सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोलीमाथि हातपात भएको छ।

रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरी टोलीमाथि हातपात भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार आइतबार अपरान्ह स्थानीय सन्तोष खड्काको होटलमा होहल्ला गरेको सूचना पाएपछि सम्झाउन पुगेको प्रहरीलाई ६ जना युवाको समूहले हातपात गरेका हुन्। ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको प्रहरी पोसाकमा लगाएको सिठीसमेत चुँडाइदिएका छन्। उनीहरुले प्रहरीलाई लडाएर लात्ती प्रहार गरेको र क्यान बियरले हानेर घाइते बनाएको बताइएको छ ।

कुटाई खाएका प्रहरी सहायक निरीक्षक महतोले घटनाको विषयमा जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले साँझ ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको छ । पाँच युवालाई घटनास्थलबाटै र एक जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो।

पक्राउ पर्नेहरुमा सिद्धिचरण नगरपालिका–६ ओखलढुंगाका २५ वर्षका विजय मगर, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ बस्ने बर्ष २४ को शेरबहादुर मगर, ४५ वर्षका भीमबहादुर मगर, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ४० को चन्द्रबहादुर मगर, वर्ष ३८ को मोहन कार्की र ३५ वर्षका फुर्वा शेर्पा रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।