डा. गणेश क्षेत्री
जि. डब्ल्यू एफ हेगल (सन् १७७०–१८३१) जर्मनीका प्रसिद्ध दार्शनिकका रुपमा लेखेको कृति ‘सत्य दर्शन’ (फिलोसफि अफ राईट) मा सम्पूर्ण मानव इतिहास नै प्रतिष्ठाको इतिहास हो भनेर लेखेका छन् । तर हेगलले लेख्नुभन्दा कैयन वर्ष अगाडी नै ग्रीक भाषामा प्रचलित ‘थाईमिया’ शब्दले मानिसको मर्यादा र प्रतिष्ठा खोज्नका निमित्त गरिने अन्तरात्मा को पुकार भन्ने अर्थ दिने गर्दथ्यो भने ग्रीक भाषाकै अर्को शब्द ‘थाईसोमिया’ले ‘अरुहरुलाई जस्तै मलाई पनि मर्यादा मिलोस् वा सम्मान होस्’ भन्ने अर्थ बुझाउने गरेको पाइन्छ । यसरी मर्यादा र प्रतिष्ठाको चाहना इतिहासको सवै कालखण्डमा एकनाशसित देखापर्दै आएको समग्र मानिसहरुमा पाइने मनोनैतिक चाहाना वा लिप्सा देखा पर्दछ । माक्र्सले पनि आफ्नो कृति ‘क्यापिटल’ मा श्रमिकहरुले गरेको उत्पादनहरुको स्वरुप र गुणहरुको मनोगत द्धन्दहरुको अन्तर्यमा श्रमिकहरुको मर्यादा अन्तरनिहित हुने लेखेका छन् ।
यसैगरी विश्व इतिहासमा भएका अनेकथरी अधिकारहरुको प्राप्तीका उद्देश्य बोकेका विद्रोहहरु र आन्दोलनहरुको एउटा विशेष महानको उद्देश्य वा अन्तर्य भनेको ‘मान्छे’ को मर्यादा र प्रतिष्ठा नै हुने गरेको पाइन्छ । चाहे त्यस्ता आन्दोलन र विद्रोहहरुको नारी मुक्तिका हुन्, वा श्रमिक वा विद्यार्थी वा मानवअधिकार सित जोडिएका छन् तथा आर्थीक, सामाजिक एव् राजनीतिक संघसंस्था बाट सञ्चालित हुन पुगेका हुन् । जुनसुकै शासन, तन्त्र, प्रणाली र व्यवस्था भएपनि अथवा जस्तो सुकै अधिनायकवाद, लोकतन्त्र र गणतन्त्र शासन प्रणाली भएपनि, शासित हुने प्रजाहरु, जनताहरु, नागरिकहरु आफ्नो मर्यादा एवम् प्रतिष्ठा अरुसरह समान रुपमा स्थापित होस् तथा गरियोस् भन्ने आत्मिक चाहना गर्दछन् । यस्तो चाहना राख्ने नागरिक, प्रजा वा जनताले आफ्नो आफ्नो प्रतिष्ठा, संवैधानिक एवम् कानूनी दस्तावेजहरुमा लिखितरुपमा मात्र नखोजेर आफ्नो बसोबास भएको देश वा मुलुकको माकुरेजालो झै फिँजिएको मानिसहरुबीचको परस्पर र आपस्तको सम्बन्ध जसलाई समाज भन्ने गरिन्छ । त्यस्तो समाजमा व्यवहारिक रुपमा, स्थापित रुपमा देख्न, भेट्न र भोग्न चाहन्छ । यस्तो अवस्था सृजना हुन नसक्दा नै मर्यादा र प्रतिष्ठाको प्रश्नमा मुलुकबासीहरु विच विभेद र असमानताका अजंगका खाडलहरु देखा पर्ने गर्दछन् । यसैगरि देखापर्ने विभेदका अजंगका खाडलहरुले गर्दा समाजमा मर्यादा र प्रतिष्ठा नपाउनेहरु तिरस्कृत, बहिस्कृत, अपहेलित, दमित वा दलित वर्ण, रंग, जातजाती वा समुदायका मानिसहरुको एउटा कित्ता वा टप्का देखा प¥यो भने अर्को तिर मर्यादित, प्रतिष्ठित, मान्यजन, सम्मानीय भनाउँदा गुरु, पुरोहित, पादरी, राजा,रजौटा, सम्राट , विराट, सामन्त, जमिन्दार, भारदार जस्ता सत्ता शक्ति सम्पत्ति आदिमा कब्जा र पहुँच भएकाहरुको अर्को कित्ता देखा प¥यो ।
बगाल र बथान युगताकादेखि जमिन्दार, सामन्त, रजौटा र सम्राटहरु एवम् समाजवादी तथा उपनिवेशवादी शक्तिहरुबाट सञ्चालित दमनचक्रबाट दाश युगको प्रारम्भसितै गुरु, पुजारी, पण्डित, पुरोहित र पादरीलगायत धामी, ओझा, विजुवाहरुको सकृयताको शिलशिलाबाट विकसित हुन पुगेका धर्म सम्प्रदाय मार्ग र पथबाट स्थापित अन्धविश्वास, अन्ध परम्परा, मनगढन्त रिति थिती एवम् परहेज निषेध र बन्देजका नियमद्वारा एउटै राष्ट्र राज्यभित्रका एउटै र उस्तै मानिसहरुलाई फरक फरक हुने गरि मर्यादित र अमर्यादित कित्ताको बन्दी बनाई राख्ने शिलशिलालाई निरन्तरता दिदै ल्याइयो । कहिले धार्मीक आस्थाहरुको कहिले सीप ,गुण,रंग, कर्मको वा पेशा व्यवसायको कहिले जीवनशैली, भाषा, बसोबासको थलो, कहिले बसाई सराई नश्ल मुण्ड, बंशको आधारमा मानिसहरुको मर्यादा र प्रतिष्ठालाई कित्ताकाट गर्दै ल्याइयो । अझ पछिपछि त एउटै नश्ल, वंश, मुण्ड, संस्कृति, जीवनशैली र अन्तमा हुनेखाने र हुँदा खानेहरु भित्रै अपष्तमा नै आन्तरीक रुपमा समेत प्रतिष्ठित र अप्रतिष्ठित हुनेगरि कित्ताकाट गर्ने प्रचलन विकसित हुन पुग्यो । परिणामस्वरुप समाजशास्त्रहरुद्धारा समाज भनिने सम्बन्धहरुको माकुरे जालोभित्र निषेध, परहेज र बन्देजहरुको कारणले गर्दा प्रष्टरुपमा अदृष्य छोई छिटो हाल्नुपर्ने वंशले र कर्मले नै अमर्यादित कहिले प्रतिष्ठित हुनै नसकेको दमित र दलितहरु समुदायमा देखापर्नु स्वभाविक थियो । यो तिरस्कृत, बहिस्कृत, अमर्यादित, अमानीय र अदृष्यहरुको समुदाय थियो जसलाई वर्तमान समयमा भूईमान्छेहरुको समूह थियो र छ जो वंशानुगत पेशा गरेर साँस फेर्ने स्वतन्त्रता बाहेक…………….. प्रायजसो अरु स्वतन्त्रता युगौ अघिदेखि व्यवहारमा प्राप्त गर्नबाट बञ्चित रहेका छन् ।
जहाँसम्म नेपालको सन्दर्भ छ, पाचौं शताब्दी अगाडीको नेपाली समाजको मूल्य मान्यता विश्वास निषेध परहेज र वन्देजहरु बरे यकिन गर्ने ठोकुवा श्रोत सामग्री नभएता पनि यूगौं शताब्दी पछि वर्तमानसम्म देखापरेको नेपाली समाजभित्र प्रचलनमा रहेका आस्था, विश्वास मूल्य मान्यता, निषेध परहेज बन्देजहरुलाई विश्लेषण गर्दा यो समाज पूर्ण रुपमा हिन्दु धर्म अन्तरगतका अन्धविश्वास र अन्ध परम्परा, सस्कृति र संस्काररुपी त्रासभित्र चुर्लुम्म डुबेको पाइन्छ । लिच्छवी समाज मै कमराकमारी (दास दासी) वेठवेगार प्रथा, अट्ठार जातहरु (अष्टादश–प्रकृति) भट्टाधिकरण भनिने जातजाती र वर्णशंकर हेर्ने अड्डा आदि थियो भने मल्ल युगको समय अझ जटिल थियो । यतिबेला जाती माला नै बनेको थियो र समाजमा ६४ जातजातीहरु थिए । बौद्ध धर्म अन्तरगत समेत नयाँ नयाँ जातीहरु थपिएका थिए । पृथ्वीनारायण शाह पछि नेपाली समाज ‘असल हिन्दोस्ताना’ बन्ने तर्फ उन्मुख हुँदा जातीवादका कठोर र क्रुर परहेज, बन्देज र निषेधहरु विकशित हुन पुगे । सम्वत् २००७ र सं.०४६ सालको प्रजातन्त्रवादी आन्दोलनको सफलताले पनि दलित वा भूँइमान्छे वा छुवाछुतको अवस्थामा कुनै परिवर्तन व्यवहारिक रुपमा स्थापित गर्न सकेन । समाजका एकथरी मानिसले मर्यादा र प्रतिष्ठा पाउन नेपाली समाजमा असमर्थ हुँदा तिरस्कृत, बहिस्कृत र अदृष्य र दलन बेहोरी नै रहे । दशवर्षे जनयुद्ध र जनआन्दोलनको घटनापछि सम्वत् ०७२–०७३ को संविधानसभाबाट बनेको नयाँ नेपालको संविधानले ‘जातीय विभेद र भेदभाव मुक्त घोषणा गरेको १४ वर्षपछि समेत तथा वर्तमान अवस्थाको नेपालमासमेत दलित, बहिस्कृत र तिरस्कृतहरुले समाजमा मर्यादायुक्त जीवन बाँचने अवसर प्राप्त गरेका छैनन् भन्ने कुराको केही प्रतिनिधिमूलक उदाहरण निम्न छन् ः–
१) पश्चिम नेपालको रुकुम जिल्लाको सेती गाउँमा विक्रम सम्वत् २०७७ को जेठ महिनामा आफ्नी प्रेमिका लिन अन्य साथीहरु सहित गएका नवराज विश्वकर्मालाई प्रेमिका उच्च जात वा मल्लवंशीय आफन्तहरुको योजनामा करिब ७० जनाबढी मानिसहरुको हुलले घेरायुक्त आक्रमण गरि नवराज विकसहित ६ जनालाई मारेर भेरी नदीमा फालिदिएको क्रुर घटना हो ।
२) दलितप्रति नेपाली समाजमा भएको अर्को प्रतिनिधि घटना गण्डकी प्रदेशको हो । जहाँ क्रियापुत्री बस्ने सार्वजनिक भवनको उपयोगका लागि दलित र क्षेत्री समुदायबिच भएको झडप, उजुरी र प्रदर्शनपछि सांसद कृष्णबहादुर थापाले त्यो बाटुलेचौर काण्ड भनिने घटनाका सम्बन्धमा विज्ञप्ती सार्वजनिक गर्दै छुवाछुत विरुद्ध कानूनी उपचार माग्ने दलितलाई उच्छृङखल तत्वको दोष लगाउनुको साथै जातीय अतिवादका कारकहरु र सदियौं देखिको जातीय सद्भाव धमिल्याउने प्रयत्नकर्ताहरु को संज्ञा दिन पुगे । यहाँ हेक्का राख्नुपर्ने दुई कुराको चर्चा आवश्यक छ । जो यसप्रकार छन् ः–
(क) नेपालमा दलित समुदायप्रति हत्या हिंसा बलत्कार आदिको क्रुर र अमानवीय घटना भएकै ताका अमेरीकामा रंगभेदका कारण मर्यादा नपाएका अश्वेतलाई एउटा श्वेत प्रहरीले ९ मिनेटसम्म घाँटी थिचेर हत्या गरेको विरुद्धमा भएका जुलुस र आन्दोलनहरुमा अश्वेत मानिसहरुसित हजारौं श्वेतहरुपनि रंगभेदका विरुद्ध चेतना प्रवाह गर्न आन्दोलन र जुलुसमा सरिक भएका देखियो तर नेपालमा दलित समस्यालाई राष्ट्रिय समस्याको दर्जा दिएर निराकरण गर्ने प्रथम दायीत्व निर्वाह गरेको कथित साम्यवादी दल अहिले शासनतन्त्र कै संचालन गरिरहेको छ । उस्कै नेतृत्वमा नलित समस्यालाई सामन्यीकरण गर्ने तथा ओझेलमा ल्याउने कार्य भइरहेको समाचाहररु प्रकाशमा आएका छन् । सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति दिन नसक्दा हिजो वामपन्थीहरु भनेर जनयुद्धमा दलितलाई नै अग्रपंक्रिमा उभिन उकास्ने र मुठ्ठि उचाल्नेहरु तर्फ नै दलितहरुको प्रश्नवाचक मुद्रामा औला उठेको छ ।
एकतापछि नेकपा संगठनको कुनै घटक तपका र जनवर्गीय संगठनहरुले उच्च जातिहरुका मानिसहरुबाट भएको यी जातीय दमनका प्रतिनिधि घटनाहरुको विरुद्ध कुनै प्रकारको पनि जुलुस, आन्दोलन, सभा र आमसभा नगर्नु र नेतृत्वमा हुनेहरुले समेत व्यक्तिगतरुपमा कुनै सार्वजनिक अभिव्यक्ति नदिनु भनेको नेकपा दल नै जातीय विभेदका विरुद्ध आम नेपाली जनतामा मर्यादाहीन, तिरीस्कृतहरु भएका दलिदतहरुलाई सामाजिक न्याय एवम् सुरक्षाको चेतना प्रवाह गर्न चाहदैन भन्ने वास्तविकता देखा पर्नु हो । नेकपा संगठनका सत्ता सञ्चालकहरु सबै उच्च जात जाति भएर यसो भएको हो की ? भन्ने प्रश्न सार्वजनिक विषयबस्तु बन्न पुगेको छ । दलितहरुसमेत संगठित रुपमा सडकमा नआउनु, अर्को आश्चर्यको कुरा छ ।
समग्रमा विभिन्न पत्रपत्रिकाहरुमा केही स्तम्भकारहरुले उपरोक्त प्रतिनिधिमूलक जातीय घटनाको विश्लेषण गरेका छन् । उनीहरुले गरेको विश्लेषणबाट जम्माजम्मी तीन निम्न कुराहरु अभिव्यक्त भएका छन् ः–
(क) दलितहरु संविधान वा कानूनी प्रावधानको दस्तावेज लिखतले मात्र र अरु मानिससरह मर्यादित र प्रतिष्ठित हुन सक्दैनन् । नेपाली सामाजिक व्यवहारमा नै उनीहरुलाई मर्यादित र प्रतिष्ठित बनाउन सक्नुपर्छ ।
(ख) २१ औं शताब्दीताकादेखि को विश्वको ‘मान्छेमात्र’ भएर बाँच्न चाहने प्रष्ट मनोविज्ञान अनुरुप चेतना प्रवाह गर्न तथा तदअनुरुपका मूल्य , मान्यता एवम् विश्वासहरु स्थापित गराउनका निमित्ति सत्ता सञ्चालकहरु त्था शासक वर्गले स्वयं आफूहरु पनि अन्धविश्वासहरुबाट मुक्त भएर आफ्ना नागरिकहरुलाई पनि अन्धविश्वासको त्रासबाट बाहिर निकाल्न निरन्तर संकल्पीत भएर प्रयत्नशीन हुनु अनिवार्य छ ।
(ग) संवैधानिक काूनी प्रावधानहरुबाट दलित वर्गको पहिचान बुझाउने, वाक्य, प्रावधान र नियमहरु राख्नु हुदैन जस्तै दलित समावेशीता एवम् दलित आरक्षणको कोटा यस्तो वैधानिक प्रावधानको कारणले सत्तामा पहुँचको लोभका कारणबाट निरन्तर दलित पहिचान कायम रहने छ । यसअर्थमा विभेदरहित मर्यादित र प्रतिष्ठित समान नागरिकको दर्जा प्राप्त हुने उपयुक्त वैधानिक व्यवस्था गर्नु आवश्यक छ ।
अन्तमा सबै नेपालीहरु र नेपालका शासक वर्गले जान्नैपर्ने र बुझ्नैपर्ने ऐतिहासिक वास्तविकता के हो भने नेपालमा आर्य हिन्दु संस्कृति आयातित संस्कृति हो । यो अन्धविश्वास युक्त संस्कृतिको प्रभाव वर्तमानमा व्यापक देखिन पुगेतापनि यहाँको मूल संस्कृति भनेको ‘आर्यखस’ संस्कृति हो अथवा मस्ट पूजक, दशैमा जमरा राख्ने र अक्षेताको टिका लगाउने, तिहारमा भाइटीका लगाउने, बोकालाई ठोकेर खसी पार्ने, मष्ट देवको बहिनीको रुपमा दुर्गा पूजा गर्नेहरुको संस्कृति हो जस्लाई आर्य हिन्दु भनाउदाहरु पूज्य ‘प मनु स्मृतिमा’ व्रात्य पतिति खसेको हिन्दु धर्म नमान्ने र पानी चल्ने शुद्र भन्दा पनि तलको ‘असीत शुद्र’ भनिएको छ । (झल्लो, मलस्य राजान्याद, व्रात्प निश्छिवि रेवच ः, नटश्च, करणश्चैव खसो द्रविड एवच ) यसरी खसहरुलाई नटजाती (मुसलमान सरह) र द्रवीड जातीको समकक्षमा राखिएको छ । बर्तमानसम्म कर्णाली प्रदेशमामतवालीको संज्ञाले नै खसहरु चिनिन्छन् र उनीहरुमा जनै लगाउने चलन छैन, धोती लगाउने चलन छैन, खस ब्राहमणहरु हलो जोत्ने कृषकहरुका रुपमा देशभरी छरिएका छन् जुन कुरा हिन्दु संस्कृतिलाई मान्ने छैन ।
दलित समुदयालाई मर्यादित र प्रतिष्ठित बनाउने हो भने इतिहासको एउटा वास्तविकतालाई सार्वजनिक गर्न अनिवार्य छ । त्यो ऐतिहासिक सत्य भनेको व्यवहारमा मानवीयतालाई प्राथमिक रुपमा स्थापित गर्न सक्नु नै हो । हिन्दुवादी सामाजिक संरचनाको ठाउँमा मानवीयतावादी सामाजिक संरचना स्थापित गर्न सक्नु हो । अन्तिम कुराको पनि पुछारको रुपमा म यहाँ निम्न प्रश्न राखेर यो लेख टुङ्ग्याउन जादै छु ः–
१) दलितको प्रतिष्ठा र मान मर्यादालाई किञ्चित मात्र पनि मान्यता प्रदान नगरेर बरु उनीहरु विरुद्ध हुने अपराध, हिंसा र अमानवीय क्रुर अपराधहरुलाई प्रगतिशील, वामपन्थी एवम् कम्यूनिष्ट भनेर आफूलाई पहिचान दिने हरु नै ढाक छोप गर्न लागि परेका देखिन्छन् किन ?
२) विभेदरहित, उत्पीडन रहित, सामुहिकतामा आधारित समृद्दि र समावादउन्मूख समाजको निर्माणमा अभिभारा हुने शक्तिहरुको गति मति र चरित्र दलित समुदयालाई मर्यादा र प्रतिष्ठा दिन सवैभन्दा पछि परेका छन् किन ?
३) दलित समुदायलाई मर्यादा र प्रतिष्ठा दिन सक्ने गरि सत्ता र शासनमा सारथीहरु ऋब कहिले आउँदछन् त ?
४) विश्लेषक गैर दलित गणेश लम्सालले ०७७ असार ११ गतेको हाम्रो मत पत्रिकामा नै दिएको सुझाव अनुशार वर्षौदेखि दलित र निर्धा एवम् निमुखा बनाइएका दलित समुदायसित सवै मिलेर माफी मागेर मात्र पुग्दछ त ? कि उनीहरुको मर्यादा र प्रतिष्ठा समाजका अरुहरु सरह स्थापित गर्दा संकल्पित भएर कटिबद्ध र प्रतिवद्ध हुने आवश्यकता छ ।