विराटनगर । पश्चिम नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकलाई समेटर नेपालले नक्सा जारी गरेपछि चीनले सीमा समस्या दुई देशबीचको सम्वादबाट हल हुनुपर्ने बताएको छ ।
यसअघि सन् २०१५ मा भारत–चीनले लिपुलेक हुँदै व्यापारिक मार्ग निर्माण गर्ने सहमति गरेपछि यो विवादलाई हल गर्न त्रिपक्षीय वार्ता गर्नुपर्ने कुरा उठ्दै आएको बेला चीनले भने कालापानी सीमा विवाद भारत र नेपालबीचको भएको बताएको छ । सीमा विवादको निरुपण पनि दुई देशले आपसी सम्वादबाटै गर्ने विश्वास चीनको रहेको छ ।
भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । करिब ६ महिना अगाडि भारतले आफ्नो राजनीतिक नक्सामा लिपुलेक, लिम्पियाधुरा समेटेपछि नेपालमा विरोध भएको थियो । लगत्तै विरोध पत्र दर्ता गराएको नेपालले सीमा समस्या हल गर्न पटकपटक गरेको आग्रहलाई भारतले मौन ढंगले अस्वीकार गर्दै आएको थियो ।
वार्ता तथा छलफलका लागि भारत तयार नभएपछि नेपालले पनि सोमबार लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा मन्त्रीपरिषद्को बैठकबाट पास गरेको थियो ।
नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले कालापानीको मुद्दा नेपाल र भारतको भएको प्रतिक्रिया दिनुभएको हो । साथै चीनले एकपक्षीय कदमले स्थिति जटिल बनाउन सक्ने भएकोले यसबाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।
यता चीन मामिलाका जानकार प्रोफेसर डाक्टर राजिव झाले चीनले दिएको आजको प्रतिक्रियाले त्रिदेशीय समझदारी बिना सन् २०१५ मा भारतसँग चीनले गरेको सहमति पालना हुन सक्दैन भन्ने स्पष्ट संकेत गरेको प्रतिक्रिया दिनुभयो । त्यसका लागि त्रिपक्षीय समझदारी आवश्यक हुने उहाँको भनाइ छ । ‘चीनले भारतसँग व्यापारिक र धार्मिक हिसावले उक्त क्षेत्र प्रयोग गर्ने भनेको हो, तर, त्यो भूमिमा सेना ल्याएर राखेर कब्जा गर्नुपर्छ भन्ने सहमति गरेको होइन,’ हाम्रोमतसँगको कुराकानीका क्रममा डाक्टर झाले भन्नुभयो, ‘अब चीनले उक्त सडकलाई चीनसँग जोड्न दिन्छ जस्तो मलाईचाहिं लाग्दैन ।’