निजी आइसोलेसनका लागि के–के सुविधा छन् ?

विराटनगरमा न्यूरो अस्पताल र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलद्वारा कोरोनाको उपचारका लागि आइसोलेसन स्थापना तथा संचालन

विराटनगर । निजीस्तरबाट सञ्चालित कोभिड अस्पतालहरुलाई राज्यले संक्रमितको अवस्था विश्लेषणको आधारमा सहयोग उपलब्ध गराउने भएको छ ।

गत असार १५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम संक्रमितको उपचारका लागी नेपाल सरकारले अनुदान स्वरुप सहयोग उपलब्ध गराउने भएको हो । मन्त्रिपरिषदको बैठकले स्वीकृत प्रदान गरेको ‘कोभिड–१९ को संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधन गर्न बनेको आदेश’ बमोजिम नेपाल सरकारले लक्षण नभएका, भएका, सामान्य वा मध्यम प्रकृतिको लक्षण भएका तथा गम्भीर प्रकृतिका बिरामीहरुलाई न्युनतम दुई सय रुपैयाँदेखि १५ हजार रुँपैयासम्मको उपचार खर्च सहयोग गर्नेछ ।

मन्त्रिपरिषदको बैठकद्धारा स्वीकृत आदेश बमोजिम सरकारले लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीलाई स्वास्थ्यकर्मीले घरमा क्लिनिकल निगरानी गर्दा प्रतिदिन दुई सय रुँपैया र आईशोलेसनमा राखेर निगरानी गर्दा प्रतिदिन एकजना बराबर २ हजार रुँपैया सहयोग गर्ने भएको हो ।

यस्तै सामान्य लक्षण भएका बिरामी उपचारका निम्ति निजीस्तरबाट सञ्चालित कोभिड अस्पतालमा भर्ना हुँदा सरकारले तीन हजार ५ सय रुपैयाँ र मध्यम प्रकृतिका बिरामी भर्ना हुँदा ७ हजार रुपैयाँ सरकारले प्रदान गर्नेछ । जटिल तथा क्रिटिकल बिरामीहरुका लागि भने सरकारले १५ हजार सहयोग गर्ने निर्णय भएको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसाईले बताउनुभयो ।

सरकारले संक्रमितहरुको उपचारका लागि सहयोगस्वरुप उपलब्ध गराउने उक्त प्रस्तावित लागत रकममा संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि समावेश गरिएको जनाईएको छ ।

निजी क्षेत्रबाट सञ्चालित कोभिड अस्पतालमा उपचार गराउने संक्रमितलाई राज्य पक्षले पनि सहयोग गर्नु उत्साहजनक विषय रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरका अपरेशनल डायरेक्टर राजेश भट्टराईले बताउनुभयो । तर राज्यले उपलब्ध गराउने सहयोगले मात्र बिरामीको उपचार, खान र बस्न लगायतका सबै सेवा सुविधाहरु आपूर्ति गर्न सम्भव नहुने भएकाले सहयोग बापतको रकम कटाएर बाँकी शुल्क भने अस्पतालले लिने उहाँको भनाई छ ।

विराटनगरमा दुई वटा निजी आइसोलेसन संचालन

न्यूरो हस्पिटलले भने गत शुक्रबारदेखि नै विराटनगरको महेन्द्र चौक आफ्नो विस्तारित शाखा मातृशिशु अस्पताललाई रुपान्तरण गरी जेनरल ४२, आईसियु ७ र भेन्टिलेटर २ सहित ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । न्यूरोले सञ्चालनमा ल्याएको कोभिड अस्पतालमा उपचार गराउने संक्रमितलाई बेड चार्ज, मेडिसिन चार्ज, सन्तुलित भोजन र उपचार लागतलगायतका सम्पूर्ण खर्चसहित प्रतिदिन न्यूनतम ४ हजार ६ सय २५ रुपैयाँ तिर्नुपर्ने अस्पतालका अपरेशनल डायरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले पनि गत भदौ ४ गतेदखि ६० शैयाको होल्डिङ सेन्टरमा सञ्चालनमा ल्याएको छ । लक्षणबिनाको कोरोना संक्रमितलाई राख्नका लागि सञ्चालनमा ल्याईएको होल्डिङ सेन्टरमा अस्पतालका कर्मचारीका लागी २० र सर्वसाधारण बिरामीका लागि ४० वटा शैयाको व्यवस्थापन गरिएको छ । अस्पतालले हाल जेनरल बेड तथा चिकित्सकले सुझाए बमोजिमका खाना, खाजा, आवश्यक औषधीसहित १ जना बराबर दैनिक ३ हजार शुल्क लिईरहेको अस्पतालका प्रशासन प्रमुख सुधिर सिहं राठौरले जानकारी दिनुभयो । अस्पतालले भने होल्डिङ सेन्टर सञ्चालन तथा व्यवस्थापनका निम्ति आवश्यक जनशक्तिसहित दैनिक १ लाखको खर्च अनुमान गरेको थियो ।

सोमबार, १५ भदौ, २०७७, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर