रङ्गीचङ्गी मुर्ती बनाउनेको फुस्रो जीवन

विराटनगर । विराटनगर महानगरपालिका २ दुर्गाचौकका ७८ वर्षीय दिनेशचन्द महतो ४० वर्षदेखि निरन्तर माटोको मुर्ती बनाउँदै आउनुभएको छ । चाडपर्वमा आवश्यक पर्ने विश्वकर्मा, दुर्गा, काली, सरस्वतीहरुको हजारौं मुर्ती बनाएर उहाँले टल्काउनुभएको छ ।

हजुरबा र बुबाबाट मुर्ती बनाउन सिक्नुभएका महतो मूर्ति बनाउन काठमाडौं, धरान, राजविराज मात्र नभएर धेरै पहाडी जिल्लामा पनि पुग्नुभएको छ । तर, चार दशकदेखि रङ्गीचङ्गी मुर्ती बनाउँदै आउनुभएका उहाँँको जीवन भने फुस्रो छ ।

दिनेशचन्दले विराटनगर दुर्गाचौकमा भाडाको घरमा जय माँकाली मुर्ती कलाकेन्द्र सञ्चालन गर्नुभएको छ । तीन छोराहरुसँग चाडवाडमा आवश्यक पर्ने मुर्ती बनाएर बिक्री गर्नु महतो परिवारको मुख्य पेसा हो । अरुबेला छोराहरु जनमदजुरी गर्ने र सिटी रिक्सा कुदाउने काम गरेपनि सिजनमा मुर्ती बनाउन सघाउँछन् ।

आवाजविहिन कलाकारहरु
‘हामीले चाडपर्वमा समाजलाई भगवानको सस्ता मुर्ती मात्र उपलब्ध गराएका छैनौं, धर्म सँस्कृतिको पनि जगेर्ना गर्न पनि सघाइरहेका छौं’ महताको भनाइ छ, ‘तर, अझैसम्म हाम्रो बारेमा कसैले कहिल्यै केही सोचनन् ।’ अहिलेसम्म हजारौं भगवानका मुर्ती बनाएको महतो परिवारको जीवनलाई अझैसम्म भगवानको कृपा परेको छैन ।

‘हामी पनि कलाकार हौं, यसैले राज्यले हाम्रो बारेमा पनि त सोचिदिनु परो नि !’ मूर्तिकार दिनेशचन्दको भनाइ छ । हालम्म माटोको मुर्ती बनाउने मुर्तीकारहरुको न कुनै संगठन छ, न कुनै संघसंस्थाहरु नै छन् । यसैले उनीहरु अझै आवाजविहिन छन् । सबै मुर्तीकारहरु चाडपर्वका बेला आफ्नै लगानीमा मुर्ती बनाउँछन र बिक्री गरेर थोरै आम्दानी गर्छन् । तर, पहिले नै लगानी गरेर मुर्ती बनाउनुपर्ने भएकोले बिक्री भएन भने घाटा सहन पनि बाध्य हुन्छन् ।

चाडपर्वपछि सबै बेरोजगार
मुर्तीकार दिनेशचन्दका अनुसार देशभरमा मुर्तीकारहरुको संख्या सयौं छ । तर, सबैजना चाडपर्वपछि बेराजगार हुन्छन् । यसैले सरकारले मुर्तीकारहरुलाई धर्म संस्कृतिको संरक्षण गर्ने कलाकार ठानेर प्रोत्साहन गर्नुपर्ने कलाकार महतोको भनाइ छ ।

‘मुर्ती पार्क’ बनाएमा कलाकारहरुलाई मुर्ती बनाउन, बिक्रि गर्न र नविकेका मुर्तीहरु सुरक्षित भण्डारण गर्न पनि सजिलो हुनेथियो । अनि सरकारले मुर्तीकारहरुलाई प्रोत्साहन र सम्मान दिए समाजमा मान प्रतिष्ठा पनि बढ्ने थियो । अर्को सबै मुर्तीकारहरु गरिब छन् । यसैले उनीहरुलाई चाडपर्वमा मुर्ती बनाउन पूँजीको धेरै आवश्कता पर्दछ । यसैले सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराइदिए साहुसँग महंगो व्याजमा ऋण लिनुपर्ने थिएन भन्ने उनीहरुको भनाइ छ ।

जोखिम धेरै छ, मुर्ती बनाउन
सजिलो हुदैन, माटाको मुर्ती बनाउन । लिसाइलो माटो, बाँस, काठ सबै किन्नुपर्छ । अनि आफ्नो मेहनत र कला प्रयोग गरेर कैयांै दिन लगाएर मुर्तीको आकार दिनुपर्छ र सजावट गर्नुपर्छ । भनेको बेला मूर्ति सुकेन भने ग्याँसको आगो प्रयोग गर्नुपर्छ, जुन धेरै खर्चिलो हुन्छ ।

मुर्ती श्रृंगार गर्ने मुकुट, रंङ्गीचङ्गी कपडा आदि सामग्री सबै भारतबाट चर्को भन्सार शुल्क तिरेर मगाउनुपर्छ । यसैले धर्म सँस्कृतिसँग जोडिने भएकोले मूर्तिका लागि आवश्यक सजावट सामग्री आयातमा भन्सार छुट दिनुपर्ने मुर्तीकारहरुको माग छ । अर्कोतिर मुर्ती सजावट सामग्री उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न पनि सरकारले सहयोग गरे नेपाली रुपैयाँ बिदेशिनबाट जोगिनसक्छ ।

अझै भारतीय मुर्तीकारहरु हाबी
दशैं, तिहार र छठका बेला देशभर धेरै र ठूला दुर्गा तथा काली पुजाहरु हुन्छन् । ती पुजामा मुर्ती बनाउन अझै भारतबाट मुर्तीकारहरु ल्याउने गरिन्छ । नेपालमै दक्ष मुर्तीकारहरु भएकोले उनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने मुर्तीकार दिनेशचन्दको भनाइ छ । अर्कोतिर धेरै मुर्तीकारहरु पेशाबाट पलायन भइरहेका छन् । यसैले नयाँ र दक्ष मुर्तीकारहरु उत्पादन गर्न सरकारले मुर्तीकलालाई उद्योगका रुपमा संरक्षण गरेर आवश्यक तालिम केन्द्रको व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड छ ।

‘सबै तहका सरकारले हाम्रो महत्वलाई बुझेर समस्या सुनिदिए हाम्रो जीवन पनि हामीले बनाएका मुर्तीहरुको जस्तै रङ्गीचङ्गी हुनेथियो’ दिनेशचन्दको अपेक्षा छ ।

सोमबार, ०५ असोज, २०७७, बिहानको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर