डा.बालकृष्ण शाह
कोरोना संक्रमितको मृत्यु भएको खबर संगै जोडिने मृतक मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर)का रोगी थिए भन्ने सुन्दा मन धेरैको चिसो हुन थालेको छ । त्यसैले त विराटनगरका जनक तिम्सिना भन्छन्, ‘सुगर र प्रेसर हुनेचाँही कोरोना लागे बाँच्दै नबाच्ने रैछन कि जस्तो आभाष हुन थालेको छ ।’ अहिले मिडियामा पनि यी रोग लागेर पनि कोरोना जित्नेको समाचार आउँदैन । बरु हरेक मृत्युको पछाडि कारण यीनै रोग जोडिँदा सुगर र प्रेसरका रोगीहरूको कोरोनाअघि नै आत्मबल कमजोर हुने उनको तर्क छ । अझ बिगत १० वर्षदेखि मधुमेहका रोगी रहेकी ४५ वर्षीय विराटनगर–६ का एक कोभिड संक्रमितको मृत्यु भएको खबरले मधुमेहका दीर्घरोगीहरुको मुटु हल्लिएको छ । कोभिड १९ को अर्को शिकार आफु हुने त होईन ? धेरै मधुमेहका रोगी तथा दीर्घरोगीहरुमा यो डर पसेको छ । तर वास्तविकता त्यो हैन । विराटनगरमा नै ९० वर्षीया वृद्धाले यी सबै रोगका बाबजुद कोरोना जितेको पनि सम्झिनु आवश्यक छ । यो त मिडियामा आएको उदाहरणमात्र हो । मिडियामा नआएका यस्ता थुप्रै संक्रमित छन् जसले सुगर र प्रेसर भएपनी कोरोना जितेका छन ।
कोरोना जित्न सबैभन्दा ठूलो ओखती भनेकै आत्मबल हो । त्यसैले आत्मबल दर्हो बनाउन आवश्यक छ । तर ख्याल गर्नै पर्ने कुरा भनेको रोग नै नलागोस भन्ने हो । यसमा सबैले सजग हुनुपर्छ । अझ कुनै दीर्घरोग भएर औषधि सेवन गरिरहेकाले थप सजग र सावधानी अपनाउनु पर्छ । विश्वका केही देशको अध्ययन हेर्दा दीर्घरोगीहरूमा भाइरसले जटिलता ल्याउनसक्ने संभावना अन्यलाई भन्दा बढी हुन्छ ।
बेलायतमा २३ हजार ८ सय ४ कोभिड १९ संक्रमणले मृत्यु भएकाहरुमा गरिएको एक सर्वेक्षणले मृतकहरु मध्ये ३३ दशमलव ५ प्रतिशतमा मधुमेह रहेको देखाएको छ । सो सर्वेले मधुमेहको रोगीहरुलाई अन्यको तुलनामा २ देखि ३ दशमलव ५ गुणाले बबढी मृत्युको सम्भावना रहेको देखाएको छ । फ्रान्सको अध्ययन पनि त्यस्तै छ ।
फ्रान्समा गरिएको अध्ययनले कोभिड १९ को संक्रमितहरु मध्ये ८८ दशमलव ५ प्रतिशतमा मधुमेह (टाईप २) रहेको पाईएको थियो । चिनमा १ हजार ५ सय ६१ जना संक्रमितहरुमा गरिएको अध्ययनले पनि मधुमेहका बिमारीहरुलाई आईसियुमा राखेर उपचार गर्नुपरेको र मृत्यु भएको देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले रगतमा चिनीको मात्रामा राम्रो नियन्त्रण नभएको अर्थात नियन्त्रणमा नरहेको मधुमेहका रोगीहरु तथा मोटोपन, उच्चरक्तचाप तथा अन्य समस्याहरु रहेका मधुमेहका रोगीहरुका लागि कोभिड १९ को संक्रमण घातक रहेको पुष्टि गरेको छ ।
नेपाल सरकार, डब्लुएचओ तथा अन्य विभिन्न संघ संस्थाहरुले पनि वृद्ध तथा दीर्घरोगीहरुलाई कोभिड १९ को संक्रमण बढी खतरा हुन सक्ने भएकाले सचेत गराएको छ । यस्ता वृद्धहरु, दीर्घरोगीहरुलाई घरबाहिर नजान तथा भिडभाडमा जान रोक लगाएको छ । हामीले यस्ता सावधानी कति अपनायौ थाहा छैन । तर हाम्रा समाजमा रहेका कति बृद्ध अनि कति मधुमेहका रोगीहरुलाई कोरोनाको संक्रमणले छोपिसकेको हुन सक्ने सम्भावना छ । यस्ता दीर्घरोगीहरु स्वयं पनि सचेत देखिँदैनन र सरकारले पनि विशेष प्राथमिकतामा राखेको देखिएको छैन । हुनत ‘कोभिड १९ संक्रमितहरूको आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ अनुसार ‘आइसोलेसन केन्द्रमा ६० वर्ष भन्दा माथिका तथा अन्य दीर्घरोगीहरू (मुटुुरोग, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरु)लाई छुट्टै राखी विशेष क्लिनिकल निगरानी गर्नु पर्नेछ’ भनिएको छ । तर पनि यस्ता संक्रमितहरु आईसोलेसन अस्पतालमा अटाएका छैनन् ।
यी अध्ययनहरुले मधुमेहमा कोभिड १९ को संक्रमण भए पछि गम्भीरता बढ्ने र मृत्युु दर बढ्ने देखाए पनि मधुमेह भएको कारणले संक्रमण हुने देखिएको छैन । साथै मधुमेह भएकाहरुमा संक्रमण भएपछि गम्भीरता बढ्ने तथा मृत्युु हुने सम्भावना बढ्ने भएपनि सबै संक्रमितको मृत्यु हुने भनिएको छैन । त्यसैले मधुमेहको राम्रो नियन्त्रण, अन्य मुटुका रोगहरु, उच्चरक्तचाप, मोटोपनको राम्रो नियन्त्रण गर्न सके र प्रमुख कुरा संक्रमणबाट जोगिए जीवन अन्त्य नहुने निश्चित छ ।
अर्कोतर्फ नेपालमा पनि संक्रमितहरूको संङ्ख्या ३० हजार नाघिसक्यो । यो दर क्रमशः बढ्दै जाने निश्चित छ । त्यसैले अब कोरोना संक्रमितहरूको उपचारकालागि व्यवस्थापन गर्न जटिलता थपिदै जाने छ । अझ हिजो मात्र नेपाल सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितहरूलाई होम आईसोलेसनमा नै बस्न बाध्यकारी बनाएको छ । तर ब्यबहारिक रूपमा त्यो सबैका लागि सम्भव छ ? छैन, सोचेको पाइँदैन ।
सबैलाई होम आईसोलेसनमा बस्न सोहि मापदण्डको घर तथा अन्य पूर्वाधार नहुन सक्छ । अझ एउटा वा दुइटा कोठा भाडामा लिएर बस्नेहरूको परिवारमा एक जनालाइ कोभिड पोजेटिभ देखिए कसरी व्यवस्थापन गर्ने ? यसका लागि पनि राज्यले बिरामीको प्रकृति अनुसार आइसोलेसनको क्षमता बढाउन आवश्यक छ ।
फेरि केही लक्षण भएका र दीर्घरोगीहरुलाई राख्न पनि अस्पतालमा शैया खाली छैनन् । त्यसका लागि पनि तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ । स्थिति भयावह बन्दै जाँदा सबैलाई उपचार गर्न पनि असम्भव होला । अमेरिका, ईटाली जस्तो मुलुकलाई पनि गार्हो भएको हामीले हेरेकै छौं । त्यसैले तीनै तहका सरकारले अब क्षमता भएकहरूलाई आफै पैसा तिरेर भएपनि ईसोलेसनमा बस्नसक्ने वातावरण बनाईदिनु पर्छ । यसको लागि निजी अस्पतालहरूलाई प्रयोग गर्नुपर्छ । र जनता पनि तयार हुनुपर्छ । त्यस्ता पेईङ्ग आईसोलेसनको व्यवस्था गर्न सरोकारवाला विशेषत स्थानीय निकाय जुट्नुपर्छ ।
यो विश्वब्यापी महामारी भ्याक्सिनको सहज उपलब्धता नभएसम्म नियन्त्रणमा आउने सम्भावना कम छ । अझ त्यो बेलासम्म स्थिति भयावह हुन सक्छ । त्यसको लागि अहिलेदेखि नै सघन तयारी गर्नु आवश्यक छ । यो बेला आरोप प्रत्यारोप हैन, हरेक नागरिकदेरोगीहरुलाई राख्न पनि अस्पतालमा शैया खाली छैनन् । त्यसकालागी पनि तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ । स्थिति भयावह बन्दै जाँदा सबैलाई उपचार गर्न पनि असम्भव होला । अमेरिका, ईटाली जस्तो मुलुकलाई पनि गार्हो भएको हामीले हेरेकै छौं । त्यसैले तीनै तहका सरकारले अब क्षमता भएकहरूलाई आफै पैसा तिरेर भएपनि ईसोलेसनमा बस्नसक्ने वातावरण बनाईदिनु पर्छ । यसकोलागि निजी अस्पतालहरूलाई प्रयोग गर्नुपर्छ । र जनता पनि तयार हुनुपर्छ । त्यस्ता पेईङ्ग आईसोलेसनको व्यवस्था गर्न सरोकारवाला बिशेषत स्थानीय निकाय जुट्नुपर्छ ।
यो विश्वब्यापी महामारी भ्याक्सिनको सहज उपलब्धता नभएसम्म नियन्त्रणमा आउने सम्भावना कम छ । अझ त्यो बेलासम्म स्थिती भयावह हुन सक्छ । त्यसको लागि अहिलेदेखि नै सघन तयारी गर्नु आवश्यक छ । यो बेला आरोप प्रत्यारोप हैन, हरेक नागरिकदेखी राज्यसंचालक हरूले पनि आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । यसमा सवैको ध्यान जान सकोस ।