विराटनगर । ससुराको मृत्यु संस्कारबाट बञ्चित गराउँदै जातीय विभेद गर्ने दुईजना आरोपीहरुलाई मोरङ जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी मागेको छ ।

कात्तिक १३ गते निधन भएका ७० वर्षीय ससुरा भीमराज गहतराज (विश्वकर्मा) को काजकिरियाबाट बुहारी कोपिला बर्देवालाई सानो जातको भन्दै बञ्चित गराएको आरोपमा उर्लाबारी ४ आइतबारेका ३५ वर्षीय दिवस गहतराज र उनकी जेठी श्रीमती ३३ वर्षीया तारा गहतराजलाई अदालतले जनही एक लाख रुयैयाँ धरौटी माग गरेको हो ।

मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शन लामिछानेको इजलासले जातीय विभेद र छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार प्रहरीले पक्राउ गरेर हाजिर गराएका दिवस र उनकी श्रीमती तारालाई जनही एक लाख रुपैयाँ धरौटी माग गरेको श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो । चार जना फरार आरोपीहरु कोपिलाका सासु ५५ वर्षीया सुनिता गहतराज, जेठी श्रीमती ताराकी बहिनी २५ वर्षीया शारदा घतानी ,जेठाजहरु ४० वर्षीय दिपक र ३८ वर्षीय शम्भु गहतराज विरुद्ध भने अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

मंगलबार अदालतमा वादी कोपिला बर्देवाको तर्फबाट अधिवक्ता हेमराज पन्त र जयराम सुन्दासले बहस गरेका थिए । ससुराको अन्तेष्ठि र काजकिरिया संगोलमा गर्न नपाएपछि दिवस गहतराजकी कान्छी श्रीमती उर्लाबारी नगरपालिका ४ की ३० वर्षीया कोपिला बर्देवाले परिवारका ६ जना सदस्यहरु विरुद्ध जातीय छुवाछुत कसुरमा सजाय माग गर्दै २३ कात्तिकमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

किटानी जाहेरी दर्ता भएपछि कोपिलाका श्रीमान दिवस र जेठी श्रीमती तारा पक्राउ परेपनि अन्य आरोपीहरु भने फरार छन् । फरारमध्ये ४० वर्षीय दिपक गहतराज कोपिलका सबैभन्दा ठूला जेठाजु र नेपाल दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् । विभेदमा परेकी कोपिला दलित संघ उर्लाबारीकी कोषाध्यक्ष हुन् ।
कोपिलाको १० वर्ष अगाडि भीमलालका कान्छा छोरा दिवस गहतराजसँग विवाह भएको थियो । उनीहरुको ८ वर्षकी छोरी छन् ।