विराटनगर । सरकारले ३ वर्षदेखि बन्द गरेको जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेसँगै मालपोत कार्यालय विराटनगरमा सेवाग्राहीको चहलपहल बढेको छ ।
कित्ताकाट खुला गर्ने निर्णय भएपनि मालपोत कार्यालयहरुले त्यसलाई कार्यान्वयन भने गरेका छैनन् । कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नभएपनि त्यसको बारेमा बुझ्न र रोकिएको व्यवसायलाई सुचारु गराउन बुधबार मालपोत कार्यालय विराटनगरमा घरजग्गा कारोबारीहरुको पनि बाक्लो उपस्थिति थियो ।
सरकारको पछिल्लो निर्णयबाट लामो समय जग्गा प्लटिङको कारोबार रोक्का हुँदा करोडौं लगानी गरेर ब्याजको मारमा परेका व्यवसायीहरु उत्साहित देखिएका छन् । सँगसँगै व्यवसायीलाई बैना दिएर जग्गा पास गर्न नसकेका सर्वसाधारणहरु पनि मालपोत कार्यालयमा कित्ताकाट सम्वन्धी जानकारी लिन पुगेका थिए ।
कोरोना संक्रमण र निषेधाज्ञाका कारण करिव डेढ महिनादेखि बन्द रहेको विराटनगरको भूमिसुधार तथा मालपोत कार्यालय खुलेसँगै सेवाग्राहीको घुँइचो बढेको हो । कार्यालय खुलेसँगै कित्ताकाट नभएपनि साविकका जग्गा जमिन रोक्का, फुकुवा, नामसारी तथा राजिनामा पास गर्ने जस्ता नियमित कामका लागि सेवाग्राहीको घुँइचो बढेको हो ।
नापी कार्यालय मोरङ र मालपोतकै कर्मचारीमा कोरोना संक्रमण भएपछि साउनको सुरुबाटै मातपोतको सेवा प्रभावित भएको थियो । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि महानगरपालिकाले गरेको लकडाउन र पछि जिल्ला प्रशासन कार्यालय मोरङले घोषणा गरेको निषेधाज्ञाका कारण कार्यालय ४५ दिन बन्द भएको थियो ।
मातपोत तथा नापी कार्यालयले सेवा प्रवाह गर्ने सूचना सार्वजनिक गरेपछि तीन दिनदेखि मलपोत कार्यालयमा सेवाग्राहीहरु बाक्लिएका छन् । आइतबारबाट कार्यालयले सेवा प्रवाह थालेको पहिलो दिन ४४ र सोमबार ३९ वटा लिखत पास भएको मालपोत कार्यालयबाट मंगलबार १०२ वटा लिखत पास भएको थियो । बुधबार १५० जना भन्दा बढी लिखत पास भएको कार्यालयले जनाएको छ ।
नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्रालयले विगत ३ वर्षदेखि बन्द गरेको जग्गाको कित्ताकाट सेवा खुला गर्ने निर्णय गरेका कारण पनि मालपोत कार्यालयमा भिड बढेको हो । ‘कित्ताकाट खुला गर्ने सरकारको निर्णयले गर्दापनि भिड बढेको हो,’ मालपोत कार्यालय विराटनगर प्रमुख नरेन्द्र पौडेलले भन्नुभयो ‘हुन त हामी बुझ्ने क्रममै छौं र कित्ताकाट खुला गरेका छैनौं तरपनि सेवाग्राही तथा जग्गा कारोवाहीहरुको चहलपहल बाक्लिँदा कार्यालय परिसरमा भिड देखिएको हो ।’
विराटनगरका घरजग्गा व्यवसायी तुलसी पोखरेल दुई महिनापछि बुधबार मालपोत कार्यालय विराटनगर पुग्नुभएको थियो । उहाँसँगै अन्य थुप्रै घरजग्गा व्यवसायीहरु पनि यस आर्थिक वर्षमा बुधबार पहिलो पटक मालपोत कार्यालय पुगेको बताइरहेका थिए । ‘धेरै लामो समयपछि यहाँ आइयो तर कारोवार सुरु भइसकेको छैन,’ व्यवसायी पोखरेलले भन्नुभयो ‘सरकारले कित्ताकाट खुला गरेर ऋण र बैंक व्याजको चपेटामा परेका व्यवसायीहरुमा केही आशा जगाएको छ त्यसलाई कार्यान्वयन गरेर आार्थिक गतिविधिलाई सुचारु गराउनु राम्रो हुन्छ ।’
कित्ताकाट बन्द हुँदा विगतका दुई वर्ष सरकारले २५ प्रतिशतको हाराहारीमा मात्र आम्दानी गरेको र आर्थिक वर्ष कोरोनासमेत थपिएकोले २०७६÷७७ मा लक्ष्यको करिव ३० प्रतिशत मात्र आम्दानी गरेको व्यवसायी पोखरेलले बताउनुभयो । मालपोत कार्यालयले साविक बमोजिम जग्गाको कित्ताकाट, राजिनामा पास, नामसारी, रोक्का फुक्का जस्ता नियमित कामहरु गर्न पालो मिलाएर मोठहरु खोलेर काम अघि बढाएको छ ।
‘हामीले मोठहरु एकैपटक खोलेका छैनौं पालो मिलाएर सेवा दिन थालेका छौं,’ प्रमुख पौडेलले भन्नुभयो ‘सीमित सेवा प्रवाह गर्दापनि सेवाग्राही भने अनपेक्षितरुपमा बढी देखिएका छन् ।’
राटनगर मालपोत कार्यालयले आइतबार, सोमबार र मंगलबार ३ दिनमा ६० लाख १४ हजार ५९२ रुपैयाँ राजश्व र ३४ लाख २३ हजार ५९३ रुपैयाँ लाभकर गरी ९४ लाख ४० हजार बढी कर संकलन गरेको छ । बुधबारको कारोवारसमेत जोड्दा १ करोड ३० लाखभन्दा बढी आम्दानी भएको छ ।
कित्ताकाट खोल्ने निर्णयको स्वागत
मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ताकाट खोल्नेगरी सरकारले गरेको निर्णयको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४ वर्ष अगाडिकै अवस्थामा जग्गाको कारोबार खुलाउने गरी मातहतका कार्यालयलाई पत्राचार गर्नुभएको थियो ।
‘विगत ३७ महिनादेखि जग्गाको कित्ताकाट (खण्डिकरण) रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खरबौं लगानी जोखिममा थियो भने लाखौं किसानहरुको दिनदैनिकमा समस्या थपिएको थियो,’ घर जग्गा व्यवसायी संघका अध्यक्ष घनश्याम पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘मन्त्रालयको तर्फबाट मन्त्रीज्यूले पठाउनु भएको पत्रको हामी स्वागत गर्दछौं ।’ विज्ञप्तिमा सरकारको निर्णय अनुसार काम अगाडि बढाउनुको सट्टा मालपोत कार्यालहरुले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेको गुनासो पनि गरिएको छ ।