विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्म जयन्तीको अवसर पारेर सोमराज अभयको महाकाव्य ‘शेषराज दाइ’ लोकार्पण भएको छ।
विराटनगरमा छन्दवाटिका नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा सो महाकाव्य लोकार्पण भएको हो ।
उक्त कृतिको टिप्पणी गर्दै समालोचक डा दिपक न्यौपानेले वैचारिक र समाजले भोगेको समयको यथार्थको धरातलमा महाकाव्य आएको बताए । उनले भने, ‘भाषा शैली परम्परागत भए पनि कृति कथा र विचारका दृष्टिले राम्रो छ ।’
कृतिका बारेमा बोल्दै प्रा. डा. हरिहर भण्डारीले अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए । उक्त महाकाव्यमा एघार सर्गहरू छन् र यो अभयको चौथो महाकाव्य हो । कार्यक्रममा इटहरी, बोलबारी, सुन्दर हरैचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको उपस्थिति थियो । छन्द वाटिका नेपालले संस्थाको स्थापना भएदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिन कार्तिक २७ गतेलाई आधार मानेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा प्रा.डा. टङ्क न्यौपाने, प्राज्ञ विवश पोखरेल, प्रा.डा. मेदिनी शर्मा, प्रा. कविराज न्यौपाने, प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल, डा. देवी पन्थी, अग्रज साहित्यकारहरू बलराम पोखरेल, डमरु बल्लभ भण्डारी, कुशेश्वर राई, सरला चापागाईंलगायतको उपस्थिति थियो। छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल र प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपानेलगायत उपस्थित अतिथिहरुले संयुक्त रुपमा महाकाव्यको विमोचन गरेका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!