प्रदेश १ : कोरोनाको उपचार क्षमता विस्तार हुनुपर्नेमा जोड

कोरोना विशेष अस्पतालहरुमा शैय्या अभाव

आईसोलेसन बेड र दक्ष जनशक्तिको समेत अभाव देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । कोरोना भाईरसको उच्च जोखिममा रहेको प्रदेश नं. १ मा संक्रमितहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गईरहेको छ । पछिल्लो समय समुदायस्तरमा संक्रमितहरुको संख्या बृद्धि हुँदै गएपछि कोरोना विशेष अस्पतालहरुमा उपचार शैय्याको अभाव हुन थालेको छ ।

हाल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ५७, कोभिड–१९ आइसोलेशन अस्पताल गोठगाउँमा १ सय ८, बि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३७, कोभिड–१९ आइसोलेशन केन्द्र चौदण्डिगढीमा ७, जिल्ला अस्पताल अस्थाई उपचार केन्द्र खोटाङमा १ र ताप्लेजुङका अस्थाई केन्द्रहरुमा ४ जना कोरोना संक्रमितहरु उपचाररत छन् । प्रदेश सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाएसँगै प्रदेश नं. १ मा लक्षणसहितको बिरामी बढ्न थालेपछि उनीहरुलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुँदा तत्कालै अस्पतालहरुको क्षमता बृद्धि गर्नु आवश्यक रहेको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रका संयोजक डा.दिपक सिग्देलले बताउनुभयो ।

यसअघि संक्रमितमा कुनै किसिमको लक्षण नदेखिएको र स्वास्थ्यमा पनि खासै कुनै समस्या नदेखिएकाले आईसोलेसनमा राखेर उपचार गर्नुपर्नेे आवश्यकता महशुस भएको थिएन । तर, पछिल्लो समय बिरामीहरुमा लक्षणसमेत देखा पर्न थालेको र अन्य समस्याहरु पनि देखिएकाले उनीहरुलाई आईसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, हाल कोरोना विशेष अस्पतालहरुमा आईसोलेसन बेड र दक्ष जनशक्तिको समेत अभाव देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्ने डा.सिग्देलको भनाई छ ।

प्रदेश नं. १ सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ६०, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय, कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँमा १ सय २५ र कोभिड–१९ आइसोलेशन केन्द्र चौदण्डिगढीमा २० गरि कुल ३ सय ५ शैय्याको आईसोलेसन उपचार केन्द्रहरुको व्यवस्थापन गरेको छ । यद्यपी कोरोना संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएको विषयलाई ध्यानमा राख्दै प्रदेश सरकारले परिस्थिति विश्लेषणको आधारमा अस्पतालमा शैय्या बिस्तार गर्नेदेखि परीक्षणको क्षमता बृृद्धि गर्नेसम्मको तयारी गरिरहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो ।

शैय्या बिस्तार गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर प्रदेश सरकारले विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रको पछाडिको खाली भवनमा थप २ सय क्षमताको आईसोलेसन बेड व्यवस्थापन गर्ने योजना बनाएको जानकारी दिनुभयो । प्रदेश सरकारले आवश्यकता अनुसार प्रदेशका विभिन्न जिल्लाहरुमा उपयुक्त ठाउँ हेरेर थप आईसियु र भेन्टिलेटरसहितको आईसोलेसन बिस्तार गर्ने पक्षमा विशेष जोड दिएको छ ।

विराटनगर महानगरपालिकाको तयारी

पछिल्लो समय समुदायस्तरमा समेत कोरोना पुष्टि हुन थालेसँगै विराटनगर महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उच्च ओहोदाका व्यक्तिसमेत संक्रमित हुँदै गएपछि महानगरले परीक्षणको दायरा फराकिलो बनाएको हो ।

विस्तारै महामारीको रुप लिँदै गएको कोरोनाको प्रकोपबाट आम नागरिकलाई सुरक्षित राख्न महानगरले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, साना तथा ठूला व्यापारी, उद्योगपति, सिटी तथा रिक्सा चालक, श्रमिक तथा मजदुर र आम जनसमुदायबाट स्वाबको नमुना संकलन गरि परीक्षण थालेको छ । विराटनगर महानगरपालिकाले हाल दैनिक २ सय जनाभन्दा मुनिको पिसिआर परीक्षण गरिरहेको छ ।

महानगरपालिकासँग दैनिक ५ सय जनाको पिसिआर परीक्षण गर्ने क्षमता छ । तर, पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि प्रदेशभरीबाट परीक्षणका लागि स्वाब संकलन हुने क्रम बढेसँगै एकैदिनमा धेरै परिक्षण गर्नुपर्ने भएकाले महानगरको परीक्षणमा कमी आएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

महानगरले आईतबार १ सय ५२ र सोमबार १ सय ७६ जनाको स्वाबको नमुना संकलन गरि परिक्षण गरेको छ । ‘कोशी र बिपीको प्रयोगशालाले प्रदेशभरिबाट संकलन भई आएका स्वाबको नमुना परीक्षण गर्नुपर्ने हुँदा उतैबाट स्वाबको नमुना कम पठाउनु भन्ने जानकारी आएको छ ।’ त्यस्तै समुदायस्तरमा कोरोना पुष्टि हुने क्रम उच्च भएसँगै परिस्थिति विश्लेषणको आधारमा महानगरले गत शुक्रबार मध्यरातदेखि आगामी साउन ३० गतेसम्मका लागि विराटनगर महानगरपालिकाभित्र लकडाउन जारी गरेको छ ।

लकडाउन घोषणा गर्दैगर्दा महानगरले लकडाउन अवधिभरि कुनैपनि लक्षण नदेखिएका ८५ प्रतिशत आम नागरिकहरु घरमै बस्ने अनुमान गरेको थियो । बाँकी लक्षण देखिएका १० प्रतिशत नागरिकहरुको कोरोना परीक्षण गर्ने र कोरोना पुष्टि हुँदै जाने बाँकी ५ प्रतिशतको उपचार प्रक्रिया अघि बढाउने महानगरको योजना थियो । तर, लकडाउन कार्यान्वयन गराउन प्रदेश सरकार, सुरक्षा निकाय र सरोकारवालाहरुको सक्रियता शून्य हुँदा महानगरको यो योजना पनि  फेरिएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ । फितलो बजार अनुगमन र निर्बल कारबाही क्षमता र गैह्रजिम्मेवार नागरिकका कारण विराटनगरको लकडाउन ‘लुजडाउन’ मा परिवर्तन भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको गुनासो छ ।

गत साउन ७ गते विराटनगरस्थित विराट नर्सिङ होमका सञ्चालकसमेत रहेका एक जना चिकित्सक र १ नं. प्रदेश प्रहरी कार्यालमा कार्यरत १ जना प्रहरी अधिकृतमा समेत कोरोना पुष्टि भईसकेको छ । त्यसपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परिक्षण गर्दै जाँदा क्रमशः गत साउन ८, ११, १२ र १३ गते ४ जना प्रहरी, १९ जना प्रहरी, १ जना डाक्टर तथा ४ जना नर्स र १ चिकित्सकसहित ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसरी कोरोना महामारीविरुद्धको अग्रपङ्क्तिमा खटिनेहरु नै संक्रमित हुन थालेपछि प्रदेश सरकारले कोरोना भाईरस समुदायस्तरमा फैलिएको निष्कर्ष निकालेको हो । समुदायस्तरमा समेत कोरोना परिक्षण थालिएसँगै सोमबारसम्म प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २२ पुगेको छ ।

मङ्गलबार, २० साउन, २०७७, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर