उर्लाबारी नगरपालिकाद्वारा बैकिङ क्षेत्रसँग सहयोग माग

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नगरमा रहेर बैकिङ सेवा सञ्चालन गरीरहेका दुई दर्जन बढी वित्तीय संस्थाहरुसँग कोरोना रोकथाम तथा राहत वितरणको लागि भन्दै आर्थिक सहयोग मागेको छ ।

नगरप्रमुख संयोजक खड्ग फागोले हस्ताक्षर गरी लिखित पत्र पठाएर सबै वित्तीय संस्थाहरुसँग मुनाफाको १ प्रतिशत नगरपालिकामा बुझाउन माग गर्नुभएको हो ।

संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महामारीको बेला नगरपालिकालाई आर्थिक सहयता प्रदान गर्न पत्रमा अनुरोध गरिएको छ । प्राप्त हुने आर्थिक सहयोग कोरोना रोकथाम, नियन्त्रण तथा बिपन्न परिवारलाई राहतको लागि प्रयोग गर्ने पत्रमा उल्लेख छ ।

नगरमा रहेका बैंक, विकास बैंक, फाइनान्स, लघुवित्तसहितसँग सहयोग मागेकोमा जीवन बिकास संस्थाले मात्र सहयोग गरेको नगरपालिकाका अधिकृत भरत अधिकारीले जानकारी दिनुभयो । अन्य वित्तीय संस्थाहरुले भने आफ्नो केन्द्र र प्रदेश कार्यालयले राहतकोषमा रकम जम्मा गरिसकेकोले स्थानीय तहलाई सहयोग गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।

गरिमा बिकास बैंक उर्लाबारीका प्रवन्धक बेदप्रसाद बाँस्तोलाले बैंकले केन्द्रमा ३५ लाख कोरोना कोषमा जम्मा गरेकोले उर्लाबारीमा सहयोग गर्न सक्ने स्थिती नभएको बताउनुभयो । नगरको कोरोना रोकथाम तथा नियन्त्रण समिति सदस्य रुद्रबहादुर तामाङले भने नगरका सहकारीहरुले पनि कोषमा सहयोग गरेकोमा बैंकका शाखाले पनि सहयोग गर्नु उनीहरुको दायित्व भएको जिकिर गर्नुभएको छ ।

बिहिबार, ०८ जेठ, २०७७, रातीको ०९:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर