कोरोनाले नाटकघर सुनसान, कलाकार बेरोजगार

विराटनगर । दशैं तिहारको समयमा हरेक वर्ष धुमधामसँग नाटक महोत्सव आयोजना हुँदै आएको विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलको शुशिला कोइराला नाटकघर कोरोना संक्रमणको जोखिमले आजकाल सुनसान छ ।

कोरोना जोखिमकै कारण यसपालीको चाडवाडमा नाटक मञ्चन गर्ने कुनै योजना बन्न सकेको छैन । दशैंमा नयाँ ठूलो भिएटरमा स्तरीय नाटक महोत्सव आयोजना गर्ने गुरुकुलको धोको अधुरै रहेको छ ।

विशेषगरि चाडवाडको समयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका नाटक महोत्सव आयोजना गर्दै आएको विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलले दर्शकहरुलाई नाटकप्रति निक्कै आकर्षित गरिसकेको थियो । चाडबाडमा मात्र नभएर अन्य समयमा पनि निरन्तर विभिन्न नाटकहरु मञ्चन भइरहने भएकोले दर्शकहरु पनि मनग्गे आउन थालेका थिए । तर, कोरोना संक्रमण सुरु भएपछि सरकारको निर्देशन अनुसार नाटक मञ्चन मात्र नभएर सबै गतिविधिहरु ठप्प भएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।

थिएटरमा हुने सामाजिक उत्सवका कार्यक्रम र कलाकार प्रशिक्षणसमेत हुन पाएका छैनन् । यसैले फर्कदै गरेको नाटकप्रतिको मोहलाई कोरोना संक्रमणले पूर्ण प्रभावित बनाइदिएको छ ।

हालसम्म विराटनगर गुरुकुलमा भारत, क्यानाडा, रसिया, बंगलादेश, मालदिभ्स, श्रीलंकालगायत विभिन्न देशका नाटकहरु मञ्चन भइसकेका छन् । गुरुकुलमा धेरै चर्चित देशी तथा बिदेशी कलाकारहरुले एकल र सामूहिक अभिनय प्रदर्शन गरिसकेका छन् । यसबाहेक तीन वटा अन्तराष्ट्रिय र ६ वटा राष्ट्रिय तथा एक दर्जन जति बिद्यालयस्तरीय नाटक महोत्वहरु आयोजना भइसकेका छन् ।

अध्यक्ष क्षेत्रीका अनुसार आरोहण गुरुकुलले हालसम्म ५० जनाभन्दा बढी कलाकार उत्पादन गरिसकेको छ । दुई दर्जन कलाकार त प्रोफेसनल नै भइसकेका छन् । तर, कोभिडमा नाटक प्रदर्शनमा रोक लागेपछि सबैजना बेरोजगार बनेका छन् । कलाकार उद्धव सापकोटाले भन्नुभयो, ‘आफू रोएर अरुलाई हसाउनुपर्ने हामीले आफ्नो समस्या अरुलाई कसरी सुनाउने साध्यै छैन ।’

२०६४ सालमा सञ्चालनमा आएको विराटनगर होटखोलामा गुरुकुलको आफ्नै आधुनिक शुशिला कोइराला नाटकघर छ । त्यही परिसरभित्रै भारतीय दुतावासको ३ करोड ६२ लाख रुपैयाँ सहयोगमा अर्को ठूलो आधुनिक थिएटरको पनि निर्माण सकिएको छ । तर, निर्माण सकिएपनि कोभिडकै कारण उद्घाटन हुन पाएको छैन ।
गुरुकुल अध्यक्ष क्षेत्री सधैभरि कोभिडको त्रास मानेर सृजना पस्कने नाटक घरहरु बन्द राखिराख्नु भन्दा भौतिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्न दिनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार नाटक प्रदर्शन हुन नपाउँदा कालाकारको मात्र नभै गुरुकुलको समेत आम्दानी ठप्प भएको छ । जसले गर्दा चार महिनादेखि बिजुलीको विलसमेत तिर्न सकेको छैन ।

अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘सार्वजनिक यातायातको यात्रामा भन्दा नाटकघरमा सुरक्षा सतकर्ता राम्रो हुन्छ, यसैले हामीलाई प्रशिक्षण र सिमित शोहरु गर्न दिनु उचित हुन्छ ।’

मङ्गलबार, २० असोज, २०७७, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर