विराटनगर । कोरोना नियन्त्रणको लागि संघीय सरकारले बनाएको कार्यबिधिमा क्वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ भने आइसोलेसनको जिम्मा प्रदेश सरकारको छ । तर, प्रदेश १ मा संक्रमितको संख्या बढ्दै जाँदा प्रदेश सरकारले आइसोलेसन व्यवस्था गर्न नसकेपछि स्थानीय तहहरु आफैं सक्रिय भएका छन् ।
प्रदेश सरकारले जेठ १९ गतेको सीसीएमसी बैठकबाट ८५० बेड आइसोलेशन बनाउने निर्णय गरेको भएपनि कार्यान्वयन नहुँदा कोरोना संक्रमण पुष्टि भएकाहरु घरमै बस्न बाध्य छन् ।
शनिबारसम्म संक्रमण पुष्टि भएका १६९ जना संक्रमितहरु आइसोलसनमा भर्ना नहुँदा घर, परिवार र समुदाय नै त्रसित बनिरहेको छ । अर्कोतिर अस्पतालको आइसोलेशनमा नप्ुग्दा संक्रमितहरु गम्भीर विरामी परेरमा उपचारबाट बञ्चित हुने अवस्था बनेको छ । कोरोना पुष्टि भएपछि कतिपय संक्रमित त घरसमेत छिर्न नपाएको अवस्था छ ।
यो जटिल अवस्थालाई हल गर्न प्रदेश सरकारले ठोस कदम चाल्न नसकिहरको बेला स्थानीय तहहरुले प्रयास थालेका छन् । विराटनगर महानगरपालिकामा ६० भन्दा धेरै संक्रमितहरु अस्पताल भर्ना हुन नपाएपछि महानगरपालिकाले विराटनगर १९ स्थित बैजनाथपुरमा आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसअघि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको हेल्थपोष्ट भवनलाई २० सैय्याको आइसोलेशन सेन्टर बनाई शनिबारबाट संक्रमित राख्न थालिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
आइसोलेसन व्यवस्था गर्नुपर्ने जिम्मेवारी प्रदेश सरकारको भएपनि महानगरका संक्रमित सडकमै रहने अवस्था आएपछि महानगरले क्वारेन्टाइनलाई आइसोलेसन सेन्टर बनाएर राख्न थालेको मेयर पराजुलीले बताउनुभयो । ‘संक्रमितलाई राख्ने आइसोलेसनको जिम्मा प्रदेश सरकारको भएपनि प्रदेश सरकार रमिते बन्यो’ मेयर पराजुलीले भन्नुभयो, ‘प्रदेश सरकारले सक्दिन भनेर कि हात उठाउनुपरो, हामी आफ्ना नागरिकको व्यवस्थापन गर्छौ, हैन भने काम गर्नुपरो ।’
आइतबार प्रदेश सीसीएमसीको बैठक बस्दैछ । बैठकले संक्रमितको व्यवस्थापन गर्ने ठोस निर्णय नगरे महानगरले आफैं संक्रमितलाई व्यवस्थापन गर्ने पराजुलीले बताउनुभयो । बैजनाथपुरमा लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।
उता मोरङकै रंगेली नगरपालिकाले पनि आफ्ना नगरका संक्रमितको व्यवस्थापनका लागि यसअघि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको जनता क्याम्पसलाई नै आईसोलेशन बनाएको छ । संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका संक्रमितलाई समाजबाट आईसोलेट गर्न क्याम्पसलाई सय बेडको आईसोलेशन सेन्टर बनाइएको नगर प्रमुख दिलिप बगडियाले जानकारी दिनुभयोे ।
प्रदेश सरकारले सञ्चालन गरेको कोशी, वीपी र पीयू गोठगाउँको उपचार केन्द्र तथा आईसोलेशन अस्पताल भरिएको र थप आइसोलेसन बनाउन प्रदेश सरकारले ध्यान नदिएको भन्दै नगरपालिकाले आफैं आइसोलेसन बनाएको हो । रंगेलीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने बजार क्षेत्रमा पर्ने वडा नं.–७ का मात्रै ३८ संक्रमित छन् । संक्रमित बढ्दै गएपछि तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको बगडियाको भनाइ छ ।
क्याम्पसमा सञ्चालित आईसोलेशनमा अहिले ६ महिलासहित २८ संक्रमितको व्यवस्था गरिएको छ । अस्पतालमा अक्सिजन सिलिण्डर, संक्रमितको लागि व्यक्तिगत सरसफाईमा प्रयोग गरिने सामाग्री, शौचालय तथा पानी व्यवस्थापन गरिएको छ । स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्टको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।
रंगेली नगरपालिकामा हालसम्म ५२ संक्रमित पुगेका छन् । संक्रमितहरुमध्ये सुरुका २२ जना प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड उपचार केन्द्रमा भर्ना गरिएका थिए । अहिले पछिल्लो समय लक्षण नदेखिएका संक्रमितलाई नगरपालिकाले सञ्चालनमा ल्याएको आईसोलेशनमा राख्ने प्रवन्ध मिलाइएको हो ।क्याम्पसको आईसोलेशन अस्पतालमा बस्नेहरुका लागि तीन पटक चीया र बिस्कुट, बिहान र बेलुका खाना र दुईवटा फलफुल (स्याउ) उपलब्ध गराउने गरिएको छ ।
प्रदेश सरकारले गत चैत १३ गते नै ८ सय शैय्याको आइसोलेसन विभिन्न अस्पतालमा बन्ने जानकारी दिएको थियो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले नोवेल अस्पतालमा २००, विराट अस्पतालमा १००, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २००, कोसी अस्पतालमा १००, मेची अस्पतालमा ५० र बिएण्डसी अस्पतालमा १५० शैय्या आइसोलेसन बन्ने जानकारी दिनुभएको थियो । तर, निजी अस्पतालहरुले आइसोलेसन बनाएनन् ।
निजी अस्पतालले सरकारले दिएको निर्देशन नमानेपछि जेठ ९ गते प्रदेशस्तरीय सीसीएमसीको बैठकले ८५० शैय्या आइसोलेसन थप गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बसेको बैठकले झापामा २०० शैय्या, गोठगाउँमा २०० शैय्या, बीपीमा ३ सय शैय्या, चतरा स्थित कृष्णदास आश्रममा २०० शैय्या र नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा ५० शैय्याको आइसोलेसन तयार गर्ने निर्णय भएको थियो । तर, निर्णय कागजमै सीमित छ ।
अहिले कोसी कोभिड १९ अस्पताल विराटनगरमा ६० शैय्या, कोसी अस्पतालमा १० शैय्या, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०० शैय्या, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ शैय्या र मेची अस्पताल झापामा २५ शैय्याको आइसोलेसन मात्र सञ्चालनमा छन् । त्यसबाहेक जिल्ला अस्पतालहरुमा सानो संख्याम आइसोलेसन निर्माण भएका छन् ।
प्रदेशमा शनिबारसम्म १३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ । प्रदेशमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको बेला मुख्यमन्त्रीसहितका मन्त्रीहरु काठमाडौंमा रहेकोले थप काम अगाडि बढेको छैन । शनिबार मुख्यमन्त्री विराटनगर आइपुगेको र आइतबार सीसीएमसीको बैठक राखिएकोले बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।