विराटनगर । असोज महिनामा परेको एक साता लामो मनसुनी झरीले जनजीवन प्रभावित पारेको भएपनि धानखेतीका लागि भने उपयोगी देखिएको छ ।
धान पसाउने समयमा परेको झरीले खेतीमा नोक्सानी हुने हो की भन्ने चिन्तामा रहेका किसानहरु अहिलेको झरीबाट धेरै चिन्ता गर्न नपर्ने धानखेती विज्ञ डा.राजेन्द्र उप्रेतीले बताउनुभएको छ ।
किसानहरुले लगाएको अगुवा धान पसाइसकेको र अरु धान पसाउने क्रममा रहेकोले अहिलेको वर्षाले धानखेतीलाई नोक्सानी नगरेको डा. उप्रेतीले बताउनुभएको छ । ‘अगुवा धान पसाइसकेको छ र दूध पसेको धान लडेपनि धेरै नोक्सानी हुँदैन किसानहरुले बाँधेर पनि उठाउँछन्,’ डा. उप्रेतीले भन्नुभयो ‘पछुवा जातका धानहरु भर्खर पसाउने बेला भएकोले पानी चाहिने बेलामै वर्षा भएकोले राम्रो गरेको छ ।’ फूलखेल्दै गरेको धानमा भने वर्षाले क्षति गर्ने उहाँको भनाई छ ।
तरकारी खेती गर्ने किसानहरुले १२० दिनमा तयार हुने अगुवा धान लगाएको र समग्रमा १० देखि १५ प्रतिशत खेतमा अगुवा धानखेती हुने भएकोले यो वर्षाबाट धेरै डराउनुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । असोज सुरुदेखि नै पूर्वी नेपालमा निरन्तर पानी परिरहेको छ । पानीसँगै हावाहुरीपनि चलेका कारण खेतमा धान लडेका छन् । कति धान लडेको छ भन्ने विवरण प्राप्त नभएपनि ठूलो क्षतिको सूचना अहिलेसम्म नआएको डा. उप्रेतीले बताउनुभयो । ‘पूर्वी हावा चलेकोले केही मात्रामा धान लडेको हुनसक्छ र लढेको धानबाट उत्पादन कम हुन्छ,’ उहाँले भन्नुभयो ।
यसपटक प्रदेश १ मा धानखेती हुने करिव ९८ प्रतिशत खेतमा हिउँदे धान रोपाई भएको छ । धानको बीऊ राख्ने बेलादेखि नै सन्तुलित वर्षा भएका कारण धानखेतीका लागि अनुकुल अवस्था बनेको किसानहरुले बताएका छन् । तर, किसानहरुले धान खेतीका लागि प्रयाप्त मात्रामा युरिया मल पाउन नसक्दा फसलको उत्पादन घट्ने चिन्ता भने बढेको छ ।
तरकारी खेतीलाई नोक्सानी
असोजमा परेको अविरल झरी तरकारी खेतीका लागि भने प्रतिकुल हुने भएको छ । तरकारी खेती गर्ने जमिनमा पानी जमेको र तयार पारेको बेर्नाहरुमा नोक्सानी पुगेकोले हिउँदे तरकारी उत्पादन एक महिना पछि धकेलिनसक्ने डा.उप्रेतीले जानकारी दिनुभयो । ‘हिउँदे तरकारी काउली, गोलभेडा आदिको उत्पादन एक महिना पछि सर्ने देखिन्छ,’ उहाँले भन्नुभयो ‘यो वर्षाले उपभोक्ताले एक महिना बढी अर्थात मंसिरसम्म महंगो तरकारी उपभोग गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।’