अनन्तराज न्यौपाने
बहुदलीय प्रजातन्त्रको पुनःस्र्थापना २०४७ सालमा भएपछि तत्कालीन नेकपा माक्र्सवादीका महासचिव मनमोहन अधिकारीले पश्चिम नेपालतिर गरेको एउटा भाषणले नेपालका सम्पूर्ण वामपन्थी दलमा तरङ्गको सृजना ग¥यो । नेता अधिकारीको त्यो भाषणले वामपन्थी दल त झस्किए–झस्किए, नभई नेपाली काङ्ग्रेस पनि तरङ्गित भएथ्यो ।
‘आगामी आमनिर्वाचन (२०४८ सालको) मा एकभन्दा बढी कम्युनिस्ट पार्टी भोट माग्न आएभने कसैलाई पनि मत नदिनू’, नेता अधिकारीले भनेका थिए, ‘मैँ आएँ भने मलाई पनि भोट नदिनू ।’
अधिकारीको यो घोषणापछि त्यतिबेला ‘ठेट्ना केटाहरूले’ नेतृत्व गरेको भनिएको नेकपा मालेका महासचिव मदन भण्डारी झल्याँस्स भए । तिनताक मालेका सबैजसो नेताको उमेर बढीमा ४० वर्ष थियो । अधिकांश नेता ३५ देखि ३८ का मात्र थिए । उनीहरू उग्र, अपरिपक्व, गैरजिम्मेवार र रुमानी भाषण गर्न सिपालु थिए । तर, महासचिव मदनमा अरुका तुलनामा बढी परिपक्वता थियो । उनी केही धीर, गम्भीर र दूरदर्शी प्रकारका लाग्दथे । त्यसैले हुनुपर्छ, मनमोहनका भाषणले उनलाई झस्काएको थियो ।
खासमा मालेलाई नेता चाहिएको थियो र मनमोहनलाई ठूलो दलको नेता हुनुथियो । मनमोहनको अन्तर्राष्ट्रिय छवि राम्रो थियो । त्यही छविमा मदन भण्डारी आफ्नो दललाई विश्वसामु देखाउन चाहन्थे । मदनलगायत मालेका नेताभन्दा मनमोहनजी ३० वर्ष जेठा थिए । यिनै आदि कारणले माले र माक्र्सवादीको एकता भयो, अनि नेकपा एमाले बन्यो ।
एकतापछि मदनले मनमोहनलाई सधैँ शिरमा राखिरहे । काम मदनले धेरै गरे । तर, मनमोहनसित विचार सधैँ लिइरहे । यसैबीच २०५० सालमा दासढुङ्गा दुर्घटना भयो र मदन परलोक भए । यसपछि माधव नेपालले नेकपाको मोर्चा सम्हाले । माधवले पनि मदनकै मर्यादा र संस्कारलाई निरन्तरता दिए । २०५१ को मध्यावधि चुनावपछि एमाले सबैभन्दा ठूलो दल भयो । चाहेका भए त्यसबेलामा माधव नेपाल संसदीय दलका नेता हुनसक्थे । तर, मनमोहनलाई बनाए । मनमोहन अल्पमतको सरकारका प्रधानमन्त्री भए । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री निर्वाचित भए ।
अब त्यो संस्कार, मर्यादा, शालीनता र उदात्तता ओलीमा छैन । ओलीले तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसित एकताको हात मिलाउँदा कुनै सिद्धान्त, विचार, आदर्श र मूल्यमान्यतालाई आधार बनाएका थिएनन् । यदाकदा आवश्यकताभन्दा बढी भावुक हुने प्रचण्डले ओलीको सत्तालिप्सा, महत्त्वाकांक्षा र झेली व्यक्तित्वको भेउ पाएनन् । प्रचण्डलाई देशमा ठूलो र सिङ्गो कम्युनिष्ट पार्टी चाहिएको थियो । त्यसैले उनले केही नसोची आवेगमा एमालेसित एकताको हात बढाए । यहि विसङ्गतिका कारण आज सिङ्गो नेकपा फुटको सङ्घारमा छ । ओलीले प्रचण्डलाई समकक्षी र सहयात्री कहिल्यै सम्झिएनन् । बरु निम्तो नदिई ढुक्न आएको ढुकुवाको व्यवहार गरे र गरिरहे, निरीह शरणार्थी सम्झिए । पार्टी एकताका बेला प्रचण्ड र ओलीले प्रधानमन्त्रीको पद आधा–आधा अवधि बाँडेर लिने गोप्य सहमति गरेको कुरा ओलीले सरकार चलाएको २ वर्षपछि मात्र खुल्यो । ओलीबाट प्रचण्डले धोका पाएपनि पार्टी एकताका लागि केही समय चूप लागेर नै बसे । तर, ओलीका तर्फबाट अति हुन थालेपछि प्रचण्डलाई आफ्नै कार्यकर्ताको चित्त बुझाउन गाह्रो परिरहेको छ ।
केही महिनाअघि नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसदको बैठकमा सरकारले कोभिड स्वास्थ्यमा भ्रष्टाचार गरेको भन्दै कडा आपत्ति प्रकट गरे । थापाको भाषण देशविदेशमा चर्चित भयो । त्यसबेला प्रधानमन्त्रीले ‘स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार भएको छैन, मैले भनेपछि भइगयो नि, भएको छैन’ भन्ने लबस्तरो उत्तर दिएका थिए । तर, गगनको भाषणको पुष्टि आज भएको छ । पार्टीमा ओलीका समकक्षी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप लगाउँदै सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । यस प्रस्तावका पक्षमा प्रचण्डमात्र एक्ला छैनन् । यसमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेतको सम्मति र समर्थन देखिएको छ ।
प्रचण्डको प्रस्तावमा वाइडबडी विमान खरिद, सुरक्षण प्रेस खरिद, सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङसँगको अपारदर्शी र शङ्कास्पद कारोबार, चिनी आयातमा गरिएको घोटाला, कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसितको साँठगाँठ र अनियमितता, बजेट निर्माणताका अति गोप्य राख्नुपर्ने राजस्वका दररेट व्यापारीलाई थाहा दिएर विद्युतीय गाडी र चक्लेट आयातको आयातलाई प्रभावित बनाइनुजस्ता काण्ड ओलीका घृणित पुरुषार्थका रूपमा चित्रण गरिएको छ ।
आजका दिनमा ओलीले प्रस्तावको उत्तर लेखिरहेको हुनुपर्छ । त्यसैले उनले १० दिनको समय मागेका छन् र सचिवालयको बैठक १० दिन लम्बिएजस्तो छ । तर, ओलीको आगामी उत्तर काङ्ग्रेसका गगनलाई दिएजस्तो सजिलो र लबस्तरो पक्कै हुनेछैन । यतिबेला आफ्नै पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसित गम्भीर उत्तर चाहेका छन् ।
तर, प्रधानमन्त्री भएकै दिनदेखि ओलीले आफ्नो धरातलीय यथार्थ चटक्क बिर्सिएका छन् । उनको प्रधानमन्त्रीय रथ अहङ्कार, उन्माद र दम्भ नामका तीन घोडाले चलाएका छन् । भाँडाका सबै सिता छाम्नु नपरेझैँ सूर्य थापा नामका घोडाका अभिव्यक्ति पढ्नेले नै ओली कस्ता घोडामा सबार छन् भनेर बुझ्न कसैलाई अप्ठ्यारो पर्दैन ।
ओलीले अब टारेर टार्नसक्ने अवस्था छैन । उनले प्रचण्डका प्रस्तावको ठोस उत्तर दिनैपर्ने हुन्छ । यसबाट उनी भागेर जाने ठाउँ छैन । ओलीको आगामी उत्तरले नै नेकपाको भविष्य तय गर्ने कुरामा शङ्का छैन । उनका उत्तरमा कतिवटा उखानटुक्काले स्थान पाउने हुन् र कुन टुक्का वा कुन उखानले उनको प्रधानमन्त्री पद जोगाउन मद्दत गर्ला, त्यो निकट भविष्यले बताउने नै छ । तर, अब पनि पार्टी एकतामा नाममा नेकपामा किचलो यथावत् नै भइरह्यो भने त्यसले क्यान्सरको रूप लिने कुरामा सन्देह छैन ।