम्रो र आकर्षक देखिन छ। अब महोदयले कसरी लिनु हूछ??
    नमस्कार ।।।

प्रतिक्रिया:

सम्बन्धित खवर