सरकारको चेतावनी प्रोपोगाण्डामा सीमित, निजी अस्पतालको बद्मासी रोकिएन

नोबेलको इमर्जेन्सीबाट फेरि निकालिइन् उदयपुर घर भएकी विरामी/निजी अस्पतालले निकालेका विरामीहरुको कोशी अस्पतालमा सहजै उपचार

विराटनगर । प्रदेश सरकार र संघीय सरकारले विरामीको उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिएपनि विरामीहरुले निजी अस्पतालमा उपचार पाउन कठिन बन्दै गएको छ ।

प्रदेश १ को उदयपुरको भुल्केका ३२ जनामा कोरोना संक्रमण देखिएपछि निजी अस्पतालले उदयपुरका विरामीलाई प्रदेश दिनै छाडेका छन् । अन्यत्रका विरामी पनि कोरोना परीक्षणपछि मात्र भर्ना लिने भन्दै पन्छाउने गरेका छन् ।

अस्पतालले उदयपुर घर बताउनेहरुलाई त प्रवेशमै रोक्ने र प्रवेश गरेकालाई पनि उपचारविना फर्काउने गरेका छन् । विराटनगरको नोबेल मेडिकल कलेजले उदयपुरका २ जना विरामीलाई यसअघि नै अपरेशन थिएटरबाट निकालेको थियो । यस्तै सुनसरीका एक युवाले विराटनगरका निजी अस्पतालले भर्ना लिन नमान्दा ज्यान गुमाउनु परेको थियो ।

सरकारले कोरोनाको बहानमा विरामीको उपचार नगर्ने अस्पताललाई कार्वाही गर्ने चेतावनी दिँदै आएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विरामीको उपचार नगर्ने अस्पतालको दर्ता खारेज गर्ने चेतावनी दिनुभएको थियो । अन्य मन्त्रीहरुले विरामीको उपचार गर्न बहानाबाजी गर्ने अस्पताललाई कार्वाही गर्ने र दर्ता खारेज गर्नेसम्मको चेतावनी दिँदै आएका छन् । तर, सरकारी चेतावनी प्रोपोगाण्डामै सीमित हुँदा विरामीलाई उपचार पाउन मुस्किल परिरहेको छ ।

बुधबार पनि नोबल मेडिकल कलेजले उदयपुर घर भएकी एक महिलालाई आकस्मिक कक्षबाट निकालेको छ । नोबलले गेटमा ज्वरो नापेर इमर्जेन्सीमा भर्ना भएकी ६० वर्षीया पुनिता कर्णलाई चिकित्सकले नहेरी रेफर गरेपछि कोशी अस्पतालमा भर्ना गरेको छोरा रमित कर्णले जानकारी दिनुभयो ।

नोबेलमा भर्ना भएपछि एक्स–रे गर्न पुर्जीसमेत काटिसकेकोमा अस्पतालले शुल्कसमेत फिर्ता गरेर हतार–हतार रेफर गरेको हो । नोबेलले भने फोक्सोको समस्या भएर आएकी महिलालाई आफन्तको सल्लाहमै औषधी लेखेर डिस्चार्ज गरिएको दावी गरेको छ ।

नोबल मेडिकल कलेजले वैशाख १९ गते उदयपुरको त्रियुगा – ६ का भीमबहादुर खत्रीलाई उदयपुर घर भएकै कारण अप्रेसन थिएटरबाट निकालेको थियो । यस्तै वैशाख १७ प्रसुतिका लागि भर्ना भएकी गाइघाट–११ कि सरस्वती रौनियारलाई पनि अप्रेशन थिएटरबाट निकालिएको थियो । दुबैले कोशीमा उपचार पाएका थिए ।

यसअघि मोरङको पथरी शनिश्चरेकी एक बृद्धाले खोकेपछि नोबेलले अपरेशन थिएटरबाट निकालेर धरान रेफर गरेको थियो । वैशाख १८ गते विराटनगरका कुनै निजी अस्पतालले भर्ना लिन नमानेपछि सुनसरीको देवानगञ्ज १ का रवीन्द्र यादवको समयमा उपचार नपाएर मृत्यु भएको थियो । मृगौला र लिभरमा समस्या देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने उनलाई दिनभर विराटनगरका अस्पतालमा आफन्तले घुमाउँदा भर्ना नलिएपछि ढिलो गरी धरान पु¥याउँदा मृत्यु भएको थियो ।

निजी अस्पतालले सामान्य विरामीको उपचार गर्न नमानिरहेको बेला कोशी अस्पताल विराटनगरमा भने नियमित काम भइरहेको अस्पतालले गत मंगलबार उदयपुरका तीनसति ८ जनाको शल्यक्रिया गरेको थियो । निजी अस्पतालले आफ्नो न्युनतम् दायित्व पनि पुरा नगरेको कोशी अस्पतालका मेसु डा. संगिता मिश्रको भनाइ छ ।

निजी अस्पतालले कोरोनाको परीक्षणपछि मात्र उपचार गर्नसक्ने भन्दै उदयपुरका विरामीलाई पन्छाउने गरेका छन् । अन्यत्रका पनि अन्य समस्या भएका विरामीमा ज्वरो वा खोकी देखिएमा विरामीलाई पनि उनीहरु छुन मान्दैनन् । जबकी कोशी अस्पतालमा उनीहरुको कोरोना परीक्षण नभएपनि सुरक्षा सतर्कता अपनाएर उपचार र शल्यक्रिया हुने गरेको छ ।

उदयपुर ठेगाना भएकै कारण बिरामी निकाल्न थालेपछि उदयपुरका जनप्रतिनिधिले भेदभाव गर्ने अस्पताललाई कारबाही गर्न माग गरेका छन् । तर, निजी अस्पतालसामु सरकार निरिह देखिएको छ ।

फोटोमा नोबेल मेडिकल कलेज र इन्सेटमा नोबेलबाट निकालिएकी विरामी पुनिता कर्ण

बिहिबार, ०१ जेठ, २०७७, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर