विराटनगर । ट्राफिक प्रहरीले दुई भारतीय ट्रकलाई शनिबारदेखि झण्डै १४ घण्टा सडकमा रोक्यो । ‘ह्विललक’ गरेर रातिदेखि रोडशेष चोकमा राखिएका ट्रक ट्राफिक प्रहरीले आइतबार मध्यान्ह मात्र छोड्यो । सडकको भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गरेको भन्दै ट्राफिक प्रहरीले ट्रक रोकेको थियो ।
रोकिएका दुबै ट्रकलाई १५ सय रुपैयाँको दरले जरिवाना तिराएर छाडियो । कोशी राजमार्गको भारवहन क्षमता ३० मेट्रिक टनसम्म मात्र भएको भन्दै ट्राफिकले सोभन्दा बढी लोड बोक्ने ट्रकलाई कारवाही गर्दै आएको छ । त्यस्ता ट्रकलाई ट्राफिकले हरेक पटक १५ सयका दरले जरिवाना तिराएर छाड्ने गरेको छ ।
आइतबार रातभरी सडकमा रोकेर दिउँसो जरिवाना तिराइएको ट्रकहरु सुनसरी मोरङ औद्योगिक करिडोरको नयाँ उद्योगमा कच्चा पदार्थ ढुवानी गर्दैथिए । महालक्ष्मी स्टिल इण्डष्ट्रिजमा सामान पु¥याउन भन्सारबाट छुटेको ट्रकले बढी भारवहन गरेको भए तत्काल जरिवाना गर्नुपर्नेमा १४ घण्टासम्म सडकमा किन राखियो भन्ने जवाफ ट्राफिकले दिएको छैन ।
शनिबार दिउँसोदेखि आइतबार अपरान्हसम्म ट्राफिक प्रहरीले दुई वटा ट्रकलाई मात्र अधिक भार बोकेको भन्दै कारवाही ग¥यो । जबकी सो अबधिमा झण्डै ९० मेट्रिक टन टायल्स् र मार्वल बोकेका ट्रकहरु निर्वाध रुपमा गन्तव्यमा पुगेका थिए । दिनभर सडकको भार क्षमताभन्दा बढी लोड भएका दर्जन बढी ट्रक राजमार्गमा गुड्दा ट्राफिक प्रहरीले ती ट्रक रोक्ने प्रयास गरेन ।
नयाँ उद्योगले अरु कम्पनीले झैं ट्राफिक प्रहरीसँग ‘समन्वय’ नगरेका कारण ट्रक रातभरी रोकिएको हो । तोकिएभन्दा बढी लोड बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने काम ट्राफिक प्रहरीको भएपनि त्यसलाई कारवाही गर्ने जिम्मेवारी भने यातायात व्यवस्था कार्यालयको हो । ट्राफिकले अधिक भार बोकेको भेट्टाएमा यातायात कार्यालयमा कारवाहीका लागि पठाउनुपर्छ । तर, ट्राफिक प्रहरीले ती गाडीहरु यातायात कार्यालयमा कारवाहीको लागि नपठाई आफैंले जरिवाना लिएर छोड्ने गरेको छ ।
शनिबार रोकिएका दुबै ट्रकमा ६० मेट्रिक टनभन्दा बढीका दरले फलाम लोड भएको थियो । उक्त गाडी यातायात कार्यालयमा बुझाइएको भए आयातकर्ता कम्पनीले प्रतिट्रक ५० हजार हाराहारी जरिवाना तिर्नुपथ्र्यो । ट्राफिकले १५ सय जरिवाना तिराउँदा २ वटा ट्रकबाठ मात्र राज्यलाई झण्डै १ लाख रुपैयाँ नोक्सानी भएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा कमला आइरन, हुलास स्टिल, आरती स्ट्रिप्स्, प्रिमियर, महालक्ष्मीलगाायत एक दर्जन बढी फलाम उद्योग सञ्चालित छन् । ती उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने ट्रकहरुले पनि अधिक भार बोक्ने गरेका छन् । ट्राफिकले भने बढी भार बोकेको भन्दै केवल १५ सयका दरले जरिवाना तिराउँदै निरन्तर छोड्ने गरेको छ ।
साउन महिनायता ट्राफिक प्रहरीले एउटा गाडीमात्र यातायात कार्यालयमा बुझाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राकेशकुमार पोदारले भन्नुभयो ‘हामीले बढी लोड बोकेको एउटा ट्रकलाई यातायातमा बुझायौं, उसले १७ हजार रुपैयाँ जरिवाना तिर्नुपर्यो ।’ अन्यलाई पनि दुई पटक सम्मको लागि १५ सय रुपैयाँ जरिवाना लिएर छाड्ने गरेको उहाँको भनाइ छ ।
साउनयता मात्र ट्राफिक प्रहरीले सयौं भारतीय ट्रकलाई भारवहन क्षमताभन्दा बढी लोड बोकेको भन्दै १५ सयको दरले जरिवाना तिराएको छ । तर, एउटा गाडी मात्र यातायात कार्यालयमा बुझाएको छ । जबकी ती गाडीहरुलाई यातायात कार्यालयले कारवाही गरेको भएपनि क्षमताभन्दा बढी प्रतिमेट्रिक टन २ हजारदेखि ३ हजार रुपैयाँयासम्म जरिवाना गर्नेथियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोद्दारले भने भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गर्ने गाडीलाई कारवाही गर्न प्रदेश यातायात व्यवस्था कार्यालय र रानी–धरान ६ लेन सडक आयोजनाको पत्र आएकोले जरिवाना गराउने काम गरेको बताउनुभयो । ‘हामीले सरकारका निकायहरुको औपचारिक निर्देशन र विभागीय निर्देशन अनुसार काम गरेका छौं,’ प्रहरी निरीक्षक पोद्दारले भन्नुभयो ‘कुनै गलत नियत राखेर मिलेमतो गर्ने र महिनावारी लेनदेन गरेर काम गरेको आरोपमा कुनै सत्यता छैन ।’
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने भन्सार बिन्दुबाट इटहरी र आसपासका उद्योगसम्म औद्योगिक कच्चा पदार्थ आयात गर्दा कुनै अवरोध नगर्न २०७४ सालमै गृह मन्त्रालयले पत्राचार गरेकोले त्यसविपरित ट्राफिकको अबरोध गलत भएको बताउनुभयो । भन्सार बिन्दुमै सबै प्रकारको जाँच हुने भएकोले त्यहाँबाट गन्तव्यसम्म सहजरुपमा सामान ढुवानी हुने वातावरणका लागि संगठनले निरन्तर आवाज उठाइरहेको उहाँको भनाइ छ ।
फलाम तथा अन्य बढी भार ढुवानी गर्नुपर्ने उद्योगका सञ्चालकहरुले भने बाटोमा अनेक प्रकारका समस्या र अवरोध रहेको गुनासो गरेका छन् । उनीहरुले पछिल्ला दिनमा ट्राफिक प्रहरीको व्यवहार उद्योगमैत्री नभएको आरोप लगाएका छन् ।