विराटनगर । मोरङ, भोजपुर र उदयपुरबाट प्रहरीले हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीको टोलिले मिक्लाजुङ–१ सिलिलिङका अमृतबहादुर श्रेष्ठलाई हतियारसहित पक्राउ समेत गरेको छ । विप्लव माओवादीको सक्रियता बढेको सूचना पाएपछि गएको टोलिले ५८ वर्षीय श्रेष्ठलाई हतियारसहित पक्राउ गरेको हो ।
हातहतियार लुकाईछिपाई राखिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले प्रहरीले टोटा बन्दुक १ थान यसमा लाग्ने खाली खोका ३ थान, ५०० ग्राम बारुद र दुई थान मोवाइल बरामद गरेको जनाएको छ ।
भोजपुरको भोजपुर नगरपालिका–८ स्थित पोखरेलाईनबाट हातहतियारसहित दुई जना पक्राउ परेका छन् । एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १।६ फिट डेटोनेटर कड सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका–३ च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्की छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त हातहतियारसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै उदयपुर, कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्र बहादुर तामाङ र कृष्ण बहादुर तामाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारेर पक्राउ गरेको हो । उनीहरूसँगै रहेर फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।