लोड हुँदैछ...

मेनु

कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह

कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि, पशु बीमाको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले लघु बीमाको दायरा विस्तारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले बीमा समितिको नियामकीय क्षमता बढाउनुपर्नेमा जोड दिँदै स्पष्ट दृष्टिकोणका साथ बीमाको क्षेत्रमा काम गर्नसमेत आग्रह गर्नुभयो । अर्थमन्त्रीले पछिल्ला दिनमा कृषि तथा पशु बीमाको कार्यक्रमलाई व्यापक बनाउनुपर्ने आवश्यकता बढेर गएकाले त्यसलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले चाँडै बीमा प्राधिकरण ऐन संसद्बाट पारित हुने र बीमाको नियमन तथा व्यवसाय विस्तारले थप व्यापकता पाउने पनि उल्लेख गर्नुभयो । हाल उक्त विधेयक संसद्को अर्थ समितिमा विचाराधीन अवस्थामा छ । अर्थमन्त्री डा खतिवडाले आफू मन्त्री भएर आएपछि बीमा समितिलाई दिएका सुझावहरु अहिले प्रगति विवरणमा समावेश भएकामा खुसी लागेको उल्लेख गर्दै समितिका कामप्रति सन्तोष व्यक्त गर्नुभयो ।

उहाँले समितिलाई समितिका रुपमा नभई नियामक निकायका रुपमा बीमा प्राधिकरणको रुपमा हेर्न चाहेको भन्दै त्यसका लागि बीमा विधेयकलाई छिट्टै निष्कर्षमा लैजाने आश्वासनसमेत दिनुभयो । अर्थमन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा आफू रहेको जानकारी दिँदै बजेटमा बीमा क्षेत्रका केही सुझाव भएमा विद्युतीय माध्यमबाट अर्थमन्त्रालयलाई उपलब्ध गराउनसमेत सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

उहाँले बीमाको पहुँच बढाउन नसक्ने भए नयाँ कम्पनी थप्नुपर्नेतर्फ समेत सम्बद्ध निकायलाई विशेष सचेत गराउनुभयो । अर्थमन्त्रीले बीमाको पहुँच द्रुत गतिमा विस्तार गर्नुपर्ने वर्तमानको आवश्यकता रहेकामा स्पष्ट पार्दै हाल सञ्चालनमा रहेका कम्पनीले त्यस्तो सम्भव नभएमा नयाँ कम्पनी थप्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुनर्बीमा कम्पनीले समेत पुनर्बीमाको दायरा बढाउन सक्नुपर्ने अन्यथा नयाँ पुनर्बीमा कम्पनी खोल्नुपर्ने बताउनुभयो । मन्त्री खतिवडाले बीमा र पुनर्बीमा कम्पनीले पसल मात्रै थापेर बस्ने अवस्था नरहेकाले बजारको खोजीमा लाग्नुपर्ने बताउनुभयो ।

तोकिएको काम हुन नसके र बजारको खोजीमा लाग्न नसके निजी क्षेत्रलाई अघि सारेर नयाँ कम्पनी खोल्न बाध्य हुनेसमेत उहाँको भनाइ छ । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “बीमाको दायरा बढाऔँ, नसके नयाँ संस्था खोलौँ, पुनर्बीमा कम्पनीले पनि सकिन्छ दायरा बढाऔँ नभए नयाँ संस्था खोलौँ ।”

बीमा समितिका अनुसार चालु आर्थिक वर्षको गत फागुन मसान्तसम्म जीवन बीमातर्फ रु ६० अर्ब २२ करोड बीमा शुल्क सङ्कलन भएको छ । जुन गतवर्षको तुलनामा सोही अवधिको तुलनामा ५१।२८ प्रतिशत वृद्धि हो । गत फागुन मसान्तसम्म सबै जीवन बीमा कम्पनीले ८५ लाख ३८ हजार ९५२ बीमालेख बिक्री गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २९।४१ प्रतिशत बढी हो ।

बीमा कम्पनीबाट बिक्री भएका कूल बीमालेखमध्ये १५ लाख ३७ हजार ५८५ वैदेशिक रोजगार म्यादी जीवन बीमा रहेका छन् । निर्जीवन बीमा व्यवसायतर्फ कूल २० कम्पनी छन् । निर्जीवन बीमा कम्पनीले गत फागुनसम्म कूल १६ लाख ३२ हजार ४४१ बीमालेख बिक्री गरेका छन् । जुन गत आवको तुलनामा २२।०३ प्रतिशतले बढी हो । सोमार्फत रु १७ अर्ब ८८ करोड बीमाशुल्क सङ्कलन गरिएको छ । यस्तै पुनर्बीमा कम्पनीतर्फ रु सात अर्ब ५३ करोड ९१ लाख पुनर्बीमा शुल्कबापत भुक्तानी भएको छ ।

यस्तै बाली तथा पशु बीमातर्फ सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । चालु आवको पुस मसान्तसम्म रु १४ अर्ब १२ करोड बराबरको बीमाङ्कको रु ६३ करोड ३३ लाख बीमाशुल्क सङ्कलन भएको छ । त्यसमा रु ४७ करोड ४९ लाख सरकारबाट अनुदान प्राप्त हुने क्रममा रहेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिनुभयो ।

समितिका अनुसार जीवन र निर्जीवन गरी कूल जारी भएका ८० लाख ९९ हजार ५०३ बीमालेखमध्ये लघु बीमाअन्तर्गत १० लाख २६ हजार ७१६ बीमालेख रहेका छन् । लघुबीमाको अंश १२।६८ प्रतिशत हुन आउने समितिको भनाइ छ । बीमा कम्पनीका दुई हजार ९९७ शाखा सञ्चालनमा छन् । बीमा क्षेत्रले कूल दश हजारभन्दा बढी कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । कूल पाँच लाख १९ हजार बीमा अभिकर्तामध्ये दुई लाख छ हजार अभिकर्ता सक्रिय रुपमा रोजगारीमा सहभागी छन् । करिब ४०० बीमा सर्भेयरका रुपमा कार्यरत छन् ।

बीमा क्षेत्रका सबै सरोकारवालाको प्रयासका आधारमा हाल २७ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको छ । बीमाको पहुँच वृद्धि र जोखिममा आधारित पूँजी संरचना तथा जोखिममा आधारित सुपरिवेक्षण कार्य सञ्चालन गरी शुसासन कायम गर्ने कार्यमा समिति लागिपरेको अध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र नियामकीय निकायहरुको क्षमता र सहयोग विस्तारका लागि एक अर्का निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बीमा कम्पनीले पुँजीबजारमा राम्रो हिस्सा ओगटेको र नयाँ बीमा कम्पनीसमेत पुँजीबजारमा सुचीकृत हुने क्रममा रहेको भन्दै यसले पुँजी बजारको विकास र विस्तारमा थप सहयोग पुग्ने धारणा राख्नुभयो ।

नेपाल बीमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले कोभिड–१९ का कारण बीमा क्षेत्रमा ठूलो असर परेकाले बीमा कम्पनीलाई आयकर र भ्याटमा छुट दिनुपर्ने बताउनुभयो । उहाँले बीमा पुलबाट गरिएको कोरोना बीमामा ६६ हजार ८६० जनाको कोरोना बीमा भएको र रु तीन करोड ६३ लाख बीमा शुल्क सङ्कलन भएको जानकारी दिनुभयो । जीवन बीमक सङ्घका अध्यक्ष शिवनाथ पाण्डेले जीवन बीमा क्षेत्रमा अहिलेसम्म रु तीख खर्ब ५० अर्बको बीमाशुल्क सङ्कलन गरिसकेको जानकारी दिनुभयो ।

– रासस

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।