मनिषा आचार्य
नातावाद, कृपावाद, परिवारवाद, हजुरियावाद जस्ता केही वादहरुले समाजमा यति नकारात्मक ढंगबाट जरा गाडेर बसेको छ कि जसको जरा हत्तपत्त कुनैपनि शक्तिशाली यन्त्रले भत्काउन सक्दैन । कुरा ठ्याक्कै एक वर्ष अगाडिको हो, एउटा मन्त्रालयको निर्देशन र रोहबरमा रहनेगरि जिल्लामा एउटा रोजगारमुलक कार्यक्रम आएको रहेछ । उक्त कार्यक्रमको सहजीकरण अर्थात कार्यसम्पादन गर्ने जिम्मा एउटा एनजिओले पायो उक्त एनजिओले कार्यक्रम पाउनासाथ काम गर्ने कर्मचारीको दरखास्त आव्हान गरेको कुरा रेडियोमार्फत मैले सुनेर आफू प्रष्ट हुनका लागि उक्त सस्थामा टेलिफोन सम्पर्क गरे संस्थामा कलपश्चात् उक्त सस्थामा रहेर काम गर्नका निम्ति चाहिने न्युनतम रिक्वायरमेन्ट्सहरु, त्यहाँ रहेर गर्नुपर्ने कामको प्रकृति र सेवासुबिधाका कुराहरु बुझेर आफूसँगको नियमित भेटघाटमा जागिरको निम्ति कुनै भ्याकेन्सिहरुको जानकारी भएमा खबर गर्न र आफू केही काममा इङ्गेज हुँदै आफ्नो खर्च आफै ब्यवस्थापन गर्न चाहेको र आफ्नो परिवारको आर्थिक हैसियत मजबुत नभएको बताउने साथीहरु जो उक्त प्रोजेक्टमा रहेर काम गर्नका लागि योग्य हुनुहुन्थ्यो, वहाँहरु मेरो मानसपटलमा आइहाल्नुभयो, हतपत्त वहाँहरुलाई पालैपालो फोन लगाएर जागिरको निम्ति आवेदन खुलेको र आफुहरुले समयमै पनि उक्त आबेदन फारम भरी सम्बन्धित संस्थामा बुझाउन भने, प्रोजेक्टमा जम्मा आठ जना कर्मचारीको माग भएकोमा २३ वटा आबेदन परेछन् ।
आवेदन फारम भरेको ७ दिनपछि आबेदकहरुको सर्ट लिस्टिङ भएछ । सर्ट लिस्टिङमा १५ जनाको नाम आएछ, दिनको २ बज्नै लागेको थियो, म आफ्नै काममा ब्यस्त थिए । उत्तिकैमा साथीको फोन आयो, आफ्नो सर्ट लिस्टिङमा नाम आएको भन्दै खुसीले गद्गगदिएको आवाजलाई मैले ठम्याउन सक्थे । लिखित र मौखिक परीक्षामा सफलता मिलोस् भन्ने शुभकामना दिएर हामी फोनबाट अलग भयौ । त्यसको एक हप्तापछि लिखित परिक्षा भएछ, त्यहाँ नि साथीको नाम निस्केछ । पुनः तीन दिनपछि मौखिक अन्तरवार्ताको लागि एप्रोपिएट भएका साथीहरुलाई आव्हान भएछ । अन्तर्वार्ता सकिएको करिब आधा घन्टा नबित्दै फेरि साथीको फोन आयो, उनको स्वर कापिरहेको, बिछिट्टै बिरक्तिएको जस्तो सुनिन्थ्यो । उनी भन्दैथिए – सबै कुरा सेटिङमा हुँदो रहेछ, बेकारमा दुःख पाइयो, यस्तो हुन्छ भनेर थाहा भएको भए आबेदन फारम नै भर्ने थिइँन ।
जसले यति बिरक्तिएर फोन गर्यो, उनी पढाइमा पनि उत्तिकै अब्बल, कम्युटरमा पनि राम्रो दख्खल राख्थे, ब्यवस्थापन संकायमा स्नातक पहिलो श्रेणीमा उत्तीर्ण थिए । उनी उभन्दा पढाइमा पनि कमजोर साथीहरुको फुत्तै नाम निस्किएको सूचना पढेर केही जान्न मन लाग्यो । त्यहि संस्थामा कर्मचारीको रुपमा मेरै एकजना अत्यन्तै हितैषी साथी काम गर्थिन् । मैले उनलाई चिया पिउन निम्तो दिए, अफिस टाइम सकेर हाम्रो भेटघाट भयो । मैले सोधे ‘त्यहाँ कर्मचारी छनोट प्रक्रिया र केलाई प्रायोरिटी दिएर अन्तिम नतिजा प्रकाशन गरियो ?’ उनले उनले भन्दै गइन्– ‘फर्मालिटी पूरा गर्नकै निम्ति मात्र प्राइभेट संस्थाहरुमा प्रायः भ्याकेन्सी अनाउन्समेन्ट गरिन्छ, आबेदन परेका फारमहरु हामीले हेर्न पनि पाएनौं सर्टलिस्टिङ ,लिखित परिक्षाको तयारी नतिजा प्रकाशन ,मौखिक परीक्षा र अन्तिम नतिजा प्रकाशन एनजिओका अध्यक्ष र उनका नजिक भन्ठानेकाहरुले गरे, मलाई बारम्बार अफिसमा फोन आउथ्यो फलाना पार्टीको फलाना जिम्मेवारी भएको ब्यक्ति फलाना संघको अध्यक्ष, फलाना कम्पनीको मेनेजर, म फलाना ब्यवसायको मालिक मेरो फलाना नाम गरेको आबेदकको जसरी नाम निकाल्दिनुस है, म तपाईलाई मेरो तर्फबाट हेर्छु भन्थे । जेनुयन्लि जो उक्त प्रोजेक्टको लागि योग्य थियो, उनीहरु फालिए र जसले पहुँच ,पैसा र शक्तिको आडमा भनसुन गरे उनीहरुको नाम निस्कियो ।
केही दिनपछि त्यो प्रोजेक्टमा काम गर्नका निम्ति छनोट भएका भार्इसँग अचानक भेट भयो । भेट भएपछि बधाई त दिनैपर्यो । उनले बडो सानसँग ह्या दिज्यू, आफ्ना मान्छे ठाउँमा भएपछि जागिर खान न हामीलाई कलेजको पर्सेन्टेजले रोक्यो न प्राबिधिक दक्षताले नै । अहंकारको यस्तो तुच्छ र लाजमर्दो हर्कत देखेर शब्दद्वारा २–४ थप्पड लगाइदिन मन थियो । तर, मैले आफूलाई कन्ट्रोल गर्दै पुनः शुभकामना दिएर आफ्नो बाटो लागे । पछि उक्त प्रोजेक्टमा समयमै काम सम्पन्न भए नभएको जान्न मन भएर साथीलाई फोन लगाए उनले भनिन् । आठ महिनामा सम्पन्न गरिसक्नुपर्ने काम ३० प्रतिशत मात्र भयो । त्यसपछि यताउता काम भएको डकुमेन्ट मिलाएर फाइलहरु सम्बन्धित निकायमा पेश गरियो अन्ततः त्यो प्रोजेक्ट नै सकियो ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्ता घटना हामीमाझ लाखौं छन् । ग्रामीण स्तरमा सामान्य एउटा क्लब फर्मेसन गर्नदेखि लिएर ठूला साना सबै प्रकारका सरकारी तथा गैरसरकारी हरेक निकायहरु र क्षेत्रमा यहि फर्मुला लागु हुन्छ । एउटा क्षमतावान्, कुशल र योग्यता पुगेका काम गर्नसक्ने ल्याकत भएका मानिसहरु पहुँच नभएकै कारण आफ्नो पर्फमेन्स देखाउन पाउदैनन् । तर, जोसँग काम गर्ने न कुनै भिजन छ न कुनै मिसन, त्यस्ता मान्छेहरुको हालिमुहाली र रबैया चौतर्फी देखिन्छ । भर्खरै मात्र लोकसेवा जस्तो निष्पक्ष र स्वच्छ छबि भएको संस्थामा उपसचिव पदको परिक्षाको प्रश्नपत्र अगाडि नै बाहिरिएको भन्ने समाचार, आफ्नै बाबुले छोरीको परिक्षा लेखिदिएको भन्ने समाचारहरु आइरहँदा जो दिनरात दुःख गरेर ५ वर्ष, ६ वर्ष लगाएर लोकसेवाको तयारी गर्छ, उनीहरु हतोत्साहित मात्र होइन, उनीहरुको आत्मसम्मानमा आघात पुग्छ ।
नेपाली जनतामा बिद्रोही स्वाभावको आजीवन प्रतिपक्षी चेतना, स्थायी प्रतिपक्षी चेतना पनि कहिकतै शासकहरु नातावाद र कृपावादको उपज हो भन्दा फरक नपर्ला । किनकी पहुँचको लाभ लिने परिपाटीका कारण यहाँ जो मान्छे जस्तोसुकै काम गर्न पनि नडराउने भएका छन् । राजनीतिक बचावटका कारण निर्दोष भुमरिमा फसिरहेको र दोषीले उन्मुक्ति पाएको घटना हजारौं हजारको सङ्ख्यामा छन् । रवाफ, धाक ,कुल खानदान, माथिल्लो राजनीतिक पहुँच र पदीय हैसियत भजाउनेहरु राम्रोसँग सेटल्ड भएका छन् । नेपालका जंगबहादुर र जर्मनीका हिटलर त कानुनसँग थर्कमान हुन्थे । तर, आज नेपालका जंगबहादुरहरु बिनासङ्कोच बिनाडर कानूनको रातारात व्यापार गरिदिन्छन् र निर्दोषलाई खाल्डामा हाल्छन् ।
हामीले हरेक क्षेत्र निष्पक्ष हुनुपर्छ बौद्धिकता, क्षमता, कामको अनुभव र दक्षताको मापदण्डलाई आधारमा राखेर हरेक क्षेत्रमा कर्मचारी छनोट गर्नुपर्छ भन्दै भाषणमा ठुला–ठुला आदर्शका गफ छाट्दै गर्दा र आफू उक्त ओहोदामा रहँदा माथि उल्लेखित कुराहरुलाई ब्यवहारतः कति कार्यान्वयन गर्यौ ? आफ्नो र अर्काको नभनी राम्रो ब्यक्तिलाई काम गर्न अवसर प्रदान गर्दै राम्रो कार्यसम्पादन गर्न कति प्रोत्साहन गर्यौ ? समाजमा ब्याप्त सत्ता सञ्चालकको कुनै मानक संस्कृतिको स्थापित गर्न आफ्नो ठाउँबाट कति पहल गर्यौ ? नेपालको सन्दर्भमा अधिकांस सार्वजनिक महत्त्व र सरोकारका निर्णयहरु चाकडी, चाप्लुसी, नातावाद, कृपावाद, समान पार्टी, संगठन, गुटबन्दी र कमिसनको आधारमा किन भइरहन्छन् ? यो बारेमा कहिले अध्ययन गरेर समाधानका पाटाहरु सोच्यौं ?
भुषको थुप्रोमा हराएको पिन भेटाउन सकिएला । तर, अहिले पदको लोभमा चाकडी नगर्ने मान्छे भेट्टाउन मुस्किल छ । नेताको भाषण चाहिँ देश र जनताका लागि हुन्छ । तर, आफ्नो कार्यकाल सुरु भएको हप्तादिन नबित्दै पहिलो चरणको कार्यक्रम आफन्तलाई जागिर खुवाउने हुन्छ । आफ्नो सचिवालयमा कहिले कुनै नेताले बिषय बिज्ञ, सल्लाहकार वा पर्सनल सेक्रेटरी राख्न खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरेको कतै सुन्नुभाछ ?? अधिकांंस सार्वजनिक पदको नियुक्ति विशेषज्ञता, वरिष्ठता, अनुभव र योग्यताको आधारमा किन हुदैन ? सत्तामा पुगिसकेपछि प्रशासनिक सुधारमा निश्पक्षता र राजनीतिक आग्रह पुर्वाग्रहको ग्रहणमा किन लालयित बन्यौ हामी ? हामी आफ्नै क्षमता र योग्यताको दुरुपयोगमा किन मौन छौ ? यस्ता गलत पक्षहरुको खुलेर वकालत गर्ने जिम्मा अब हाम्रो पुस्ताले लिनुपर्छ ।
नातावाद र कृपावादले निम्त्याएको एउटा गतिलो घटना हेरौ न । राजतन्त्रको पतन ,आफ्नै बंशावलीभन्दा अर्को कुनै अब्बल नदेख्ने रुलिङ्र, शासन प्रणालीमा नैतिक, सदाचार र इमानदारिताले मात्र पारदर्शिता र सुशासनको सुनिश्चितता गर्नसक्छ । जनता र समाजको चेतना तथा जागरुकताको स्तर जतिजती बढ्दै जान्छ, त्यति नै पारदर्शाीताको अवलम्बनमा दवाब दिनु आजको आवश्यकता हो । जनदिशा अनुरुपको शासन ब्यवस्था भएन भने त्यो शासन ब्यवस्थाको बिकल्पमा जनताको मनोबिज्ञान उत्रन थाल्छ र अन्ततः शासन ब्यवस्था नै धरापमा परेको विश्वको इतिहास छ । नेपालको सन्दर्भमा शासन ब्यवस्था ‘नयाँ बोतल पुरानै रक्सी’ जस्तो भएको देखिन्छ । यहाँका हरेक ठाउँमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको शासकीय शैलीमा कताकता राजतन्त्रकै गन्ध आउने नगरेको पनि होइन ।
सधै नातावादको लठ्ठीलाई टेकेर कुनैपनि स्थान वा क्षेत्रको सत्ता आफ्नो निम्ति प्राप्तिको ढोकासम्म पुर्याउनु मात्र अबको हाम्रो उद्देश्य भयो भने हामी गन्तव्यसम्म पुग्न सक्दैनौं । आजका हरेक मानिसहरू कृपावाद, नातावाद र परिवारवादको आडमा पाएको नोकरीलाई बरदान सम्झिने परिपाटीको अन्त्य हुनुपर्छ । कमिसनमा कमाउने र चाकडीमा रमाउने संस्कारलाई यति बिध्न मौलाउनु दिनु र त्यसमा आफू स्वयम् संलग्न हुने लोकप्रियता भबिष्यको निम्ति घातक नबल्ला भन्न सकिन्न । नातावाद, कृपावाद ,बहिष्करण,,सिन्डिकेट, अपमान र भेदभावजस्ता कुराले मानिसको आत्मसम्मानमा मनोबलमा चोट पुर्याउछ, यसरी कसैलाई कसैको आडमा उच्च ओहोदामा पुर्याउने र आम जनताको भबिस्यमाथि खेलबाड गर्ने काम कसैबाट नगरियोस् र नगराइयोस् ।
एक समयमा समकालीन दक्षिण एसियामा भएको ब्यवस्थालाई बुझ्दै राजनीलिाई बुझ्ने क्रममा कम्युनिस्ट नेता मदन भन्डारीले भनेका थिए– ‘यदि जनताको जीवनस्तरमा आधारभुत परिवर्तन आउन सक्दैन भने राजतन्त्र रहनु र नरहनुको कुनै तात्विक अर्थ रहन्न ।’ यो भनाइले नातावाद र कृपावादको माध्यमबाट जेजस्ता खालला नतिजाहरु आउछन्, ती सबैले निम्त्याउने अन्तिम परिणामलाई प्रतिनिधित्व गर्छ जस्तो लाग्छ । अब सबैले आ–आफ्नो ठाउँबाट बिगतका कमि कमजोरीलाई सच्याउदै पारदर्शी ढंगबाट अगाडि बढ्दै हामीसँग भएका अथाहा सम्भावनाहरुलाई प्रस्फुटित गर्नुपर्छ । अब यी सबैखालका कुरिती हटाउन सबैको साझा ऎक्यबद्धता र एक्सन जरुरी छ ।
बास्तबिकता
कसरी समस्याको समाधान गर्न सकिन्छ ? कस्तो रणनीति, कार्यनीति र योजना ल्याउनु पर्छ ? सबै भन्दा यो हुनुको पछाडि केको हात ठूलो छ ? यस्को बिचार आएको भए राम्रो हुन्थ्यो । समस्या मात्रै आयो तर समाधान ?
वस्तुवादी लेख अाएकाे छ यसलाई चिर्न नया पुस्तालेे जिम्मा लिनु पर्छ ।