काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने संशोधन प्रतिनिधिसभामा दर्ता गराएकी छन् ।
जनता समाजवादी पार्टीले सरकारले पेश गरेको बिधेयकको पक्षमा मतदान गर्ने बताइसकेको बेला सो पार्टीकी सांसद गिरीले बिधेयक खारेज हुनुपर्ने प्रस्ताव बुधबार दर्ता गराएकी हुन् ।
गिरीले संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।
विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।
गिरीले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् । उनले लिम्पियाधुरा नेपालको भूमि रहेको कुरा मान्न आफू तयार नभएको बताउँदै आएकी छन् ।
राष्ट्रियताको पक्षमा सिंगो मुलुक एकजुट भएको बेला त्यसको विरोधमा अभिव्यक्ति दिने गिरीमाथि कार्वाही हुनुपर्ने माग उठिरहेको छ ।