मधुमेह (डायविटिज) र उपचार विधिहरु

 डा लेखनाथ न्यौपाने

मधुमेह निको नहुने र वंशानुगत रोगको रुपमा चिन्ने र चिनाइने गरिन्छ । मधुमेह रोग भन्दा पनि प्यान्क्रियाज भन्ने ग्रन्थिले गुलियो पदार्थ(ग्लुकोज) पचाँउने इन्सिुलिन नामको तत्व आवश्यक मात्रामा उत्पादन गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढेको अवस्था हो । शरीरमा(रगतमा) लामो समयसम्म यदि अनावश्यक ग्लुकोजको मात्रा रहिरहेमा अन्य अंगलाई पनि असर गर्ने हुँदा यसलाई नियन्त्रणमा राख्नुपर्छ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राखियो भने कुनै ठूलो असर नदेखिने र आफु रोगी भन्ने अवस्था पनि रहदैन ।

प्रकृतिले हाम्रो शरीरलाई यसरी बनाएको छ कि हरेक समस्याको सामाधान शरर भित्रै रहेको हुन्छ । त्यसैले पनि होला बैज्ञानिकले सबै कुरा बनाए तर मानिस बनाउन सकेनन् । वास्तवमै शरीर विज्ञानको अध्यायन गर्दा थाहा हुन्छ कि मानव वा सम्पुर्ण जिव विज्ञान कति धेरै संरचनाहरुको संयोजनले बनेको र चलेको छ । सयांै वर्ष देखिको अध्यायन र अनुसन्धानबाट पनि सबै रहस्यहरु खुल्न र पत्ता लगाउन सकिएको छैन । यही अन्योलताका बिचमा मधुमेह रोग बारे भने धेरै अध्यायन र अनुसन्धान भईसकेका छन् । मधुमेह के हो ? कसरी हुन्छ ? के गर्दा शरीरमा अनावश्यक रुपमा ग्लुकोजको मात्रा वढेर जादैन, अनि कस्तो परहेज, खानपान र औषधीको सेवन गरेमा आफू स्वस्थ रहन सकिन्छ भन्ने जानकारी हुनु जरुरी छ ।

पेटको देब्रेपट्टि आमाशयको मुनि टासिएर रहेको पातलो कोमल तर लामो एउटा ग्रन्थि हुन्छ । जसको नाम हो प्यन्क्रियाज । यो ग्रन्थिले इन्डोक्राइन र एक्जोक्रइनको रुपमा काम गर्छ । यो ग्रन्थीले इन्डोक्राइनको रुपमा सिधै रगतमा जाने र रगतको माध्यम भएर हरेक अंगमा जाने तत्वको उत्पादकका रुपमा काम गर्छ । इन्सुलिन उत्पादन गर्ने बिटा लेङ्गरहेन्स नामक विशेष प्रकारको कोषहरुको समुहले निकाल्ने गर्दछ । यो इन्सुलीनले नै हामीले खाएको खानामा रहेको गुलियो पदार्थ(ग्लुकोज)लाई पचाँउने काम गर्छ । यदि विभिन्न कारणबाट इन्सुलीन उत्पादनमा कमी आउन गएमा मधुमेहका लक्षणह्रु देखापर्ने गर्छन । यता एक्जोक्रइनका रुपमा भने पाचन रस उत्पादन गर्छ र आमाशयमा पठाउँछ ।

मधुमेह विशेष गरेर दुई प्रकारका हुन्छन । इन्सुलीन डिपेन्डेन्ट र नन् इन्सुलीन डिपेन्डेन्ट । जुभिनाइल डायबिटिज भने बच्चा जन्मिने वित्तिकै अथवा जन्मिदै देखि देखापर्छ, जो इन्सुलीन डिपेन्डेन्टमै पर्छ । जसको शरीरमा रहेको प्यानक्रियाजले इन्सुलीन निकाल्नै सक्तैन र बाहिरी रुपमा इन्सुलीन दिनुपर्छ । केटाकेटी देखि नै इन्सुलीन दिनु पर्ने अवस्था देखिएमा वा पछि देखिए पनि इन्सुलीन नै दिनुपर्ने अवस्था भएमा इन्सुलिन डिपेन्डेन्ट डाइबिटिज(मधुमेह) भनिन्छ । यस्तो अवस्थामा इन्सुलीन जो अन्य जनावर या क्रितिम रुपमा तयार परिएको हुन्छ सुइको माध्यमबाट छालामुनी लगाउनु पर्छ । र, रगतमा यसको मात्रा अथवा शरीरलाई चाहिने मात्रको गलुकोज कायम गर्नुपर्छ । आवश्यकता अनुसार इन्सुलीनको मात्रा घटबढ गरेर पूर्णरुपमा स्वस्थ रहन सकिन्छ । अर्को भनेको शरीरले(प्यान्क्रियाज) निकाल्ने इन्सुलीनको मात्रा कमी भएको अवस्थामा औषधीको सेवनबाट रगतमा धेरै भएको ग्लुकोज पचाउने हो । यो अवस्थामा पनि रगतको परिक्षण गर्दै त्यही अनुसारको परहेज र नियमित औषधीको सेवनबाट स्वस्थ रहन सकिने हुँदा मधुमेह डरलाग्दो रोग भनेर हल्ला फिजाउनु र आफु दुखी हुनु पर्ने जरुरी छैन ।

हो जतिबेला हामी वा हाम्रो शरीरमा(रगतमा) ग्लुकोजको मात्रा सामान्य भन्दा धेरै वा आवश्यकता भन्दा वढि लामो समयसम्म रहीरहन्छ त्यो अवस्थामा भने विभिन्न खाले लक्षणहरु देखापर्न थाल्छन् । यस्ता लक्षणहरुको बेलैमा रोकथाम या उपचार नगरेमा र पहरेजमा नबसे अरु रोग देखापर्न सक्छन् । जस्तै आँखाको ज्योती कम भएर जाने, ब्लड प्रेसर बढेर जाने, मृगौलामा समस्या देखापर्ने, यौन इच्छा हराएर जाने या कमजोरी आउने, हातखट्टा झमझम गर्ने, निदाउने, पैताला पोल्ने, शारीरिक कमजोरी बढेर जाने, मानसिक रुपमा स्मरण शक्ति कमजोर भएर जाने, निन्द्रा नलाग्ने, शरीरका विभिन्न भागमा घाउ खटीरा आएमा निको हुन कठिन हुने जस्ता अनेक लक्षणहरु देखा पर्न थाल्छन् । यदि हरेक कुरामा सचेत हुँदा पनि माथी भनिएका लक्षणहरुले ग्रसित भएमा मात्र मधुमेह रोगी भन्न सकिन्छ । यदि सामान्य अवस्थामा ग्लुकोज पचाउन खानापछि एक, दुई चक्की या खानाअघि एउटा इन्सुलिनको सुई लगाउँदा र सामान्य परहेजमा वस्दा केहि समस्या देखिदैन भने आफूलाई पूर्ण रुपमा स्वस्थ रहेको मान्नुपर्छ । यो अवस्थामा आफू पनि सामान्य मानिसले गर्ने हरेक काम गर्न सक्ने सम्झिएर आप्mनो मनोबल उच्च राखेमा कति जनालाई त ठिक हुँदै जान्छ भने खुसहाल जिन्दगी पनि विताउन सकिन्छ ।

कारणहरुः हाम्रो शरीरमा हाम्रा पुर्खाहरुको सुक्ष्म अंश (जिन) पनि हुन्छ । पिता पुर्खामा भएका केही नसर्ने रोगहरुको अंश पनि हामीमा आएको हुन्छ । समय, वातावरण, खानपान र तनावसँगै शरीर कमजोर हुदैजादा वंशानुगत रोगले सताउने एउटा कारण हो । यसरी नै अर्को कारण भनेको अनावश्यक मोटोपन, बजारमा बनाइएका(फास्टफुड) खाना, अनावश्यक औषधीको सेवन, व्यायामको कमी, तनाव, जन्मेको केही दिन देखि नै लगातार गाइको दुधको सेवन, अन्य रोगको उपचारको क्रममा औषधीको कुप्रभाव, उच्च रक्तचाप आदि आदि कारणबाट मधुमेह हुने सम्भावना बढेर जान्छ । यी माथिका कारण बाहेकका पनि अरु धेरै कारणहरु हुनसक्छन् । त्यसैले बेलैमा सचेत भएर स्वस्थ नै धन हो भन्ने कुरालाई मनन् गर्नु जरुरी देखिन्छ ।

लक्षणहरु: मधुमेह रोग लागेका सामान्य र केही फरक गरी दूई प्रकारबाट थाहा पाउन सकिन्छ । धेरै पिसाव लाग्नु, धेरै तिर्खा लाग्नु, धेरै भोक लाग्नु, शरीर अचानक मोटाउनु या दुब्लो हुनु, कमजोर महसुस गर्नु जस्ता लक्षणहरु पहिलो अर्थात प्राइमरी चिनारी हुन् । अलिक फरक अर्थात सेकेन्डरी लक्षणहरुमा हातखुट्टा झमझम गर्नु, पोइताला पोल्नु, सम्झने शक्तिमा कमी आउनु, यौन क्षमतामा कमी आउनु, योनीमा सुखापन आउनु, यौनाङ्ग चिलाउनु ,चाहाना हराउनु, निन्द्रामा कमी आउनु, उच्च रक्तचाप देखापर्नु जस्ता अन्य धेरै लक्षणहरु देखापर्न थाल्नुकासाँथै शरीरमा आएका घाउ खटिरा या चोट पटक चाडै निको नहुनुले पनि मधुमेहको असर हुनसक्ने हुँदा ३० या ४० वर्ष नाघेका मोटो ज्यान भएका, मानसिक तनाव धेरै भएका अनि वशानुगत रोग हुनेहरुले वढी सचेत रहने र कम्तीमा वर्षमा एक पटक परिक्षण गराउनु उचित हुन्छ । यसरी नै साना बालबालिका जो धेरै खान चाहन्छन् या खान नै चाहदैनन् या धेरै मोटा या पतला छन् भने पनि एक पटक जचाउँनु रामो हुन्छ ।

परीक्षण: मधुमेह लागेको छ या छैन भनेर पत्ता लगाउन धेरै ठूलो जाँच गराईरहनु पर्दैन । पिसाव वा रगतको सानो जाँचबाटै थाहा पाउन सकिन्छ । यसकोलागी बिहानको खाली पेटमा सानो रगतको जाँच र खाना खाएको दुई घण्टामा त्यस्तै जाँच हुन्छ भने मधुमेह अलिक बढेका बेलामा त पिसावको सामान्य(रुटिन)जाँचबाट पनि थाहा पाउन सकिन्छ । यसको साँथै शरीरका अन्य अंगलाई पनि असर गरेको छ की भनेर पनि रगत र पिसावको जाँचबाट नै थाहा पाउन सकिन्छ । आजकल त शरीरमा ३ महिना सम्मको के छ मधुमेहको अवस्था भनेर पनि जाँच गरिन्छ । यसलाई एचबीए१सी भनिन्छ । यो जाँचले तपाईको शरीरमा ३ महिना बिचमा कती घटवढ भयो भनेर देखाउँछ ।

उपचार: मधुमेह भएछ भनेर आत्तिनु डराउनु हुदैन । पहिलो पक्षिणमा देखिए पनि पुनः केहि दिनमा अर्को परिक्षण गराउनु पर्छ । धेरै जसो मानिसमा तनाव भएका बेलामा या अन्य औषधी सेवन गरेका बेलामा सामान्य बढेको हुनसक्छ । केहि दिन देखि लगातार गुलियो पदार्थ या त्यस्तै भोजन अनि अल्कोहलको सेवन गरेकाले पनि सामान्य वढेको हुनसक्छ । त्यसैले रगतसँगै पिसावको पनि जाँच गराउनु पर्छ । यदि वढेकै देखिएको हो भने पनि केहि दिन परहेजमा बसेर व्ययाम गरेर पुनः जाँच गरेर हेर्दा पनि धेरै बढेको अवस्थामा देखियो भने चिकित्सकको सल्लाह बमोजिम औषधी सुरु गर्नुपर्छ र आप्mनो दैनिकीलाई हुनसक्ने सम्म परिवर्तन गर्नृुपर्छ । जस्तै दैनिक आधा घण्टा जती छिटो छिटो पैदल हिँड्ने । खानाको आदतमा परिवर्तन गर्ने । आ, आजलाई खाने हो भनेर हेलचेक्राई नगर्ने । पेट पुरा अघाउनु अघि नै खान बन्द गर्ने । गलियो पदार्थ खानै नहुने होइन् । रगतमा चिनीको मात्रा कति छ या मधुमेह नियन्त्रणमा छ छैन सोही अनुसार मात्र मिलाएर मिठाई लगायत सबै खानेकुरा खान सकिन्छ । दिनमा एक प्रकारको फलफुल सेवन गर्न सकिन्छ । मन असान्त रहदा, निन्द्रा नलाग्दा शारीरिक व्यायाम नहुदा रगतमा चिनीको मात्रा वढन सक्छ । त्यसैले चिन्ता कम गर्न अरुको दुःख पिडा सम्झिने र सक्दो सहयोग गर्ने । मनमा सम्झिने की हामी केही दिनका निमित्त मात्र हौ । हामी खाली हात आएका थियौ र खाली हात जान्छौ । यस कुराले तनाव कम गर्छ र रगतमा गलुकोजको मात्रा पनि घटेर जान्छ । साकाहारी भोजन र घरमै पकाइने खानेकुरामा रमाउन सिक्ने । परिवारका सदस्यसँग बसेर आनन्दले थोरै भोजन धेरै सलाद खाने । सम्भव भएसम्म सिस्नु, कोदो, गहु, फापर, दुध या दही स्याउ जस्ता खाध्य पदार्थको सेवन गरौ । स्याउको नियमित सेवनले प्यान्क्रियाजले सक्रिय भएर काम गर्न थाल्छ । जसले मधुमेहको असर कम गर्छ । रगतमा ग्लुकोजका मात्रा घडवढ भइरहन्छ भने आफु कतै बाहिर जादा गोजीमा चकलेट आदि राख्ने गर्नुपर्छ । कहिलेकाही समयमा खान भएन भने ग्लुकोज घटेर चिसो पसिना आएमा, रिगंटा लागेमा या अत्यन्तै कमजोरी महशुस भएमा चकलेट या गुलियो पदार्थको सेवन गर्नुपर्छ । यो भनेको तत्कालको लागि मात्र हो ।

माथि भनिएका कुराहरुको पालना गर्दा पनि मधुमेह नियन्त्रणमा रहन सकेन भने सेवन गर्दै गरेको औषधीसँग प्राकृतिक चिकित्सा जस्तै होमियोप्याथिक या आर्युर्बेदको र योग चिकित्सा पनि अपनाउन सकिन्छ । मेथी, करेलो, जामुन जस्ता खाध्य वस्तबाट पनि सामान्य प्रकारको मधुमेह नियन्त्रण गर्न सकिन्छ । विशेष गरेर मधुमेहका रोगीमा हातखुट्टा, पैताला पोल्ने, झभम गर्ने निदाउने, निन्द्रा नलाग्ने, कब्जियत हुने, आँखाको ज्योती कमी भएर जाने जस्ता लक्षण देखिएमा माथि भनिएका उपचार पद्धति पनि सँगसँगै अपनाउन सकिन्छ । चिकित्सकको सल्लाहमा औषधी सेवन गरेमा औषधीको कुप्रभाव पनि हुँदैन र रोगीले पनि राहत महशुस गर्नेछन् । विश्व स्वास्थ संगठनको आकडा अनुसार मधुमेहका कारण प्रति सेकेण्ड एकजनाको मृत्यु हुनेगर्छ । र, नेपालमा पनि मधुमेहका रोगीको संख्या धेरै चाडो बढेर गएको कुरा सर्वजनिक भएको छ । त्यसैले मधुमेहबाट बच्न र यो रोगबारे जानकार हुन वर्षमा एक दिन मधुमेह दिवस मनाइने गरिएको छ ।

(लेखक: रीता होमियो किल्निक सेन्टर दमकका संचालक हुन् ।)

शनिबार, १७ जेठ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर