अस्पताल र आइसोलेसन भरिएपछि संक्रमित राख्न होटल बुकिङ

सरकारले ध्यान नदिएपछि संस्थानहरुले आफैं होटलमा संक्रमित राख्ने व्यवस्था मिलाएका छन्

विराटनगर । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएपछि विराटनगरमा कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ । दैनिक संक्रमितको संख्या बढिरहेपछि कोरोना संक्रमितहरु राख्ने अस्पताल र आइसोलसन सेन्टर भरिएका छन् । संक्रमितलाई राख्ने व्यवस्थापनको लागि सरकारले ध्यान नदिएपछि सम्भावित संक्रमितहरुको सुरक्षाका लागि सरकारी संस्थानहरुले होटलमा कोठा बुकिङ गर्न थालेका छन् ।

सरकारले व्यवस्था गरेको अस्पताल र आइसोलेसनमा ठाउँ नभएको तथा घरमै बस्दा संक्रमण फैलने जोखिम देखिएपछि विराटनगर स्थित नेपाल आयल निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरणले एकान्तबासका लागि होटल बुक गरेका छन् । निगमको प्रादेशिक कार्यालय विराटनगरले होटल एशियाटिकको १० वटा कोठा बुकिङ्ग गरेको छ ।

भारतबाट इन्धन आयात गर्नुपर्ने भएकोले निगमका कर्मचारी उच्च जोखिममा पर्ने सम्भावनालाई ध्यानमा राखेर निगमले होटलको कोठा बुकिङ्ग गरेको हो । नेपाल विद्युत प्राधिकरणले पनि होटल एशियाटिकको १५ वटा कोठा एकान्तबासका लागि बुकिङ्ग गरेको छ । नेपाल विद्युत प्राधिकरण विराटनगरमा कार्यरत एक जना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको र केही कर्मचारीहरुमा संक्रमण पुष्टि भएको छ ।

विराटनगरलगायत आसपासका जिल्लामा सबै सरकारी अस्पताल र पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँ स्थित अस्पतालमा समेत संक्रमितलाई राख्नसक्ने ठाउँ नभएपछि प्राधिकरणले आफ्ना कर्मचारीहरु राख्नका लागि अग्रिम होटल बुकिङ्ग गरेर राखेको हो । विराटनगरमा तीब्र रुपमा कोरोना संक्रमण फैलिएपछि एकान्तबासका लागि स्थान अभाव भएकोले क्वारेन्टाइन र आइसोलेसनका लागि होटल उपलव्ध गराउन तयार रहेको भन्दै व्यवसायीहरुले सरकारलाई जानकारी गराएका थिए । तर, सरकारले होटलहरुलाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्न चासो दिएको छैन ।

प्रदेश सरकारले होटललाई आइसोलेसनको रुपमा प्रयोग गर्ने सन्दर्भमा नीतिगत निर्णय गरेपनि कार्यान्वयनतर्फ ध्यान दिएको छैन । जसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरु र सरकारी संस्थानहरुले आफ्ना लागि आवश्यक पर्ने आइसोलेसन केन्द्रहरुको प्रबन्ध आफैंले गर्न थालेका हुन् । अस्पतालहरुमा स्थापना भएका आइसोलेसन केन्द्रहरु तथा स्थानीय विराटनगर महानगरपालिकाले विभिन्न तीन स्थानमा सञ्चालन गरेको आइसोलेसन पनि भरिएका छन् ।

सोमबारसम्म विराटनगर महानगरपालिका भित्रका १५० जना संक्रमितहरु स्वेच्छाले घरमै एकान्तबास बसेका छन् भने करिव दुई सय संक्रमितहरु आइसोलेसन अभावमा घरमा बस्न वाध्य छन् । मंगलबार विराटनगरका ९६ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरुका लागि पनि एकान्तबासको प्रवन्ध छैन । मंगलबारसम्म विराटनगरका मात्र ६९१ जना व्यक्ति संक्रमित भइसकेका छन् । त्यसमध्ये ८ जनाको मृत्यु भएको छ भने ९३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रदेश १ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले जनघनत्व बढी भएको झापा, मोरङ र सुनसरीमा स्थानीय र प्रदेश सरकारको समन्वयमा एक–एक वटा होटललाई आइसोलेसनको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । तर, त्यसका लागि सरकारले अहिलेसम्म कुनै छलफल अघि बढाएको छैन । दिनहुँ संक्रमितहरुको संख्या थपिरहेको अवस्थामा सरकारले संक्रमितलाई घरमै छोडेर समुदायमा जोखिम बढाउनुभन्दा होटलहरुलाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्ने तर्फ बढ्नु उचित हुने होटल व्यवसायी महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा इस्टर्न स्टार होटलका संचालक भविसकुमार श्रेष्ठको सुझाब छ ।

प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा एकै पटक १२ जनामा कोरोना संक्रमण पहिचान भएपछि प्रदेश सरकारले हतारमा विराटनगरका तीनवटा होटललाई आग्रह गरेर क्वारेन्टाइनको रुपमा प्रयोग गरेको थियो । होटल स्टर्न स्टार, होटल स्वागतम् र होटल प्यासेफिकका सिमित कोठाहरु क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेका छन् । क्वारेन्टाइनको रुपमा होटल प्रयोग हुँदा ५ महिनादेखि होटलको अरु सबै प्रकारको व्यापार बन्द छ र बाँकी कोठाहरु पनि सरकारले लिएको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पर्यटन समितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले विराटनगरमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको र धेरै संक्रमितहरु घरमै बस्नुपर्ने वाध्यताले संक्रमण थप फैलिने जोखिम कम गर्न होटलहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्नु उपयुक्त हुने बताउनुहुन्छ । ‘हामीले सरकारलाई हाम्रा होटलहरु क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग गर्न आग्रह गरेका छौं,’ संयोजक श्रेष्ठले भन्नुभयो ‘सरकारले एउटा समिति बनाएर छलफल गर्ने हो भने हामी नाफा नलिई सञ्चालन खर्चमै हाम्रा होटलहरु प्रयोग गर्न दिन सकारात्मक छौं ।’

प्रदेश १ मा १ हजार ५०० व्यवस्थित होटलहरु सञ्चालनमा छन् । तीमध्ये सञ्चालकहरु नबस्ने एक हजार बढी होटलहरु जुनसुकै बेला सरकारले प्रयोगमा ल्याउनसक्छ । त्यसका लागि सरकारले पूर्वतयारी स्वरुप छलफल गर्नुपर्ने भएपनि स्थानीय र प्रदेश दुवै तहका सरकारहरुले छलफलको प्रक्रिया अघि नबढाएको होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईले बताउनुभयो । ‘मैले मेरो होटललाई व्यवस्थित आइसोलेसनकै रुपमा प्रयोग गर्न सरकारलाई भनेको छु’ उहाँले भन्नुभयो ‘यदि सरकार तयार भयो भने अक्सिजनसहित आधारभूत वस्तुको प्रवन्ध गरेर एक साताभित्रै होटललाई आइसोलेसनका लागि प्रयोग गर्न योग्य बनाउन तयार छौं ।’ सरकारी कार्यालयहरुले २५ वटा कोठा बुकिङ्ग गरेको र अरु ४० वटा कोठा तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसका कारण गत चैत महिनामा बन्दाबन्दी सुरुभएदेखि बन्द भएको होटल व्यवसाय अहिलेसम्म बन्द छ । साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन खुला गर्ने सरकारले घोषणा गरेपछि त्यसअघि नै विभिन्न स्थानीय तहहरुमा बन्दाबन्दी, निषेधाज्ञा आदि सुरु भएकोले होटलहरु खुल्नै पाएनन् । विराटनगरमा साउन १६ गतेदेखि लकडाउन भएकोले यहाँका प्राय सबै होटलहरु बन्द छन् ।

दैनिक ५०० कोठा प्रयोग गर्न सक्ने अवस्था भएका होटलहरु बन्द हुँदा आर्थिकरुपमा समेत व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । संघका प्रदेश १ का वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार अधिकांश होटलहरु भाडाको घरमा सञ्चालन भएको र चैतदेखि साउनसम्म व्यापार बन्द गरेर ५ महिनाको भाडा तिर्नुपर्दा व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । होटलका कर्मचारी र अन्य जनशक्तिको व्यवस्थापन गर्न नियमित रुपमा हुने खर्च धान्न सक्ने अवस्थामा होटल व्यवसाय नभएको उहाँले बताउनुभयो ।

मङ्गलबार, ०२ भदौ, २०७७, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर