विराटनगर । तीन दशकयता मोरङ-सुनसरी करिडोर क्षेत्रमा नयाँ लगानीका उद्योगहरू खुल्नेभन्दा पनि बन्द हुने क्रम बढेको छ ।
पछिल्लो तीन दशकमा मोरङ-सुनसरी करिडोरका १ सय ७ वटा ठूला उद्योगहरू बन्द भएको पाईएको छ । वि.सं. २०४६ सालसम्म यस औद्योगिक करिडोर निर्यातमुखी ठूला उद्योगहरुको संख्या १ सय ५० रहेको थियो । तर, ती उद्योगहरु बन्द हुने क्रम बढेसँगै अहिले यस क्षेत्रमा जम्मा निर्यातमुखी ठूला उद्योग ४३ वटा मात्र छन् ।
वि.सं. २०४१ देखि ०४९ सालसम्म मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो । तर, ५० को दशक शुरू भएलगतै उद्योगद्यन्दाहरू बन्द हुने क्रम शुरू भएको यस क्षेत्रका उद्योगी व्यापारीहरुले बताएका छन् । द्वन्द्व, सरकारको स्थायी पोलिसीको अभाव, विद्युत आपुर्तिमा समस्या, यातायातमा अवरोध, बैंक तथा बिमाको चर्को ब्याज र उद्योग क्षेत्रमा बस्ती विकास लगायतका समस्याले वैदशिक लगानी पनि घट्दै गएपछि निर्यातजन्य उद्योगहरू बन्द भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।
बन्द भएका उद्योगहरूमा मात्रै कम्तिमा २३ अर्ब बराबरको लगानी रहेको थियो । उद्योग विभागको तथ्याङ अनुसार मोरङ-सुनसरी करिडोर लगायत आसपासका क्षेत्रमा अहिले साना र ठूला गरी ६६५ वटा उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये १९ प्रतिशत उद्योगहरुले अहिले उत्पादित मालसामान विदेशसम्म निर्यात गर्ने गरेका छन्।
तर उद्योगहरु बन्द हुने क्रम उकालो लागेसँगै तीन दशकयता मोरङ-सुनसरी करिडोरमा नयाँ उद्योगहरु भने सञ्चालनमा आउन सकेका छैनन् । अहिले पनि यस करिडोरमा सञ्चालित जुट उद्योग, गार्मेन्ट, कपुर, वनस्पति, घ्यू र मैनबत्ती लगायतका ४० बढी निर्यातमुखी उद्योगहरू बन्द हुने अवस्थामा रहेको उपाध्यक्ष राउतको भनाई छ । तीन दशकयता मोरङ-सुनसरी करिडोरका अशोक टेक्सटायल र प्रभात टेक्सटायल जस्ता आधा दर्जन बढी टेक्सटायल ठुला लगानीका उद्योगहरू बन्द भईसकेका छन् । सो करिडोरमा सञ्चालित ११ जुट उद्योगहरूमध्ये अहिले मात्र ५ वटा मात्र सञ्चालनमा रहेका छन् ।
त्यसैगरि पछिल्लो तीन दशकमा हेटौंडा र स्वदेशी आईरन जस्ता फलाम उद्योग, कर्कट पाता र पाईप उद्योगहरू पनि बन्द भएका छन् । करोडौंको लगानी रहेको दुहबीको वंशल ईण्डष्ट्रिज पनि सञ्चालन हुन नसकेर बन्द भएको हो । अम्बे, सङ्ग्रिला ईन्टरनेशनल, एमी, जेडी, ईजी केयर र फेशन फ्याब्रिक जस्ता तयारी पोशाकका ठूला उद्योग र दर्जनौं साना उद्योगहरू यस दौरान बन्द भएको उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।
एउटै उद्योगमा १ अर्ब बराबरको लगानी रहेको वंशल नेपाल, क्रिस्टेन, लिगश नेपाल र सूर्य नेपाल जस्ता नाम चलेका एक दर्जन उद्योगहरु गणतन्त्रको उदयसँगै बन्द भएको उहाँको भनाई छ ।
उद्योगहरु बन्द हुने क्रम उकालो लागेसँगै तीन दशकयता मोरङ-सुनसरी करिडोरमा नयाँ उद्योगहरु समेत सञ्चालनमा आउन सकेका छैनन् । लगानीमा असुरक्षा, जग्गाको बढ्दो मोल, राजनैतिक अस्थिरता र बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज लगायतका विविद्य समस्याले नयाँ उद्योग सञ्चालनमा आउने क्रम न्युन रहेको यस क्षेत्रका उद्योगी व्यावसायीहरुको विश्लेषण छ । कोरोनाका कारण अहिले मास्क र स्यानिटाईजर जस्ता वैकल्पिक उद्योगहरुले गति लिएको उनीहरूले बताएका छन् ।
हाल कोरोना महामारीबीच सिथिल बनेका ८० प्रतिशत उद्योगद्यन्दा तथा कलकारखानाहरु पुनः चलायमान भएका छन् । अन्तराष्ट्रिय सीमानाकाहरु बन्द हुँदा आंशिक रुपमा भएपनि स्वदेशी उत्पादनले बजार ओगटेको जनाईएको छ।