धेरै वर्ष भयो दिदीकोमा नगाको ! यसपाला तिहारमा त जान्छु दिदीको घरमा ! भन्ने मनमा आयो । भिनाजुका पिता नै उहिल्यै ब्रिटिस लाहुरे भई भारतका विभिन्न राज्यमा सरुवा हुँदै दोश्रो विश्वयुद्धको अन्त्यमा बर्मामा गई बसोबास गरेका छन् ।
काग तिहार मै नेपालबाट निस्केको म सोद्धै खोज्दै हली तिहारका दिन दिदीघर पुगें । लामो समयपछि भेटघाट हुँदा हामी दिदी भाइ दुवैका आँखा रसाए । भाञ्जा भाञ्जीहरु पनि खुबै रमाए । तिहार निकै रमाइलो भयो । नेपालमा हराउँदै गएको लोक भाकाको देउसी, भैलो, सेल, अनर्सा साथै सांस्कृतिक परम्परासमेत त्यहाँ यथावत देख्दा मेरो गह पनि ओसिलो भई आयो । पेगोडा शैलीका मन्दिर अनि नेपालकै जस्ता देखिने काठका घरहरुले त झनै ठूलो विभोर पारे । दिदीका ससुराले पनि नेपालका पहाडका कुना कन्दरा र मधेसका फाँट सबैका विषयमा सोधे । मैले जाने जति विस्तार लगाएँ । मेरा बयान सुनेर उनी कतिपय ठाउँमा उनका जीवनमा आइ परेका दुःखका क्षण सम्झदै सुँकसुँक गर्दै भने ‘बाबू नेपाल त छोड्ने मन थिएन तर त्यहाँका मुखिया र साहु महाजनहरुले उठीबास लाए, बाध्य भई आफ्नो मातृभूमि छोडेर यहाँ पस्रिनु प¥यो ।’
‘अनि बा फर्कौं न त अब,’ मैले भनें । ‘फर्कंन मन त थियो तर ब्यवहारले र उमेरले पनि गाह्रो हुने भो बाबू,’ उनले भने ।
दिदीको घरको पन्ध्र दिनको बसाईमा त्यहाँका गाउँले आमाबुवा दाजुभाइ दिदी बहिनीहरुसँग रम्मिदा दिन बितेको पत्तै भएन । त्यहाँको न्यानो वात्साल्यले मलाई पनि मोहनी लगायो । मानौं मैले त्यहाँ पनि एउटा तर शान्त र शालिन नेपाल देखें । तर पनि आफ्नो देश फर्कनु नै पर्ने हुनाले मैले तयारी अघिल्लै दिन गरें । फर्कने दिन बिहानै अब कसरी बिदा हुने भन्ने कुराले पिरोलिएको थिएँ । दिदी, भिनाजु, भाञ्जाभाञ्जी, बुवाआमा घर गाउँले सबैसँग बिदा माग्दै म दिदी घरबाट निस्किएँ । यसबेला मेरो गहमा झरी परिरहेको थियो ।
म करिब सय मिटर जति आइपुग्दा दिदीका ससुराबाले ‘बाबू….!’ भनेर बोलाए । म त्यहीं रोक्किएँ । बूढा मान्छे लौरो टेक्दै आइपुगे । ‘बाबू सबैका अघि भन्न नसकेर यहाँ आइपुगें, नरिसाउनु ल !’
‘के कुरो बा ?’, मैले सोधें ।
‘तिमी अर्को चोटी आउँदा मलाई मेरो देशको एक मुठ्ठी माटो ल्याइदिनू ल ! म मर्ने बेलामा त्यही माटो छातिमा राखेर मर्ने मन छ ।’