भेडापालन चरन अभावले संकटमा

ईनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा व्यवसायिक रूपमा गरिँदै आएको भेडापालन चरन अभावले संकटमा पर्दै गएको छ ।

सुनसरीको देवनागञ्ज गाउँपालिकाको साहेवगञ्ज, मध्यहर्षाही, बराहक्षेत्रको प्रकाशपुर, हरिनगर गाउँपालिकाको हरिनगरा लगायतका क्षेत्रमा व्यवसायिक रूपमा गरिँदै आएको भेडापालन चरन अभावले संकटमा पर्दै गएको हो । गाउँमा आवश्यक चरनको अभाव भएपछि भेडा व्यवसाय संकटमा पर्दै गएको भेडापालन गर्ने गडेरी (पाल) समुदायका अगुवा एसएन पालले बताउनुभयो । चरन क्षेत्रमा मानवीय अतिक्रमण बढेको र सबैतिर बाली लगाउन थालेपछि समस्या भएको मध्यहर्षाहीका राममेश्वर पालले बताउनुभयो ।

‘भेडालाई खुल्ला क्षेत्र चाहिन्छ, बढ्दै गएको जनसंख्याका कारण चारैतिर खेतबारी बनेको,’ उहाँले भन्नुभयो, ‘स्थानीयहरुले सडक पेटी, नदीखोला सहित सबै ठाउँमा भेडा चराउन रोक लगाएपछि समस्या बढ्दै गएको छ।’

चरनको अभाव भएपछि भेडापालक कृषक चिन्तित बनेका छन् । यस क्षेत्रमा पहिला पहिला एक जना पाल समुदायका व्यक्तिले एक हजारसम्म भेडा पाल्ने गरेको भएपनि पछिल्लो समय घट्दै गएकाले सयको संख्यामा पुगेको छ । दशक अघिसम्म जिल्लामा १२ हजार बढीको संख्यामा रहेको भेडा अहिले चार हजारको संख्यामा झरेको छ । भेडा ऊन र मासुका लागि पालन गरिन्छ । ऊनबाट कम्मल, वोद्लो र थैलालगायत सामग्री बुनेर यस क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको भएपनि आधुनिकतासगैं बजार माग घटेको र चरण समेत कम भएकाले भेडा पालन संकटमा परेको भेडा पालक महेन्द्र पालले बताउनुभयो ।
उहाँ उत्पादित कपडा स्थानीय बजारसँगै छिमेकी जिल्ला सप्तरी र मोरगं लगायतका सहरबजारहरूमा समेत बिक्री हुने गरेको थियो । ऊनका एउटा कम्मललाई एक हजारदेखि पाँच हजार रुपियाँसम्म बिक्री हुने गरेको छ । तर, पछिल्लो समय ऊनबाट विभिन्न सामग्री बनाउने चलन हराउँदै गएको स्थानीयहरु बताउँछन् । ‘पछिल्लो पुस्तामा भेडापालनप्रति रुची छैन,’ उहाँले भन्नुभयो, ‘गाउँमा भेडा चराउन लाज मान्ने तर विदेशमा त्यही काम गर्छन् ।’ भेडापालक किसानलाई प्रोत्साहित गर्न स्थानीय सरकारले आवश्यक नीति र चरन क्षेत्रको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ । तर यस बारेमा कुनै पालिकाले ध्यान दिएको छैन् ।

सुनसरीमा प्रत्येक वर्ष भेडाको संख्यामा घट्दै गएको छ । चरिचरनको अभाव र मौसमी वातावरणले साथ नदिदा तराईमधेसमा पाइने भेडा सुनसरीमा लोपोन्मुख अवस्थामा पुगेको किसानहरुले बताएका छन् । जिल्लाको दक्षिणवर्ती क्षेत्र हरीनगर र देवानगन्ज गाउँपालिकामा लामो समयदेखि पालन हुदै आएको भेडा केहीवर्ष यता निरन्तर रुपमा घट्दै गएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याकं रहेको छ ।

भेडालाई सिमित चरन क्षेत्रले नहुने भएकाले चराउनका लागि गाउँ बाहिर र कहिलेकाही जिल्ला बाहिर समेत जानुपर्ने भएकाले भेडापालन संकटमा परेको हो । कुनै बेला सुनसरीमा बिसौ हजारको संख्यामा रहेको भेडा यतिबेला चार हजार भन्दा कमको सख्ंयामा झरेको छ । भेडाले मल, कम्बल बनाउने रौ, घिउ समेत दिने भएकाले भेडा पालन साविकमा आकर्षणको केन्द्र रहेकोमा पछिल्लो समय भेडाप्रतिको आकर्षण घट्दै गएको भेडा पाल्दै आएका महेन्द्र पालले बताउनुभयो ।

जिल्लामा खास गरेर गडेरी तथा पाल समूदायका स्थानीयहरुले भेडा पाल्दै आएकोमा उक्त समूदायमा शिक्षाको स्तरमा वृद्धि, चरिचरनको अभाव, रोगव्याधी र बजारको अभाव लगायतका कारणले भेडा पालन लोपोन्मुख अवस्थामा पुगेको अर्का स्थानीय सुदन पालले जानकारी दिनुभयो ।

मङ्गलबार, ०२ भदौ, २०७७, साँझको ०५:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर