किट नहुँदा महानगरले दिएको पिसिआर मेसिन बन्दः परीक्षणको रिपोर्ट आउन ५ दिन पर्खनुपर्ने बाध्यता

विराटनगर । प्रदेश १ मा प्रयोगशालाले कोभिड १९ संक्रमण पत्ता लगाउन गरिने स्वाब परीक्षणको नतिजा ढिलोगरी दिन थालेको गुनासो बढेकोे छ । समयमा संक्रमणबारे यकिन जानकारी नहुँदा समुदायमा संक्रमण थप फैलिने जोखिमसँगै विरामीको उपचार प्रक्रियासमेत प्रभावित हुनेगरेको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि स्वाब दिएका विराटनगरका एक जना पत्रकारको रिपोर्ट पाँच दिनपछि शुक्रबारमात्र प्राप्त भयो । विराटनगरका डा.नारायण कुमारले आफ्नो रिपोर्टका लागि पुरै तीन दिन कुर्नु परेको प्रतिक्रिया दिनुभएको छ । पछिल्ला केही दिनदेखि प्रयोगशालाहरुले रिपोर्ट दिन ढिलो गरिरहेका छन् । तर, त्यसको कारणबारे सर्वसाधारणले जान्न पाएका छैनन् ।

पछिल्ला दिनमा प्रदेश १ मा दैनिक ४०० भन्दा बढी संख्यामा नयाँ संक्रमित थपिएका छन् । प्रदेश प्रयोगशाला, कोशी अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्युरो अस्पताल, धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालले निययमित रुपमा पीसीआर परीक्षण गर्ने गरेका छन् । खासरी सरकारी प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट आउन धेरै दिन लाग्ने गरेको छ ।

अस्पतालमा चाप बढेको र संक्रमितको दर उच्च भएकोले रिपोर्ट आउन ढिलाई हुने गरेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताउनुभयो । ‘केही दिनदेखि हाम्रो अस्पतालमा धेरै नै चाप परेको छ । गाउँपालिकाहरुबाट पनि परीक्षण गरिदिनु पर्यो भनेर आग्रह भइरहेको छ,’ मेसु दासले भन्नुभयो ‘सबै व्यक्तिको छुट्टाछुट्टै परीक्षण गर्नुपर्दा ढिलाई भएको हो, अरु कारणले होइन ।’

पहिले संक्रमणको दर कम भएको बेला ‘पुल’ अर्थात समूहमा परीक्षण गर्ने गरिएको थियो । ‘७÷८ जनाको स्याम्पल एकै ठाउँमा राखेर परीक्षण गर्दा पोजेटिभ आएको खण्डमा मात्र पुनः छुट्टाछुट्टै परीक्षण गरिन्थ्यो,’ डा. दासले भन्नुभयो ‘अहिले स्याम्पल टेष्टको ५१ प्रतिशत बढी पोजेटिभ केस भेटिने गरेकोले पुल टेष्ट गर्न छोडेका छौं र सबैको छुट्टाछुट्टै परीक्षण गर्दा ढिलो हुनु स्वभाविक हुन्छ ।’

एकातिर परीक्षण गर्नुपर्ने संख्या थपिनु अर्कोतर्फ समूह परीक्षण गर्न नसक्ने अवस्थाले रिपोर्ट आउन ढिलाई भएको दावी अस्पतालको छ । केही दिनअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले किट अभाव भएको भन्दै स्याम्पल नलिएका कारण पनि विराटनगरका प्रयोगशालाहरुमा चाप परेको बताइएको छ । तर, अहिले वीपीले परीक्षणलाई निरन्तरता दिइसकेको छ ।

महानगरले दिएको मेसिन थन्कियो
परीक्षणमा ढिलाई भएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अगुवाईमा विराटनगरका नागरिक समाजको तर्फबाट दुई थान पीसीआर मेसिन खरिद गरेर कोसी अस्पताललाई हस्तान्तरण गरिएको थियो । महानगरले हस्तान्तरण गरेको म्यानुअल मेसिन सञ्चालनमा रहेको भएपनि अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन बन्द छ ।

कोशीको आफ्नै मेसिन र महानगरले दिएको अर्को गरी दुई थान मेसिन अहिले पनि सञ्चालनमा छ । तर, रिपोर्ट समयमा आइरहेको छैन । महानगरपालिकाले दिएको अटोमेटिक मेसिन सञ्चालन खर्च धान्न नसकेकै कारण बन्द गर्नुपरेको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिनुभएको छ ।

‘अटोमेटिक मेसिन हामीले चलाउन नसक्ने भयौं । सञ्चालन खर्च ज्यादै हुने रहेछ,’ प्रमुख दासले भन्नुभयो ‘तीन पटकसम्म त हामीले किट किनेर प्रयोग गर्यौं अब सक्दैनौं ।’ अस्पतालको कोषबाट २० लाख भन्दा बढी किट खरिदमा खर्च भइसकेको छ जानकारी दिँदै उहाँले सरकारले किट दिएमा मात्र मेसिन चल्ने बताउनुभएको छ ।

महानगरले दिएको अटोमेटिक एक्सट्रयाक्सन मेसिनमा प्रयोग हुने किट प्रतिगोटा ७०० रुपैयाँ हाराहारी पर्ने र त्यो सरकारले नदिने भएकोले अस्पतालले सञ्चालन गर्न नसकेको दासले बताउनुभयो । तर, स्वास्थ्य विभागले केही दिनभित्रै सोही प्रकृतिको अटोमेटिक अर्को मेसिन पठाउन लागेको र त्यसमा लाग्ने किट भने अस्पताललाई प्राप्त भइसकेको अस्पतालले जनाएको छ । आउँदै गरेको मेसिनको किट भने अहिले भएको मेसिनमा भने प्रयोग गर्न नमिल्ने बताइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले केही दिनअघि किट अभाव भएपनि अहिले कतै समस्या नभएको दावी गर्नुभयो । उहाँले संक्रमितको संख्या धेरै भएकोले पुल परीक्षण गर्न नसक्दा रिपोर्ट आउन ढिलाई भएको बताउनुभएको छ । संक्रमण दर उच्च भएसम्म विद्यमान साधनस्रोत परिचालन गरेर तत्कालै रिपोर्ट दिनसक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीको अग्रसरतामा उद्योगी व्यवसायीले ६५ लाख रुपैयाँ रकम जम्मा गरेर २ वटा पिसिआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरेका थिए । तीमध्ये अटोमेटिक मेसिन भने महानगरबाट नै किट प्राप्त भएमात्र सञ्चालन हुने अवस्था रहेको अस्पतालले जनाएको छ ।

आइतबार, ०२ कार्तिक, २०७७, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर