विराटनगर । विराटनगर स्थित नेपाल आयल निगमले पछिल्लो एक वर्षमा डिपो सुधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । दशौं वर्षदेखि समस्याको रुपमा रहेको डिपोको ’टेम्प्रेचर लस’ को अवस्थामा एक वर्षको अवधिमा व्यापक सुधार आएको छ ।
पेट्रोलियम पदार्थको कारोवारमा प्राविधिक रुपमा हुने नोक्सानीलाई स्वभाविक रुपमा लिने गरिएको भएपनि विगतमा अधिक लसको अवस्था रहने गरेको थियो । यस पटक विराटनगर स्थित नेपाल आयल निगमको डिपोमा लक्ष्यको तुलनामा न्यून मात्र नोक्सानी भएको छ ।
डिजलमा ०.३२ प्रतिशतभन्दा बढी लस जान नहुने भनि लक्ष्य निर्धारण गरिएको थियो । विराटगनर डिपोले लक्ष्य भन्दा निकै कम ०.१ प्रतिशतमा लस सीमित गरेको निगमका प्रदेश १ प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले जानकारी दिनुभयो । यस्तै पेट्रोलमा ०.५७ प्रतिशतको सीमा दिइएकोमा ०.२ प्रतिशत लसको अवस्थामा डिपोलाई राखेर निगमको वर्तमान टिमले आफ्नो प्राविधिक र व्यवस्थापकीय क्षमता प्रस्तुत गरेको छ । मटितेलको कारोबार न्यून भएपनि विगतमा लस देखिने गरेको थियो । मटितेलमा ०.३२ प्रतिशतसम्म लस सीमित गर्ने लक्ष्य दिइएकोमा यो वर्ष मटितेलमा लस भएको छैन । ‘डिजेलको लसलाई ०.१, पेट्रोलको ०.२ र मटितेलको लक्ष्य ०.०० प्रतिशतमा सीमित राख्न हामी सफल भएका छौं,’ प्रमुख साहले भन्नुभयो ‘सबै कर्मचारी र प्राविधिक टिमको सहयोगमा लस न्यून गर्न हामी सफल भएका छौं ।’
आार्थिक वर्ष २०७५÷७६ मा निगमको विराटनगर स्थित डिपोमा डिजल, र पेट्रोलको लस लक्ष्य भन्दा बढी थियो । यस पटक भने तापक्रमका कारण हुने नोक्सानीलाई न्यून गर्न कार्यालय सफल देखिएको छ । इन्जिनियरीङ क्षेत्रका अनुभवी कार्यालय प्रमुख भएको र सुधारका लागि नियमित काममा खटिरहने कार्यशैलीका कारण निगमको नोक्सानी कम गर्ने सफलता मिलेको कर्मचारीहरुले बताएका छन् । विराटनगर डिपोमा बस्ने थोरै कार्यालय प्रमुखहरुले मात्र यस्तो सफलता प्राप्त गर्ने गरेको निगमका पूर्व कर्मचारी राजन ढुंगेलले बताउनुभएको छ । सुधार गर्नुपर्छ भन्ने इच्छाशक्ति, प्राविधिक सीप, र सबैलाई मिलाएर परिचालन गर्ने व्यवस्थापकीय क्षमताका कारण निगमको विराटनगर स्थित कार्यालयमा राम्रो सुधार देखिएको उहाँले बताउनुभयो ।
नियमित रुपमा क्यालिब्रेसन जाँच गर्ने, अन्य प्राविधिक जाँच र सुधार, निगरानी र अनुगमन आदिलाई व्यवस्थित गर्दा नोक्सानी न्यूनीकरण भएको प्रमुख साहको अनुभव छ । ‘हामी सबैको मिहेनत र निरन्तर परीक्षण र अनुगमनको माध्यमबाट यो सुधार प्राप्त भएको हो,’ साहले भन्नुभयो ।
पेट्रोलीयम पदार्थमा हुने नोक्सानी तर्फ मात्र नभई निगमको भौतिक पूर्वाधार तर्फपनि व्यापक सुधार भएको छ । केही समय अघिसम्म कञ्चनबारीदेखि झण्डै दुई किलोमिटर उत्तरसम्म कोशी राजमार्गको दुवै साइडमा पेट्रोलियम ट्याङ्करको लाइन लाग्ने गरेकोमा अहिले त्यो अवस्था छैन । अहिले सडकमा ट्यांकरहरु पार्किङ गरिदैन । निगमले दुई ठाउँमा ट्यांकर पार्किङ स्थलको प्रवन्ध गरेपछि उक्त समस्या समाधान भयो । यसबाट दुर्घटना लगायतका समस्या समाधानमा पनि सहयोग पुगेको छ ।
यस्तै निगममा सेवाग्राही तथा ढुवानी कम्पनीका कर्मचारीहरुका लागि बस्ने चौतारादेखि अफिसमा व्यवस्थित बेठक कक्ष, प्रतिक्षालय आदि निर्माण गरिएको छ । कार्यालयको बाहिरी भागको सफाई र सौन्दर्यता निर्माण गरेर सुधार गरिएको छ । डिपोको सफाईदेखि भर्टिकल ट्यांकहरुको सुरक्षामा पनि उल्लेख्य काम भएको छ । निर्माण, मर्मत सम्भार र नयाँ व्यवस्थापनका कामहरुले एक वर्ष अघि र पछिको डिपोको स्वरुप नै बदलिएको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
निगममा पछिल्लो एक वर्षमा तीन वर्षमा नभएको सुधारका कामहरु भएको बताइएको छ । निगमबाट इन्धन खरिद गरेर लैजाने डिलरहरुले पनि लामो समयपछि मात्र सुधार देखेको प्रतिकृया दिएका छन् । डिलरहरुमा देखिने लसको समस्या पछिल्लो एक वर्षमा नदेखिएको उनीहरुले बताएका छन् ।यस अवधिमा बजारमा कहिल्यै पनि अभावको अवस्था उत्पन्न भएन भने मागका आधारमा इन्धन आपुर्ति हुँदा अधिकृत बिक्रेताहरु पनि असन्तुष्ट देखिएनन् ।
अघिल्लो वर्ष साउनमा सरुवा भई विराटनगर डिपोको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका साह एक वर्षमा निगमको पूर्वाधार र प्राविधिक दुवै तर्फ व्यापक सुधार गरेर काठमाण्डौ फर्कने अन्तिम तयारीमा हुनुभएको छ । केही दिन अघि उहाँको सरुवा भएको छ । अब साहले निगमको केन्द्रीय कार्यालयको इन्जिनियरिङ्ग विभागको नेतृत्व सम्हाल्नुहुने छ । उहाँले एक वर्षमा गरेको कामबाट आफु सन्तुष्ट भएको प्रतिकृया दिनुभएको छ । विराटनगरकै बासिन्दा नकुल भण्डारी नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आउनुभएको बताइएको छ ।