विराटनगरमा ‘रेमडिसिभिर’ को तस्करी

विराटनगर । कोभिड– १९ का संक्रमितको उपचारमा ‘रेमडिसिभिर’ इन्जेक्सनको प्रयोग हुन थालेपछि भारतदेखि नेपालमा यसको अधिक मात्रमा तस्करी भइरहेको पाइएको छ । सरकारले सीमित आयातकर्तालाई मात्र अनुमति दिएको र संक्रमितको संख्या थपिँदै जाँदा माग बढेकोले तस्करीको बाटोबाट रेमडिसिभिर आएको हो ।

विश्व स्वास्थ्य संगठनले प्रभाबकारी नरहेको बताएपनि नेपालमा संक्रमितको उपचारमा यो प्रभाबकारी देखिएको सरकारले बताउँदै आएको छ । तर, बैधानिक रुपमा यसको आयात पूर्ण रुपमा खुल्ला नगरिएको कारण भारतबाट तस्करी गरि ल्याएर तीन गुणा बढी मूल्यमा यसको बेचबिखन गर्ने धन्दा मौलाएको छ ।

भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सय रुपैयाँ गर्ने यो इन्जेक्सन नेपालमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको जानकारहरू बताउँछन् । अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेपछि यसको माग पनि बढेको छ । मंसिर ८ मा मोरङ प्रहरीले विराटनगर–१३ सैनक टोलका ३६ वर्षीय नरेश यादवको घरदेखि तस्करी गरे ल्याएको औषधी बरामद गर्दा १० भाइल रेमडिसिभिर पनि फेला परेको थियो ।

औषधिको तस्करी गर्नेहरुले रेमडिसिभिरको तस्करी गर्न थालेको यो प्रकरणबाट देखिएको छ । प्रहरीले यादवको घरबाट तस्करी गरि ल्याएको रेमडिसिभिरसहित औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ लगायतका अन्य विभिन्न नाम गरेको चार कार्टुन औषधी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन ।

अहिले नेपालमा कम्पनी अनुसार फरक–फरक दुई मूल्य भएको रेमडिसिभिर इन्जिेक्सन आउने गरेको छ । भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँमा यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । यसको तस्करी गरि कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूहको संलग्न हुने गरेको छ ।

तस्करको गिरोहसँग मिलेर रेमडिसिभिर इन्जेक्सनसहित अन्य प्रतिबन्धित औषधीहरू विराटनगर ल्याएपछि विभिन्न क्षेत्रमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘यादवले तस्करी गरि ल्याएको औषधी स्वास्थ्य क्षेत्रका केही व्यक्तिहरूको समूह मिलेर मगाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘विभागमा दर्ता नभएका औषधीहरू तस्करी गरि ल्याउने गिरोहको पहिचान भएकोले पक्राउ गर्न लागि परेका छौं ।’

तस्करीमा संलग्न थप व्यक्ति पक्राउ परिनसकेकोले विभागले तस्करी गरि औषधी मगाउने व्यक्तिको नाम गोप्य राखेको छ । प्रहरी स्रोतका अनुसार रेमडेसिभिरको तस्करीमा विराटनगरका केही ठूला औषधि व्यवसायी, निजी अस्पताल र स्वास्थ्य क्षेत्रका जानकार व्यक्तिको संलग्नता छ ।

‘सिकिस्त कोरोना संक्रमितलाई रेमडिसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘तपाइको विरामीलाई इन्जेक्सन चलाउनुपर्दछ । चाँडै जोहो गर्नुहोला । फार्मेशी र स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भन्ने गर्दछन् ।’

‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?, संक्रमितका एक जना आफन्तले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ? ।’

यसरी भित्रिन्छ तस्करीको औषधी
विशेष सूचनाका आधारमा प्रहरीले भण्डान गरि राखिएको ठाउँबाट रेमडिसिभिरसहित अन्य विभिन्न तस्करीको औषधी बरामद गरेको थियो । यादवले भारतदेखि विराटनगरसम्म ल्याउन निक्कै जुक्ति लगाएका थिए । तस्करीको औषधी ल्याउन यादवले ट्याक्टर प्रयोग गरेका थिए ।

‘खाली ट्याक्टरको मुनी औषधी र माथिबाट पराल राखेर चोरबाटो हुँदै तस्करीको औषधी यादवको घरमा पु¥याइएको थियो,’ स्रोतले भन्यो, ‘यादवले औषधी घर ल्याएको २ घण्टा बित्न नपाउँदै मोरङ प्रहरीबाट खटिएको सिआरभीको टोलीले औषधी बरामद गरेको हो ।’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार विशेष सूचनाको आधारमा तस्करीको औषधी भण्डारण गरिएको ठाउँबाट बरामद भएको हो ।

प्रहरीले बरामद गरेको औषधी र पक्राउ गरेको यादवलाई थप आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरलाई बुझाएको छ । विभागले ९ मंसिरमा मोरङ अदालतमा उनीमाथि ५ दिनको म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

आइतबार, १४ मंसिर, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर