निजी क्षेत्रले चिनी ल्याएपछि बजारमा राहत

विराटनगर । निजी क्षेत्रले आयात गर्न थालेपछि चिनीको अभाव झेल्दै आएको बजारमा केही मात्रामा भएपनि राहत भएको छ ।

चिनी उत्पादनमा आत्मनिर्भर भएको भनिएपनि चिनी उत्पादक उद्योगहरुको एकाधिकार र सरकारलाई गलत तथ्यांक उपलव्ध गराएका कारण असारदेखि नै बजारमा चिनी अभाव भएको थियो ।

भारतसँगको सीमा नाकाहरु बन्द हुँदा सीमावर्ती क्षेत्रका ठूलो जनसंख्या नेपाली बजारमै आश्रित भएका थिए । जसले भारतीय बजारबाट अनौपचारिक रुपमा आयात हुने चिनी आयात बन्द भई बजारमा उपभोक्ताको चाप परेको थियो ।

साउन दोस्रो सातासम्म चिनीको चरम अभाव भई अधिक मूल्यवृद्धि हुनपुगेको थियो । साउन महिनापछि निजी क्षेत्रले ४० प्रतिशत भन्सार महशुल तिरेरै चिनी आयात गरेपछि बजारलाई केही राहत भएको छ ।

विराटनगर भन्सार नाका भएर साउन र भदौ महिनामा ६ लाख किलोभन्दा बढी चिनी आयात भएको छ । पछिल्लो समय सबै भन्सार नाकाबाट निजी क्षेत्रले चिनीको आयात गरेको व्यवसायीहरुले बताएका छन् ।

विराटनगर भन्सार भएर साउन महिनामा ३ लाख ६६ हजार किलोग्राम चिनी आयात भएको छ । भदौ महिनामा ३ लाख किलो चिनी विराटनगर नाकाबाट नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ । साउन र भदौ महिनामा विराटनगर नाकाबाट ३३ करोड १८ लाख ७ हजार ४५० रुपैयाँ मूल्यको चिनी आयात भएको हो । त्यसबाट भन्सार कार्यालयले १ करोड ९३ लाख २० हजार ७४३ रुपैयाँ राजश्व प्राप्त गरेको जनाएको छ ।

तीन वर्ष अघि निजी क्षेत्रले पाकिस्तानबाट ठूलो परिमाणमा चिनी आयात गरेका थिए । तर, त्यसपछि चर्को भन्सार महशुलका कारण निजी क्षेत्रले खुला बजारमा आपुर्ति गर्नेगरी चिनी आयात गरेका थिएनन् । यस पटक बजारमा अभाव भएको र बिस्कुट, पेय पदार्थ आदि उत्पादक उद्योगमा समेत असर पुगेपछि निजी क्षेत्रले महंगो भन्सार महशुल तिरेरै भएपनि बजारको माग सम्वोधन गर्न चिनी आयात गरेका हुन् ।

अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो रहेको भएपनि वर्तमान भन्सार महशुल कायम रहँदासम्म नेपाली उपभोक्ताले भने सस्तोमा चिनी उपभोग गर्न नसक्ने अवस्था रहेको उद्योगी महेश जाजुले बताउनुभयो । उहाँले कमसेकम चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुलाई चिनी आयातमा भन्सार महशुल छुट दिनुपर्ने बताउनुभएको छ । उद्योगले अन्तराष्ट्रिय बजारबाट आयात गर्न पाएको खण्डमा नेपाली उत्पादनले उपभोक्ताको माग धान्न सक्ने अवस्था रहने उहाँले बताउनुभयो ।

बजारमा चिनी अभाब हुँदा प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भएको चिनी अहिले करिब ८० रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाएका छन् । उद्योगी व्यवसायीका अनुसार अहिले विराटनगर भन्सारबाट तुलनात्मक कम चिनी आयात भइरहेको छ । बिरगञ्ज र भैरहवा भन्सारबाट ठूलो परिमाणमा चिनी आयात भएकोले बजारमा माग र आपुर्तिको सन्तुलन कायम भएको हो ।

नेपालमा प्रतिवर्ष २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक हुने र नेपाली उद्योगहरुले वार्षिक २ लाख ८० हजार मेट्रिकटनसम्म उत्पादन गरेको तथ्यांक उद्योगीहरुले प्रस्तुत गरेपछि चिनीमा आत्मनिर्भर भएको भ्रम सरकारलाई भएको उद्योगीहरुले बताएका छन् । तर, नेपालमा वार्षिक ४ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने गुडलाईफ बिस्कुटका सञ्चालक तथा बिष्कुट उत्पादक संघका केन्द्रीय उपाध्यक्ष महेश जाजुले बताउनुभयो ।

बिहिबार, ०१ असोज, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर