संक्रमितको शव परिवारलाई दिनु गम्भीर लापरबाही

कोरोना भाइरस (कोभिड–१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर सरकारले जारी गरेको कार्यविधि विपरीत १ सयको हाराहारीमा मलामी लगेर शव व्यवस्थापन गरियो

विराटनगर । विराटनगर महानगरपालिका–१० का ६३ वर्षीया रमेश अग्रवालको मृत्यु कोरोनाबाटै भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आइतबार (आज) सार्वजनिक गरेको तथ्यांकमा कोरोना संक्रमणकै कारण अग्रवालको मृत्यु भएको पुष्टि गरेको हो । तर, मन्त्रालयले पुष्टि गरेपनि उक्त शव परिवारलाई किन बुझाइयो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।

मिर्गौला रोगी रहेका अग्रवालको शनिबार सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । उनले गत बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा गएर कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब दिए ।

रिपोर्ट नआउँदै उनी गम्भीर बिरामी परे । आफन्तले शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान पुर्‍याएर त्यहाँ पनि उनको स्वाब संकलन गरियो । त्यसै क्रममा उनको मृत्यु भयो । तर, दुई ठाउँमा दिएको स्वाबको रिपोर्ट अलग–अलग आयो ।

कोशी अस्पतालको रिपोर्टमा कोरोना पोजेटिभ आयो भने विपी प्रतिष्ठान धरानले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर पठाएको स्वाब परीक्षण गर्दा नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएपछि अस्पताल प्रशासनले अग्रवालको शव आफन्तको जिम्मा लगायो । प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपनि परिवारले नै उनको अन्तिम संस्कार गरेका थिए ।

आज मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ उल्लेख छ । त्यसमा २४ गते मृत्यु भएकाको विवरण समावेश गरिएको छ । यसअघि फरक–फरक रिपोर्ट आएको र परिवारले अन्तिम संस्कार गरेका व्यक्तिको मृत्यु कोरोनाबाटै भएको पुष्टि कसरी भयो भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले त्यसको जानकारी प्रदेश प्रयोगशालाले दिने बताउनुभयो । प्रयोगशालाले दिएको रिपोर्टको आधारमा मन्त्रालयले डाटा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भने पहिले लिएको रिपोर्ट नै सहि हुने भएकोले उनको मृत्यु कोरोनाबाटै भएको बताउनुभयो । पछिल्लो पटक स्वाब संकलनमा त्रुटी भएको कारण नेगेटिभ आएको हुनसक्ने भन्दै उहाँले पहिले लिएको स्वाबको रिपोर्टलाई नै प्रयोगशालाले मान्यता दिने स्पष्ट पार्नुभएको छ ।

कोरोनाबाटै मृत्यु भएको पुष्टि हुने अवस्थामा शव परिवारलाई जिम्मा किन दिइयो भन्ने प्रश्नमा भने यादवले त्यो सम्बन्धित निकायले जवाफ दिनुपर्ने विषय भएको बताउनुभएको छ । प्रदेश प्रयोगशालमा भएको पोर्टेवल पीसीआर मेसिनले दिएको रिपोर्टलाई प्रयोगशालाले मान्यता नदिएको हो । यसअघि कोशीमा मृत्यु भएका चार जनाको रिपोर्ट भने सोही प्रयोगशालाबाट लिइएको थियो ।

मृतक अग्रवालको फरक–फरक रिपोर्ट आएपछि केही समय अन्त्येष्टि र शव बुझ्ने क्रममा विवाद भएपनि विराटनगर महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्त्येष्टि गर्न दिएको जनाएको छ । महानगरले आफन्तको पीसीआर जाँच गर्ने जनाएको छ ।

‘अग्रवालको मृत्युपछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको कुरा के हो भन्दा, पछिल्लो रिपोर्ट नेगेटिभ आयो भनेको कारण परिवारलाई संस्कार अनुसार व्यवस्थापन गर्नु भनेर हामीले शव बुझाएका हौं,’ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भन्नुभयो, ‘अब कोरोनाबाटै मृत्यु भएको तथ्यांक सार्वजनिक गर्छ प्रदेश सरकारले भने यो विषय उतैतिर सोध्नु ।’

सरकारले कोरोना भाइरस (कोभिड–१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाएको हो।

तर, अग्रवालको शव व्यवस्थापनमा कार्यविधिमा उल्लेखित नियम कुनै पालना भएन । ‘मृतकको शवलाई सबैले माला लगाएको, फूल अविर लगाइसकेका रहेछन्,’ प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो, ‘त्यसपछि हामीले ५ दिनपछि सबैको स्वाब टेष्ट गर्ने र थोरै मलामीहरु जाने शर्तमा शब दिएका हौं ।’

मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन। सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ।

कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने छ। कार्यविधिमा ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने उल्लेख छ।

यस्तै कार्यविधिमा अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।

‘यो घटनाले प्रदेश सरकार तथा स्थानीय सरकारहरुले सचेतता अपनाएको देखिएन,’ विराटनगर १० का स्थानीय उत्तम ढुंगेलले भन्नुभयो, ‘रिपोर्ट नै कन्फ्युजन हुने गरी आइसकेपछि शवको व्यवस्थापन पनि सोही अनुसार सचेत हुनुपर्दथ्यो ।’ ढुंगेलले एक ठाउँमा चेक गरिसकेपछि अर्को ठाउँमा लगेर पुनः चेक गराउन आवश्यक नभएको बताउनु भयो । ढुंगेलले भन्नुभयो, ‘शव व्यवस्थापनमा १ सय जनाभन्दा बढी मलामी गए, अहिले पनि आफन्तहरु आउने भीडभाड हुने क्रम जारी छ यस्तो क्रियाकलाप बन्द भएन भने अरु संक्रमण फैलन सक्ने देखिन्छ, सरकार सचेत होस् ।’

आइतबार, २५ साउन, २०७७, साँझको ०६:५४ बजे

प्रतिक्रिया

  1. Pcr machine problem पनि हुनसक्छ र प्रयाेग कर्ता प्राविधिकमा पुरा ज्ञान नहुनालेे पनि रिपाेट फरक परेकाे हुनसक्छ । यसकाे जिम्मेवार काे लिने ?

प्रतिक्रिया:

सम्बन्धित खवर