कोरोना महामारी र सामाजिक दुरी

 भोला लम्साल

कोभिड १९ कोरोना नयाँ प्रजातिको भाइरसले हाज विश्व मानव जगतलाई अस्तव्यस्त बनाइरहँदा र संक्रमणका कारण मानव सभ्यतामाथि नै गम्भीर चुनौति थपिदिँदा मानव अस्तित्व नै जोखिम र संकटमा परेको देखिन्छ । चीनको बुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसले आज विश्वका कैयन शक्तिशाली राष्ट्रहरु चीन हुँदै नेपाल, जापान, कोरिया, भियतनाम थाइल्याण्ड, सिंगापुर, संयुक्त राज्य अमेरिका आदि युरोपियन राष्ट्रहरुमा कोरोना प्रकोप महामारीको रुपमा फैलिसकेको छ ।

कोरोना संक्रमणका कारण विश्व आर्थिक संकट उत्पन्न हुने खतरा मात्र होइन ठूलो जनधनको क्षति भएको देखिन्छ । नेपालमा पनि कोरोना संक्रमणको महामारीका रुपमा समुदायस्तरमा नै त्यसको प्रकोप फैलिदिँदा नेपालको धेरैजसो जिल्ला उच्च जोखिममा रहे । जसका कारण लकडाउन र निषेधाज्ञा जस्ता अप्ठ्यारो परिस्थिति सामना गर्नुपरिरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ र मृत्युदर पनि बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमणलाई लिएर नेपालमा आम नागरिकस्तरमा जुन प्रकारको त्रास र चिन्ताको विषय बन्न पुगेको छ । यो प्रजातिको भाइरसको अझैसम्म आधिकारिक नाम छैन, तरपनि यो नयाँ प्रजातिको नाम नाबेल कोरोना भाइरस भनेर बुझिन्छ ।

नोवेल कोरोना भाइरसको प्रकोप र महामारीले विश्वलाई आक्रान्त तुल्याएको छ । प्रविधिको विकास प्रकृतिको दोहनले निम्त्याउँदै गरेको संकट त्यसबाट हुने बिनासले प्राकृतिक सौन्दर्यता र यसको अनुपम विशेषता विश्रृङ्खलित हुन पुगेको छ । प्रकृतिको विनासले पुरै ब्रम्हाण्ड नै जोखिममा परेको छ भने त्यसबाट सिर्जना भएको प्रकोप र बिनासले मानव अस्तित्व अन्तिम भोजको रुपमा लिनुपर्ने वा बुझ्नु पर्ने अवस्था आएको छ । पछिल्लो समय कोभिड १९ भाइरस जुन रफ्तारबाट यसको संक्रमण फैलिदैछ दिनानुदिन बढिरहेको छ, यहि गतिले संक्रमण बढ्ने हो भने स्थिति कल्पनाभन्दा बाहिर जाने गम्भीर खतरा छ । अहिलेसम्म कुनै पनि भ्याक्सिन र औषधि पत्ता नलागिसकेको अवस्था भएपनि भाइरसका केही महत्वपूर्ण विषेशता भने पहिचान भएको देखिन्छ ।

पछिल्लो समय सामाजिक दुरी कायम राख्दै जुन स्थानमा सामाजिक सुरक्षाको राम्रो प्रवन्ध मिलाइएको छ, त्यहाँ कोरोनाका प्रभाव कम देखिएको छ । सामाजिक दुरी कायम गर्ने, समुदाय भिडभाडबाट टाढा रहने आदि भाइरस संक्रमणबाट जोगिने उपाय हुन् । यसलाई आम नागरिकहरुले महत्वका साथ पालना गर्नुपर्छ । हाम्रो सामाजिक व्यवहारले नै यो संक्रमणलाई जित्ने एउटै आधार हो । कोरोना भाइरसको कुनै मेडिसिन उपचार हाललाई देखिदैन । त्यसकारण औषधि उपचारभन्दा सामाजिक दुरी कायम गर्नु नै संक्रमण नियन्त्रणको उपयुक्त उपाय हो । हरेक संक्रमितले जिम्मेवारीपूर्वक संक्रमणलाई कसरी नियन्त्रणसहित निको पार्न सकिन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । सामाजिक दुरीको महत्व हरेक व्यक्ति, चाहे त्यो संक्रमित होस् वा सुरक्षित होस् उसले बुझ्न जरुरी छ । पछिल्लो समय कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार वा प्रदेशस्तरबाट विभिन्न प्रयास भइरहेको देखिन्छ । तर, ती प्रयासहरु यथेष्ट भने छैन । समाजको दृष्टिले हेर्दा जति गर्न सकिन्थ्यो त्यति नभएको र यस कार्यमा तीनै तहका सरकारहरु कतै न कतै चुकेका छन् ।

समुदायहरुमा सचेतनाका साथ व्यवस्थित क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा जुन तवरबाट काम हुनुपथ्र्यो, त्यसो हुन सकेन । स्वास्थ्यकर्मीको उचित व्यवस्थापन, सुरक्षाको प्रत्याभूतिलाई अझ प्रभावकारी ढंगबाट व्यवस्थित बनाउन जरुरी छ । कोरोना संक्रमणका कारण आज सामाजिक अस्तित्व संकटमा मात्र परेको छैन संक्रमित नागरिकहरुको सामाजिक सभ्यता र सुरक्षामाथि गम्भीर प्रश्न चिन्ह उठेको देखिन्छ । कोरोना संक्रमितलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण नकारात्मक भइदिँदा त्यसले सामाजिक एकता, सामाजिक सद्भाव, सहिष्णुता र भाइचारालार्य खल्बल्याउने, सल्बलाउने र सामाजिक मूल्यमान्यता माथि गहिरो प्रहार हुने हुँदा त्यसतर्फ भने सजग रही सामाजिक रुपान्तरणतर्फ समाजका अगुवा नागरिकहरुले भूमिका निर्वाह गर्नुपर्ने आावश्यकता छ ।

संक्रमित व्यक्तिसँग सामाजिक दुरी कायम राख्नु भनेको सामाजिक बहिष्कार होइन, त्यसलाई त्यो अर्थबाट परिभाषा गर्न पुगियो भने समाज बिखण्डनतर्फ उन्मुख हुनजान्छ । त्यसले सामाजिक एकतामा जटिलता र कठिनतम् स्थिति सिर्जना गर्नपुग्छ । हाम्रो सामाजिक उत्तरदायित्व के हो, त्यसलाई बुझ्न र पालना गर्न आवश्यक छ । संक्रमित व्यक्तिलाई सामाजिक बहिष्कार होइन सामाजिक दुरी कायम राख्दै हौसला, उच्च मनोबल राख्न प्रेरणा प्रदान गरौं । पोसिलो, रसिलो, भरिलो, पौष्टिक आहार दिने वा खाने सल्लाह सुझाव प्रदान गरौं । कोरोना महामारी रोक्न वा फैलिन नदिन घरनै सुरक्षित स्थान हो । र सामाजिक दुरी नै बच्ने उपाय हो भन्ने वस्तुगत यथार्थलाई बुझ्न अब ढिला नगरौं । सामाजिक दुरी कायम राख्ने भनेको अर्थ भिडभाड, हुलमुल, कुनै पार्टी, भोजभतेर, सामूहिक भेला जस्ता कार्यलाई बुझ्न सकिन्छ । र यसको व्याख्या पनि यही हो । कोरोना संक्रमित व्यक्तिसँग शारीरिक दुरी कायम राख्ने हो ताकी उसलाई समाज बाहिर पठाउने वा राख्ने होइन । शारीरिक दुरी कायम राख्दै, आत्मियता बढाउने हो । हाम्रो गाउँ, सहर, टोलहरुमा जति अहिले संक्रमित छन् उनीहरुको मनोबल उच्च राख्न सामाजिक दुरी कायम राख्दै, सामाजिक एकता, सम्बन्धलाई अझ कसिलो, दरिलो र विश्वासिलो बनाउन आवश्यक छ । र प्रेरणा प्रदान गर्न जरुरी छ ।
विराटनगर–४

मङ्गलबार, २३ भदौ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर