विराटनगर । कपडा व्यापारी तरूणकुमार साह रौनियारले विराटनगर–७ जलजला चोकस्थित ‘वाइट हाउस’ नामक कपडा पसलको गोदामबाट तस्करी गरेर ल्याएको झण्डै साढे ३३ लाख मुल्य बराबरको कपडा बिहीबार प्रहरीले बरामद ग¥यो । साहको गोदाममा भन्सार छलेर भारतबाट अवैध रूपमा ल्याइएका ३३ लाख ४१ हजार ९०० रुपैयाँ बराबरको कपडा थियो ।
मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले साहको गोदामबाट ३ हजार २८३ थान सर्ट, २३ थान जम्फर र ३५ थान पाइन्ट बरामद गरेको हो । प्रहरीले बरामद गरेको कपडा तस्कर समूहले अवैध क्यारिङ्ग मार्फत साहको गोदामसम्म ल्याएका थिए । कपडाको थोक बिक्रेता साहको गोदाम छापामार्दा फेला परेको कपडाको परिमाणले कपडा तस्करीको अवस्था पुष्टि गरेको छ ।
यस्तो छ क्यारिङवालाको तस्करी धन्दा
विराटनगर र सुनसरीमा ठूलो संख्यामा कपडालगायत दैनिक उपभोग्य वस्तुको नियमित क्यारिङ गर्ने केही समूह सक्रिय छन् । ती समूहले व्यापारीसँग निश्चित रकम लिने सम्झौता गरी तोकेको स्थानसम्म सामान पु¥याउने जिम्मा लिनेगरेको पाइएको छ । ‘भन्सार छलेर अवैध रूपमा कपडा ल्याउन व्यापारीले ‘क्यारिङ’ गर्नेको समूहलाई दिने गर्दछन्,’ यस क्षेत्रका जानकार स्रोतले भन्यो, ‘व्यापारीले प्रतिथान कपडाको हिसाबले क्यारिङ गर्नेलाई रकम दिन्छन् ।’ भारतदेखि विराटनगरमा क्यारिङ गरेवापत उनीहरुले रकम लिनेगरेका छन् भने नेपाली व्यवसायीले उनीहरुसँग रकम धरौटी लिएर काम दिने गरेका छन् ।
कपडाका क्यारिङ गर्दै आएका एक व्यक्तिले दिएको जानकारी अनुसार भारतको जोगवनीबाट विराटनगरसम्म सामान ढुवानी गर्दा लिने मूल्यसुचि नै व्यापारीहरुलाई दिइन्छ । जसमा सर्ट प्रतिथान २० देखि २५ रूपैयाँ, पाइन्टको ४० देखि ५० रुपैयाँ, कुर्ता सुरूवालको १५ रुपैयाँ, जम्फरको २५ देखि ३० रुपैयाँ र सेण्डो गञ्जीको दुईदेखि चार रुपैयाँ तोकिएको हुन्छ । यो दररेट भारतको जोगवनीदेखि विराटनगसम्मको हो । विराटनगरदेखि बाहिर पु¥याउनुपर्ने जिम्मा क्यारिङवालालाई दिइएको खण्डमा व्यवसायीले थप पैसा तिर्नुपर्छ ।
‘यहाँका व्यापारीले भारतीय बजार गएर कपडा किनेपछि भन्सार छलेर ढुवानी गर्ने जिम्मा क्यारिङलाई दिन्छन्,’ स्रोतले भन्यो, ‘क्यारिङ गर्नेले पनि जोखिम मोलेर गन्तब्यसम्म पु¥याउने गर्छन् ।’ व्यापारीले क्यारिङ्ग गर्नेलाई कपडा जिम्मा लगाएपछि गन्तव्यसम्म पुर्याउने जिम्मेवार ढुवानीकर्ताको हुन्छ । बीचमा प्रहरीले सामान बरामद गरेको खण्डमा त्यसको जिम्मेवारी क्यारिङ गर्नेको हुन्छ । ठूला व्यापारीको क्यारिङ गर्ने समूहले प्रशासनसँग सेटिङ्ग मिलाएर धन्द चलाउने भएकोले बरामद हुने सम्भावना न्यून हुन्छ ।
‘कतिपय व्यापारीले क्यारिङ गर्ने समूहसँग धरौटि लिएर मात्र काम गरेका हुन्छन्,’ क्यारिङ धन्दाका अनुभवी एक व्यक्तिले भने, ‘विश्वासका आधारमा काम गर्नेले धरौटि माग्दैनन् तर अधिकांशले धरौटि लिएरै ढुवानीको जिम्मा दिएका हुन्छन् ।’ प्रहरीबाट सामान बरामद भएको खण्डमा अशुलउपर गर्न धरौटी राख्ने गरेको उनी बताउँछन् । तोकिएको ठाउँमा सामान ल्याएपछि कबोल अनुसारको रकम व्यवसायीले क्यारिङ सञ्चालकलाई दिनुपर्छ ।
खुद्रादेखि होलसेलसम्म तस्करीको कपडा
भारतीय बजारबाट यहाँका खुद्रादेखि थोक बिक्रेतासम्म तस्करीको कपडा आउने गरेको छ । क्यारिङ गर्नेले मोरङको विराटनगर, उर्लाबारी, विराटचौक र सुनसरीको इटहरी, इनरूवा, धरानसम्मका कपडा पसलहरू तस्करी गरेर कपडा लैजाने गरेका छन् । यस्तो सामान इटहरीमा सबैभन्दा धेरै जाने गरेको स्रोतको भनाइछ । ‘सुनसरीको इटहरीमा कपडाका धेरै होलसेल पसलहरू भएकोले त्यहाँ बढी पठाउने गरिएको छं,’ स्रोतले भन्यो, ‘सुनसरीको नाकाहरूबाट अहिले पनि दैनिक लाखौंको कपडा क्यारिङ मार्फत गइरहेको छ ।’
पछिल्लो समय मोरङ प्रहरीले तस्करीको लाइन चलाएको भनेर आरोप लागेपछि सीमा नाकामा कडाई गरेको छ । मोरङमा कडाई भएपछि सुनसरीको नाका कपडा तस्करीमा प्रयोग गर्ने क्रम बढेको छ । विगतदेखि नै सुनसरीको दक्षिण क्षेत्रबाट क्यारिङ गर्नेले कपडाको तस्करी गर्दै आएका छन् ।
सुनसरीको अमरवा फारम, अमडुवा, बेलगछिया नाकाहरूबाट तस्करीको कपडा आउने गरेको छ । सो नाकाहरूबाट सुनसरीको बेलगछियाका बिनोद मेहता, बिनोद चौधरी, सन्तोष साह र विराटनगरका बब्लु अग्रवालले क्यारिङको कपडा ल्याउने गरेका छन् । प्रहरीले छापामारेर तरूणकुमार साह रौनियारको गोदामबाट बरामद भएको ३३ लाख ४१ हजारको कपडा पनि सोही समूहले भारतबाट क्यारिङ मार्फत ल्याएको सुरक्षा स्रोतको दाबी छ । ‘मोरङको सीमा नाकाहरू प्रहरीले कडाइ गरेपछि विराटनगरमा बसेर तस्करीको कपडा क्यारिङ गर्नेहरूले अहिले सुनसरीको नाका प्रयोग गर्न थालेका छन्,’ स्वयं क्यारिङ गर्नेले भन्छन्, ‘अहिले मोरङबाट फाटफुटरुपमा मात्र धन्दा चलिरहेको छ । विराटनगरको अधिकांश पसलमा सुनसरीको नाकाहरूबाटै कपडा आइरहेको छ ।’
भरियाको ज्याला ३ देखि ५ सय रुपैयाँ
भारतीय बजारबाट कपडा ढुवानी गर्न नियमित रुपमा भरिया प्रयोग गर्ने गरिएको छ । क्यारिङ चलाउनेले उनीहरुलाई निश्चित ज्याला दिएर कपडा बोक्न लगाउछन् । भरियाले एकपटकको ३ देखि ५ सय रूपैयाँसम्म ज्याला लिने गरेका छन् । ‘कतिपयले कपडा बोकेको हिसाबले पनि भरियालाई पैसा दिने गर्दछन्,’ कपडाको क्यारिङ सञ्चालकले भने ।
प्राय गरेर राति र बिहानीपख क्यारिङ चल्ने गरेको बताइएको छ । राति १० बजे पछाडि खुल्ला सीमाको अनुचित फाइदा उठाउँदै भरियाहरु नेपाल प्रवेश गर्छन् । भारततर्फबाट तस्करी गरेर ल्याएको कपडा बोर्डर नजिक सुरक्षीत ठाउँ भण्डारण गर्छन् र अनुकुल समयमा साइकल, सिटी सफारी, टेम्पो आदि साधन मार्फत विराटनगर स्थित गोदामसम्म ढुवानी हुन्छ । भन्सार तिरेर आयात गर्दा खरिद मुल्यमा ५ देखि ३० प्रतिशतसम्म भन्सार महशुल तिर्नुपर्छ । रेडिमेड कपडाको २० देखि ३०, थान कपडाको १३ र सुति कपडाको ५ प्रतिशत भन्सार महशुल तोकिएको छ । भन्सार मूल्य बढी भएको बहानामा यहाँका व्यापारीहरुले क्यारिङ मार्फत कपडा मगाउने गरेका छन् ।