कृषि उपजको स्वदेशी बजार प्रवर्द्धन

 विष्णुप्रसाद काफ्ले

सन् २०१८ को अगष्टमा नेपाली अलैंचीको सम्बन्धमा स्थलगत अवलोकन तथा नेपाली सरोकारवालाहरुसँग अन्तरक्रिया गर्न आएको चिनियाँ व्यवसायी एवम् विज्ञहरुको टोलिका एक जनाले अनौपचारिक गफगाफको सिलसिलामा सोधेका थिए, ‘नेपालमा अलैंची कति र के कसरी उपभोग हुने गरेको छ ?’ जवाफ सिधा तथा केहि असजिलो थियो । कारण, स्वदेशी उपभोक्ता माझ अलैंचीको उपभोग अत्यन्तै थोरै मात्र छ अर्थात् दुई प्रतिशतभन्दा कम । स्वदेशी विदेशी उत्पादनको विशाल उपभोक्ता बजार रहेको चिनियाँहरुका लागि यो आश्चर्यको कुरो जस्तै भयो । तर हाम्रो यथार्य यहि नै थियो । यसरी कुल उत्पादनको झण्डै ९८ प्रतिशत अलैंची निर्यात बजारमा निर्भर रहेको छ । विभिन्न अनिश्चितता, अवरोध, आरोह र अवरोह झेल्दै करिब ९५ प्रतिशत अलैंची भारतीय बजार र व्यापारीहरुमा निर्भर रहेको छ । मध्यपूर्व, युरोप लगायतका बजारमा क्रमशः नेपाली अलैंचीले प्रवेश गर्न थालेको भएपनि यो बजार नियमित र सहज भइसकेको छैन । निर्यात बजार अलिकति गडबढ हुने वित्तिकै नेपाली अलैंचीको बजार नराम्ररी प्रवभावित हुन्छ । अरु धेरै कारणका बावजुद स्वदेशी बजारको न्यूनतम् भरथेक नहुनु एउटा महत्वपुर्ण कारण हो ।

अर्कातिर सानो अलैंची भनेर चिनिने सुकमेल नेपालमा उल्लेख्य रुपमा आयात भइरहेको छ । पछिल्लो तथ्यांक अनुसार सन् २०१५ यता मात्रै करिब ३४०० मेट्रिक टन ग्वाटेमाला, सिंगापुर, भारतलगायतका देशबाट आयात भएको देखिन्छ । परिमाणमा थोरै लाग्ने यो आयात परिमाण मुद्रामा लगेर हेर्ने हो भने व्यापार सन्तुलनका दृष्टिले निकै महत्वपूर्ण रहेको छ । बजार मूल्यलाई हेर्दा सन् २०१४ तिर अलैंचीको प्रतिकेजी मुल्य २२०० रुपैयाँ र सुकमेलको १२०० हाराहारीमा थियो । सन् २०२० सम्म आइपुग्दा अलैंची ७०० रुपैयाँ प्रतिकिलो र सुकमेल ४००० बढी पुगेको देखिन्छ । यसले हामीले अलैंची निर्यात गरेर भित्र्याएको आधा बढी रकम त सुकमेल आयातमा खर्च गर्दा रहेछौं भन्ने हो । यति मात्रै होइन अलैंचीबाट प्रशोधित या अलैंची कच्चा पदार्थ हुने धेरै तयारी वस्तुहरु हामी आयात गरिरहेका छौ । मसला, सारयुक्त तेल, सिल्भर कोट गरिएको माउथ फ्रेशनर (अलैंचीको दाना)लगायत धेरै चिजमा हाम्रो मुद्रा बाहिरिरहेको छ ।

यहाँ यो प्रसङ्ग जोड्न खोजिएका कारण के हो भने अलैंची र सुकमेलको उपयोग धेरै हदसम्म समान छन् र प्रतिस्थापन गर्न सकिने हुदाँबढी मूल्य पर्ने सुकमेल आयात र तुलनात्मक कम मूल्य पाइरहेको अलैंची निर्यातको परिपाटीमा पुर्नविचार गर्ने कि भन्ने हो । बरु हाम्रो उपभोगको शैली र तरिकालाई केहि मात्रै परिवर्तन गर्न सक्यौं या प्रशोधन लगायत मूल्य अभिवृद्धिका कार्यहरु अपनाउन सकियो भने सुकमेलको सट्टा नेपाली अलैंची नै खपत् हुँदा तुलनात्मक रुपमा हाम्रो वैदेशिक व्यापार सन्तुलनमा केहि हदसम्म भएपनि सकारात्मक प्रभाव पर्ने थियो ।

अहिले बजारमा आइरहेको माथि उल्लेखितभन्दा सस्तो लाग्ने सुकमेलबाट सारयुक्त तेल अर्थात् इसेन्सियल आयल निकाली सकिएको हुन्छ र उपउत्पादन (वाइप्रोडक्ट) चाहिँ उपभोक्ता बजारमा ल्याउने गरेको समेत पाइन्छ । यदि सुकमेलको सट्टामा नेपाली अलैंचीलाई नै स्वदेशी बजारमा उपभोगमा ल्याउन सकियो भने अहिले भारतीय बजारमा अलैंची विक्री भएर पाएको मूल्यभन्दा दोब्बर मूल्यमा नेपाली अलैंची बेच्न सकिने सम्भावना देखिन्छ । आजभन्दा २०–२५ वर्षअघि ५–७ हजार प्रतिमन भएको अलैंची १ लाख २० हजारसम्म पुग्यो, फेरी अहिले त्यो २५–३० हजार रुपैयाँ प्रतिमनमा झर्यो । कहिले बढ्छ, घट्छ । किसान, व्यापारीदेखि निर्यातकर्ता सबै अनिश्चियमा । कहिले उकासिने या कहिले डुब्ने हो पत्तै नहुने । त्यसैले पनि स्वदेशी बजारको हिस्सा बढाउनै पर्दछ ।

अलैंची त धेरै मध्ये एउटा उदाहरण मात्रै हो । गुणस्तर, स्वाद, स्वास्थ्य र मूल्यका हिसावले अब्बल मानिने अर्थोडक्स चिया पनि माथिकै समस्याबाट ग्रसित छ । विशेष गरी पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियामध्ये ७ प्रतिशत पनि नेपाली उपभोक्तावीच खपत हँुदैन । यसैको हाराहारी तेस्रो मुलुकमा तुलनात्मक उच्च मूल्यमा निर्यात हुने गर्दछ भने करिब ८५ प्रतिशत त भारतीय बजारमा न्यून मूल्यमा नै निर्यात भइरहेको छ । बरु तराई (झापा)मा उत्पादन हुने सिटिसी चियाको करिब ५० प्रतिशत स्वदेशी बजारमा खपत भइरहेको छ । अर्थोडक्स चियाको स्वदेशी बजार प्रवद्र्धन गर्न सक्ने हो भने हाल उत्पादन भइरहेको करिब ६० लाख केजि चिया ४० प्रतिशत बढी स्वदेशमा नै खपत बढाउन सकिन्छ । त्यो पनि भारतीय बजारमा निर्यात गरिए भन्दा दोब्बर मूल्यमा । अहिले पनि श्रीलंका र भारतदेखि नेपाली बजारमा चियाँ नआएको होइन । आफ्नो सडेर जाने र आयातित किनेर खानु पर्ने अवस्था छ । मुख्य बजारका डिमार्टमेन्टल स्टोरहरुमा गएर हेर्ने हो भने एकाध प्रकारका नेपाली चिया र धेरै प्रकारका आयातित चियाका लहरहरु देख्न सकिन्छ । सरकारले एउटा नीतिगत निर्णय गरी यस्ता कार्यहरु प्रवद्र्धन गर्न सक्छ । चिया उद्यमी, प्रशोधनकर्ता र निर्यातकर्ताहरुले पनि नजिकको तिर्थ हेला भने झै ठूलो सम्भावना रहेको स्वदेशी उपभोक्ता बजारलाई बेवास्ता गर्नु हँुदैन । निर्यातका लागि गर्नु पर्ने ठूलो लगानी, मेहनत, जोखिम बहनका तुलनामा कम खर्चमै स्वदेशमा नै चियाको प्रवद्र्धन गर्न सकिन्छ । सिमित रुपमा काठमाडांै बाहेक कोशी पारी अर्थोडक्स चिया बजारमा लैजान सकिएको देखिँदैन ।

प्रशोधित दुग्ध पदार्थ, अदुवा, जडिबुटी, खाद्य पदार्थहरुमा समेत यहि अवस्था रहेको छ । मकै गहुँ, जौ जस्ता स्वदेशमै उत्पादन हुन सक्ने कृषि उपजको धेरै प्रशोधित वस्तुहरु हामीले विदेशबाट आयात गरिरहेका छौ । पहाडी क्षेत्रमा केहि समय पहिलेसम्म प्रचूर उत्पादन हुने कोदो समेत भारतबाट ल्याउनु पर्ने भएको छ । दाना उद्योगहरुले भारतबाट मकै ल्याउने गरेका छन् भने स्वदेशी मकै किसानहरु बजार नपाएको गुनासो गर्दछन् । केहि समय पहिलेसम्म तराईका सिमावर्ती क्षेत्रहरुबाट नेपालमा उत्पादन गरिएका स्वादिलो गुणभएको धान भारतीय व्यपारीहरुले खरिद गरेर लैजाने नेपालमा चामल बिक्री गर्ने गरिएका सुचनाहरु प्रशस्तै आउँथे । शायद अहिले पनि सो क्रम चलिरहेकै होला । पहाडतिर एउटा ठट्टा गर्ने गरिन्छ, ‘आफ्नो बारीको तरकारी सस्तो मूल्यमा व्यापारीलाई बेच्यो अनि हप्ता पन्ध्र दिनपछि बजार गएर त्यहि तरकारी किनेर ल्यायो’ आफैंले बेचेको तरकारी हुनेछ । अर्थात् आन्तरिक तथा स्थानीय बजार प्रणाली, पूर्वाधार, प्रविधि र मुल्य अभिवृद्धि कार्यहरु आदिको कमीले कृषिको बजारमा उत्पादक र उपभोक्ता दुवैले घाटा ब्यहोरिरहेका छन् । आफूले कच्चा माल डोका बोकेर बेच्ने र थोरबहुत मूल्य अभिवृद्धिपछि गाडीले ल्याएको किन्ने परिपाटी अझै पनि धेरै ठाँउमा छन् । शायद व्यापार सिकाउनेले यस्तै सिकाए होला पहिला, अहिलेसम्मै त्यो धङधङि गएको छैन ।

डेढ वर्ष अघि त्यो चिनियाँले सोधेको प्रश्नको जड यसैको सेरोफेरोमा थियो । अर्थतन्त्रको आकार, बजारको गतिशीलता र दीगोपना उपभोगको आकारले धेरै हदसम्म निर्धारित गर्दछ । स्वदेशी उपभोग बढ्दा त्यसको सिधा फाइदा त्यहि देशको अर्थतन्त्रलाई पहिले हुन्छ । चीन, भारत, बङ्गलादेश, ब्राजिलजस्ता धेरै जनसंख्याका कारण स्वदेशी उपभोग बजार फराकिलो भएका कारण औद्योगिक एवम् आर्थिक वृद्धि पनि तीव्र गतिमा गरेका उदाहरणहरु देख्न सकिन्छ । निर्यात नै नगर्ने भनेको होइन तर उत्पादित वस्तुको निश्चित हिस्सा स्वदेशी बजारमा खपत भयो भने यसले नेपाल जस्तो सम्वेदनशील भूराजनीतिक र आर्थिक अवस्था भएको देशका किसान तथा उद्यमीहरुका लागि न्यूनतम् बजार सुनिश्चित गर्न सकिन्छ भन्ने हो । हामी उत्पादन गर्ने तर आफैले चैं पटक्कै उपभोग नगर्ने या नगण्य मात्रै गर्ने हुँदा निर्यात बजारमा सानोतिनो समस्या आउँदा या निर्यातमा मन्दी हुँदा सम्पूर्ण बजार नै शिथिल र गतिहीन बन्ने जोखिम हामीले लामो समयदेखि भोगिरहेका छौं । अहिले कोभिड १९ को अवस्थामा पनि चिया, अलैंची, अदुवा, लगायतका निर्यातमा आधारित व्यापार ठप्प हँुदा यसको मार उत्पादक किसान, उद्योगी, व्यापारी र निर्यातकर्ता सबैमा परेको छ । खुलेकै अवस्थामा पनि भारतीय बजारमा निर्यात गर्दा अपेक्षित प्रतिफल लिन सकिँदैन । त्यसो भएको हुनाले पनि अब हामीले नेपाली कृषि उपजको स्वदेशी उपभोक्ता बजारको सम्भावना र अवसरलाई खोज्दै बजार प्रवद्र्धन गर्नेतर्फ समेत ध्यानदिन जरुरी देखिएको छ । निर्यातलाई मात्रै एक मात्र बजारको विकल्प सम्झिने हो भने यो दिगो, भरपर्दो र सँधै लाभदायी नहुन पनि सक्छ ।

वास्तवमा उपभोग आर्थिक वृद्धिको एउटा सारभूत परिसुचक पनि हो । जसले प्रत्यक्ष र परोक्ष रुपमा उत्पादन, बचत, लगानी, सार्वजानिक वित्त व्यवस्थापन र व्यापारिक गतिशीलतालाई हरहमेशा सक्रिय र सामथ्र्यवान् बनाइरहन प्रेरित गरिरहन्छ । अझ खास गरी एशियाली देशहरुको कूल गाह्र्यस्थ उत्पादनमा उपभोगको सबैभन्दा बढी योगदान रहने गरेको पाइन्छ । एशिया टाइम्स्ले सन् २०१९ को शुरुतिर प्रकासन गरेको एउटा प्रतिवेदनले चीनमा वस्तु तथा सेवाको उपभोग क्षेत्रले त्यहाँको कूल गाह्र्यस्थ उत्पादन (जीडीपी)मा ७६ प्रतिशत योगदान गरेको देखाएको थियो । भारतमा नीजि क्षेत्रको उपभोगले मात्रै करिब ६० प्रतिशत हाराहारी जीडीपीमा योगदान गरेको छ भने नेपाल र बंगलादेशमा करिब ७० को हाराहारीमा छ । प्रचलित बजार दरमा हेर्ने हो भने त्यो भन्दा बढी हुन्छ । तुलनात्मक रुपमा हाम्रो अर्थतन्त्रको संरचना उपभोगमा नै आधारित भएको हुनाले पनि हाम्रा कृषि उपजहरुलाई उपभोग बजारमा प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्ने अवसर प्रचूर रहेको छ । स्वदेशी बजार प्रवद्र्धन गर्दै जाँदा यसले प्रत्यक्ष रुपमा धेरै परनिर्भर कृषि उपजहरुको आन्तरिक उत्पादनलाई प्रेरित गर्छ र आयात प्रतिस्थापन भई व्यापार अर्थतन्त्र समेत सकारात्मक हँुदै जान्छ । अर्बौको व्यपार घाटालाई न्यूनीकरण गर्दै जाने दीर्घकालिन रणनीति समेत यहि हो ।
कतिपय अवस्थामा नेपाली उत्पादनको गुणस्तर या उपजको विविधिकरण, नियमित उपलब्धता नहुने या कमजोर आपूर्ति व्यवस्थापन जस्ता कुराहरुले चाहेर पनि उपभोक्ताले स्वादेशी वस्तु प्राप्त गर्न नसकेको गुनासाहरु आएका छन् । यहाँनेर सरकार, नीजि लगानीकर्ता, उद्योगी, व्यवसायीहरुले पनि नेपाली कच्चा पदार्थमा आधारित प्रशोधन प्रविधि, पूर्वाधार र गुणस्तरीय उत्पादनका क्षेत्रमा लगानी ध्यानदिनु जरुरी छ । जसले स्वदेशी उपभोक्ताको रुची, चाहाना र आवश्यकता अनुसार कृषि उपजहरु बजारमा उपलब्ध हुन सकोस् । यसो गर्न सकेमा धेरै नेपाली उपभोक्ताले स्वदेशी वस्तुकै उपभोग गर्ने कुरामा दुई मत हुँदैन । यो आर्थिक वृद्धि र विकासमा राष्ट्रिय स्वाधीनतातर्फको महत्वपूर्ण आधार पनि हो ।

निर्यात सम्भावना र अवसरकै आधारमा गरिने व्यापार या आयातित कच्चा पदार्थमा आधारित उद्योगहरुका उत्पादनहरुमा बेग्लै कुरो तर नेपाली किसानले नै उत्पादन गर्ने कच्चा पदार्थ, यहिँको श्रम शिपप्रयोग भई उत्पादन हुने हुने निर्यात सम्भावना बढी भएका कृषि उपजहरुको हकमा कम्तिमा ४० प्रतिशत हिस्सा सोझै नेपाली उपभोक्ता बजारमा जाने भयो भने निर्यात बजारको अनिश्चय, जोखिम र उतार चढावको मारबाट केहि हदसम्म भएपनि सुरक्षित हुन सकिन्छ । अर्थोडक्स चिया र अलैंचीका हकमा त मेरो विचारमा त्यो भन्दाबढी हिस्सा आन्तरिक बजार र उपभोक्तामा विस्तार गर्न सकिन्छ । स्वदेशी बजारको यो भरथेकले एकातिर उत्पादक किसान, प्रशोधनकर्ता या व्यपारीहरुलाई कम्तिमा सुरक्षित महशुस गराउँछ र स्वदेशी लगानी र पुँजी प्रोत्साहित भएर दिगो आर्थिक वृद्धिका लागि आधार तय हुन्छ ।

त्यसपछि कतिपय कृषि उपजका हकमा आयात प्रतिस्थापन गर्न र उच्चमूल्य सम्भावना भएका निर्यात बजारहरुमा प्रतिस्पर्धीका रुपमा केन्द्रित हुन सकिन्छ । अन्ततःयसले स्वदेशी उद्योग धन्दाहरुलाई संरक्षण, प्रोत्साहन र प्रवद्र्धन गरी आत्मनिर्भर सक्षम र दिगो राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सघाउ पुर्याउने छ ।

(लेखक कृषि र ग्रामीण विकासका क्षेत्रमा कार्यरत हुनुहुन्छ)
email: bishnukafle.ilam@gmail.com

आइतबार, २५ जेठ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर