विराटनगर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले किसानले उत्पादन गरेको वस्तु अब सिधै उपभोक्ताले पाउने गरी बजारीकरण गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकारले त्यसका लागि संयन्त्र बनाउने प्रकृया सुरु गरेको उहाँले बताउनुभयो ।
मोरङको ग्रामथान गाउँपालिका–७ नेताचौकस्थित तकिया कृषि फर्म प्रा.लि.द्वारा संचालित जिउँदो माछा बिक्री तथा प्रशोधन केन्द्रको बिहीबार उद्घाटन गर्दै मन्त्री आङ्बोले यस्तो बताउनुभएको हो ।
‘किसानले उत्पादन गरेको बस्तु बिचौलियाको हातमा पुग्दा अहिले उपभोक्ताले महँगो मूल्यमा कृषिजन्य उत्पादन खरिद गर्नुपरेको छ,’ मन्त्री आङ्बोले भन्नुभयो, ‘अब कृषकले उत्पादन गरेको बस्तु उत्पादन सिधै उपभोक्ताको हातमा पुग्ने गरी प्रदेश सरकारले बजारीकरणको संयन्त्र बनाउने प्रक्रिया बढाएको छ ।’ उहाँले कृषि पेशालाई विशेष प्राथामिकता राखेर प्रदेश सरकार अगाडि बढेको जानकारी दिनुभयो ।
मन्त्री आङ्बोले विदेशबाट हुने आयातलाई कमगरी कृषिजन्य उपजलाई दीर्घकालिन हिसाबले विदेशसम्म निर्यात गर्ने योजनामा प्रदेश सरकारले आफ्ना कामहरू अगाडि बढाएको बताउनुभयो । आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्न कृषिजन्य उत्पादनहरूमा आत्मनिर्भर बनाउनु पर्ने उहाँको भनाइ थियो ।
‘सरकारले संचालन गरेको अनुदान कार्यक्रम सफल हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘कृषकहरूलाई सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराई कृषिलाई व्यवसायिक बनाउन प्रदेश सरकार लागिपर्नेछ ।’ उहाँले कृषिजन्य उत्पादनलाई सहज हिसाबले बजारीकरण गराई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । ‘प्रदेश सरकारले अहिले यही दुई कुरालाई मुख्य प्रथामिकतामा राखेर बजेट विनियोजन गर्ने छ,’ मन्त्री आङ्बोले भन्नुभयो, ‘आधुनिक कृषि औजार र उपकरणहरूको प्रयोग गरी उत्पादन बढाउनुपर्छ ।’
उत्पादनमा आधारित कृषिमा अनुदान कार्यक्रम आगामी दिनमा प्रदेश सरकारले ल्याउने उहाँले बताउनुभयो । आगामी दिनमा कृषिलाई अत्मनिर्भर बनाई विदेशमा उत्पादन भएको कृषिसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन प्रदेश सरकारले कृषिलाई प्राथामिकतामा राखेको उहाँले बताउनुभयो । ‘कृषि पेशालाई अत्यन्तै दुःखी र जटिल रूपमा हेरिन्छ । यो कुरा हामीले पनि अनुभूति गरेका छौं,’ मन्त्री आङ्बोले भन्नुभयो, ‘कृषि क्षेत्रलाई परम्परागत पेशाबाट परिवर्तन गरी व्यवसायिक बनाउनुपर्ने छ ।’
कार्यक्रममा प्रदेश १ का उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले आधुनिक उपकरणहरूको प्रयोग गरी कृषि पेशालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । कृषिजन्य उत्पादनलाई व्यवसायिक बनाउन सकेमात्र आर्थिक वृद्धिदर बढेर जाने उहाँको भनाइ छ । कार्यक्रममा सुन्दरहरंैचा वाणिज्य संघका अध्यक्ष तथा तकिया कृषि फर्मका संचालक नवराज चापागाईले राज्यले कृषकहरूलाई उत्पादनजन्य वस्तुमा अनुदान दिनुपर्ने बताउनुभयो । ‘अहिले राज्यले दिने गरेको अनुदान वास्तविक कृषहरूले पाइरहेका छैनन्,’ उहाँले भन्नुभयो, ‘राज्यले दिने गरेको अनुदान कार्यक्रम अब उत्पादनमा केन्द्रीत हुनुपर्छ । जसले गर्दा कृषि पेशा व्यवसायिक बनेर जान्छ ।’ कार्यक्रममा तकिया कृषि फर्मका संचालक राजेन्द्रप्रसाद खनाल, नेकपा ग्रामथान गाउँपालिका अध्यक्ष कुमार आचार्य लगायतले बोल्नुभएको थियो ।
तकिया कृषि फर्मले सञ्चालनमा ल्याएको जिउँदो माछा बिक्री तथा प्रशोधन केन्द्रमा सबै प्रकारका जिउँदा माछा पाइने संचालक गणेश उप्रेती सुशीलले बताउनुभयो । दुई हजार किलो क्षमताको जिउँदो माछा बिक्री तथा प्रशोधन केन्द्रभित्र चार वटा पोखरी छन् । जहाँ बिक्रीको लागि जिउँदो माछा स्टकमा राखिएको हुन्छ । तकिया कृषि फर्मले माछाको भुरा पनि बिक्री गर्ने गरेको उप्रेतीले जानकारी दिनुभयो । ‘माछाको भुराका लागि भारत जानुपर्ने बाध्यता अब बिस्तारै हँुदैछ,’ उहाँले भन्नुभयो, ‘माछाको पारखीहरूका लागि जिउँदो माछा पनि यहीं पाइन्छ । माछा पाल्न कृषकहरूको लागि भुरा पनि स्वदेशमै उत्पादन हुने गर्दछ ।’ तकिया कृषि फर्मले जिउँदो माछा प्रतिकिलो ३०० सयदेखि ३५० रुपैयाँ र भुरा माछा ६०० देखि ६५० रुपैयाँले बिक्री गर्दै आएको छ ।