सुदीप कोइराला
करिब ८ महिनाअघि चिनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण यतिबेला विश्वभर फैलिसकेको छ । जतिधेरै कोरोना भाइरसको संक्रमण फैलिदै छ, त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि उसैगरि बढ्दो छ । पूर्व सावधानी अपनाउँदा नेपाल कोरोना नियन्त्रणउन्मुख रहेको आंकलन गरिएको थियो । अन्य देशको भन्दा नेपालमा यसको प्रभाव न्यून पर्ने अनुमान धेरैको थियो । यद्यपी स्वास्थ्यविदहरुले भने कोरोना भाइरसको संक्रमण नियन्त्रणबाहिर जान सक्ने चेतावनी भने दिँदै आएका थिए । कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन नै ११ चैतदेखि पटक पटक गर्दै सरकारले १ सय २० दिन मुलुकलाई बन्दाबन्दी (लकडाउन) ग¥यो । निरन्तरको लकडाउनले मुलुकको अर्थतन्त्र सँगै जनताकै गाँसबाँस कै समस्या आउने तथ्यलाई आत्मसाथ गर्दै लकडाउन खुकुलो पार्ने निति लिइयो ।
लकडाउन खुकुलो बनाउँदै गर्दा सरकारले आम नागरिकहरुलाई आफ्नो बानी व्यवहारलाई परिवर्तन गर्न आग्रह मात्र गरेन न्यूनतम शर्त समेत पालना गर्न सुझाव दियो । सँगै चिकित्सकहरुले पनि आ–आफ्नो तवरबाट औषधि पत्ता लागिनसकेकोले यस रोगबाट बच्न आफ्नो बानीब्यवहारमा परिवर्तन गर्न सुझाव दिइरहे ।
लकडाउन खुकुलो भएपछि एकातिर मानिसहरुको जनजीवन आर्थिक हिसावले सामान्य बन्दै गएको थियो भने अर्को तर्फ संक्रमणबाट बच्ने न्यूनतम शर्त समेत पालना सवैले नगरिदिँदा संक्रमण पुनः फैलदै गएको छ । कोरोनाको संक्रमण अब समुदायस्तरमै फैलिसक्यो भन्ने निष्कर्षमा सवै पुग्ने बेला भइसकेको छ । यहि तथ्यलाई आत्मसाथ गर्दै विराटनगर महानगरपालिकालगायत देशका विभिन्न स्थानीय तहले पुनः लकडाउन, शिल र निषेधाज्ञा लगाउन थालेका छन् । यद्यपी कोरोनाबाट बच्न अवलम्बन गर्ने न्यूनतम शर्त ( अनिवार्य मास्क लगाउने, समय– समयमा साबुनपानीले हात धोइरहने, भिडभाड हुने स्थानमा नजाने ) समेत हामीले पालना गर्न सकेका छैनौं । रोगले कुनै वर्ग वा समुदाय भनेर विभेद गर्दैन ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने सचेतनाको विषयमा यतिबेला हरेक नेपाली यतिधेरै विज्ञ भइसकेका छन् कि चियापसलमा भेला भएकाहरुले दिएको अर्ति सुन्यो भने नजिकै रहेको चिकित्सक पनि मख्ख पर्नसक्छ । मदिराको चुस्कि लगाउँदै दिएको अर्ति सुन्यो भने त उ नै कोरोनाविद नै हो कि जस्तो आभाष हुन्छ ।
कोरोना संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । लकडाउन र खुल्ला सीमा वारपार नियन्त्रणमा खटिएका सुरक्षाकर्मी नै संक्रमित हुन पुगेका छन् । सरकारका मन्त्रीहरुलाई नै संक्रमणले छोइसकेको छ । अवस्था यसरी विग्रदै छ कि हरेक नेपालीले कोरोनाविरुद्धको लडाईमा साथ नदिने हो भने स्थिती भयावह नहोला भन्न सकिन्न ।
तर व्यवहारमा हेर्ने हो भने व्यापार गर्नेहरुलाई व्यापारकै चिन्ता छ, उपभोक्तालाई लकडाउन राज्यकै लागि मात्र हो कि भन्ने छ । सुरक्षाकर्मीको आँखा छल्न पाए लकडाउनको के अर्थ र ? त्यसैले भित्र भित्रै सवैप्रकारका व्यवसाय सञ्चालन भइरहेका छन् । व्यवसाय चल्नु र उपभोक्ताको उपस्थिति हुनु आर्थीक दृष्टिले हितकर नै होला । तर कतै संक्रमण फैलदै जाँदा क्वारेन्टीन र आइसोलेसन नपाउने मात्र होइन कोरोनाको कारण मृत्युवरण गर्नेहरुको शव व्यवस्थापन गर्न पनि समस्या त आउने हैन ? संसारका विकसित मुलुकहरुलाई त कोरोनाको महामारीसँग जुध्न मुस्किल भइरहेको छ । हाम्रो नेपालमा त यस्ता महामारीसँग जुध्ने पर्याप्त पूर्व तयारी पनि छैन । आजको भोली सवै तयारी गर्ने सम्भावना पनि छैन ।
त्यसैले गम्भिरता पूर्वक सवैले सोच्न आवश्यक छ । अहिलेसम्म संक्रमण छैन, अव हुदैन भन्ने मानसिकताले लापरवाहि नगरौं । कोरोना नियन्त्रणमा सरकारको अभियानलाई साथ दिऔं । विना काम घरबाट बाहिर ननिस्कौं । निस्कदा पनि अनिवार्य मास्क लगाऔं । भिडभाड बाट परै बसौं ।
आफु पनि बचौं, अरुलाई पनि बचाऔं ।