लघुकथाः जँड्याहाको तमसुक

‘समाज डाकेकि थिइन् तीनी मैयाले ।’

समाजभित्रको बासिन्दा मपनि थिएँ । मेरी पत्नी पनि थिइन् ।

समाजबाट ति मैयालगायत तीनजना महिला थिए, भनौं भने चारजना महिला, दुई पुरुष । एक म एक ऊ । मैयाले बोलाएपछि उनको कोठामै पस्यौ । मैंले नै सोधे, ‘मैया के भो किन डाकेकी हामीलाई ?’ उनले डाइरेक्ट भनिन्, ‘रक्सी पिएर आएको छ, यो लोग्ने भनाउँदाले । धेरै दुःख दिएको छ ।’ मैंले फेरि सोधेको थिएँ, ‘के सँधै पिएर आउँछ ?’ किन रक्सी पिएर आउनु परेको उसलाई ?’ म उसँग पनि कुरो गर्न खोजिरहेको थिएँ । ऊ आफ्नो ओच्छायानबाट बाहिरिन खोज्दै थियो । मेरी पत्नी समाजभित्र कसैले रक्सी पिएको देख्नै सक्तिन्नथी । उनले भनिन्, ‘काहाँ भाग्न खोजेको ? एकछिन यहाँ बस्नु ।’

ऊ समाजको मान्छेदेखि अत्तालियो । भन्यो, ‘मैले गल्ती गरें । अबदेखि पिउँदिन । मैयासँग मिलेर बस्छु ।’

मेरी पत्नीले भनिन्, ‘कागज गर, आजदेखि रक्सी पिउँदिन भनेर ।’

उसले एउटा आफ्नो छोरीले एकातिर लेखेको क ख ग घ को पाना च्यात्यो । एकातिरको खाली पानामा तमसुक लेख्यो, ‘आजदेखि म जाँड रक्सी पिउँदिन । म र मैया आजको मितिदेखि मिलेर बस्छौ । रक्सी पिएँ भने समाजको अघि कारवाहीको भागीदार बन्ने छु । उनको बुवा आमासँग लिएको रकम र उनको बिहेको खर्चसमेत जोडजाड गरेर फिर्ता गर्छु ।’ यसरी उसले आफ्नै हस्त लिखित कागजातमा सहि ग¥यो । समाजका महिलाहरुले साक्षीको रुपमा सहि गरे । हामी आ–आफ्नो बाटो लाग्यौं ।

लगत्तै पन्ध्र दिनको दिनमा फेरि रक्सी पिएछ ।

मैयाले फेरि फोन लगाई, ‘गौरी दिदी ।’ अर्थात् गौरी मेरी पत्नीलाई फोन गरिन् र भनिन्, ‘गौरी दिदी फेरि जाँड रक्सी पियो ।’

पत्नी गौरी मलाई भन्न थालिन्, ‘हिँड्नुस् त फेरि मैयाको घर, उसले रक्सी पिउँदिन भनेर कागज गरेको होइन ?’ म हाँसे भनेपनि, ‘तिमी महिलाहरु जँड्याहाको तमसुकमा पनि विश्वास गर्ने ? कस्तो समाजभित्र बसेका छौ हौं ?’

– विराटनगर–६, ममतामार्ग

शुक्रबार, ०५ मंसिर, २०७७, बिहानको १०:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर