भोजपुर । नेपाल सरकारको घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम ट्रेलको शिलान्यास गरिएको छ ।
भोजपुरको पाँचधारेबाट सिलिचुङ डाँडासम्मको करिब ५८ किलोमिटर पदमार्गमध्ये पहिलो चरणमा १२ किलोमिटरमा पदमार्ग निर्माणको काम थालनी गरिएको हो ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले सोमबार मार्गको शिलान्यास गर्नुभयो । प्रदेश सरकारको ३५ प्रतिशत, स्वीस सरकारको ३५ प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत गरी कुल ९९ लाख २२ हजार ७८४ रुपैयाँ लागतमा पहिलो चरणको पदमार्ग निर्माणको काम थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।
छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ का रुपमा विकास गर्न कामको थालनी गरिएको हो । पदमार्गमा जाने आन्तरिक तथा वाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै संरचनाहरु निर्माण गरिने जनाइएको छ ।
मार्गमा किराँत राईहरुको संस्कार, सस्कृतिसँग जोडिएका विभिन्न टिपिकल खानाको व्यवस्था गरिने जनाइएको छ । पर्यटकहरुको पदमार्गमा सहजयात्राका लागि विभिन्न जानकारी मुलक बोर्डहरुसमेत राखिने पदमार्ग निर्माण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकको सहजताको लागि पदमार्ग निर्माणको काम थालनी गरिएको हो । प्राकृतिक स्वरुपलाई यथावत राख्दै सिमेन्टको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम शुरु भएको हो । पदमार्गको लागि २ करोड लागतमध्ये पहिलो चरणमा ९९ लाखको काम हुनेछ ।
दोश्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्राम स्थल निर्माणसँगै पर्यटकहरुको लागि खाना बस्नको लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिनुभयो । मुन्दुम ट्रेलको विकासले गाउँपालिकालाई आर्थिक विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।
पर्यटकिय क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले बताउनुभयो । गाउँपालिकालाई प्रदेश १ को पहिलो उज्यालो पालिकाको रुपमा घोषणा गरिसकिएको छ ।
हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र दृश्यावलोकन गर्न सकिने प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र पर्यटनलाई व्यावसायिकरण गर्न सहयोगी हुने गाउँपालिकाका अध्यक्ष धु्रवराज राईले बताउनुभयो । त्यहाँको डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृंखलाको दृश्यालोकन गर्न सकिन्छ ।