विराटनगर । विराटनगरको कोरोना अस्पतालबाट ६ जना कोरोनाका बिरामी डिस्चार्ज भएसँगै उपचारमा संलग्न चिकित्सकहरुले आफूहरुको मनोबल उच्च भएको प्रतिक्रिया दिएका छन् ।
कोरोना अस्पतालमा डाक्टर दिपक सिग्देलको संयोजकत्वमा डाक्टर डेनप्रसाद आचार्यसहितको टोली फ्रन्टलाइनमा काम गरिरहरेको छ । यस्तै डा. भुपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण, डा. प्रमोद साहको टोली पनि कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरहरु हुन् ।
‘सुरुमा त डाक्टरहरु रुने अवस्था थियो, उपचारका लागि बाध्य भएर जानुपर्दा घर, परिवार बिर्सेर गएका थियौं,’ उपचारमा संलग्न डाक्टर दिपक सिग्देलले भन्नुभयो, ‘अहिले त हाम्रो मनोबल उच्च भएको छ, स्वास्थ्यकर्मीहरु पहिले पहिले टाढा बस्नुहुन्थ्यो, अहिले त दुरी कायम गरेर पनि उपचार गर्न सकिने रहेछ भन्ने अवस्था छ ।’
बिरामी डिस्चार्ज गर्न पाउँदा खुसी भएको बताउँदै सिग्देलले पहिलेको भन्दा अहिले स्वास्थ्यकर्मीहरुको मनोबल फरक रहेको दाबी पनि गर्नुभयो । ‘बिरामी डिस्चार्ज गर्न पाउँदा खुसी भएका छौं, सुरुको दिन र अहिलेको दिनमा हाम्रो मनोबल नै फरक भइसकेको छ, २/३ सय बिरामी आएभने पनि धान्न सकिन्छ कि जस्तो लाग्न थाल्यो मलाई त,’ सिग्देलले भन्नुभयो, ‘अस्पतालबाट जाने बिरामीहरुले पनि राम्रो अनुभूति राख्नु भएको छ, वेल इक्युपमेन्ट भएको भएर पनि धेरै गाह्रोे छैन, अब त कोरोना उपचारका लागि अरु डाक्टरहरु पनि आउन तयार भएर बसेका छन् ।’
कोशी अस्पातलकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले वैशाख ५ गते राती बिरामी रिसिभ गर्दा आफूहरुको मनमा एकदर्म त्रास भएपनि अब त्यो हटेको बताउनु भयो । ‘आज २० दिनमा ६ जना बिरामीलाई डिस्चार्ज गर्दा म एकदमै खुसी छु’, मिश्रले भन्नुभयो, ‘बिरामीको प्रतिक्रिया सुनेर पनि हामीलाई खुसी लागेको छ । हाम्रोलागि त्यो भन्दा ठूलो कुरा अरु केही छैन ।’
व्यवस्थापकीय हिसावले पनि डाक्टरको टिमले राम्रो काम गरेको उहाँको प्रतिक्रिया छ । ‘सुरुमा हामीलाई केही थाहा थिएन, डाक्टर दिपक सिग्देल, डाक्टर डेनप्रसाद आचार्यको टिमले प्रत्येक दिन कोरोनाबारे अध्ययन गर्दै खटिएपछि अहिलेको रिजल्ट आएको हो,’ डाक्टर संगीता मिश्रले बताउनु भयो, ‘त्यसमा एकदम विषम परिस्थिति थियो, त्रासको माहोल थियो, रोगको प्रकृति पनि थाहा थिएन ।’
मिश्रले पहिले नर्सिङको टिम त्रसित भएर पनि ड्युटीमा आउन बाध्य भएको बताउनु भयो । ‘घरपरिवारको माया मारेर साथीहरु बिरामीको उपचारमा आउनु भयो, केही हाम्रा साथीहरुलाई त घरबेटीले पनि घर पस्न दिएनन् । यद्यपि अहिले हामीले जुन सफलता पाएका छौं । हामीलाई एकदमै खुसी लागेको छ,’ मिश्रले भन्नुभयो, ‘प्रदेश सरकारलाई एकदमै धन्यवाद दिन चाहन्छु । यो अस्पताल नबनाएको भए यति उपचार प्राभवकारी ढंगले हामीले गर्न सक्ने थिएनौं ।’
अस्पतालमा उपचाररत अन्य कोरोनाका बिरामीको पनि स्वास्थ्य अवस्था ठिक रहेको र अन्य बिरामीको ५ दिनपछि स्वाब टेस्ट गर्ने तथा डिस्चार्ज गरेर मस्जिदमा बसेकाहरुको १४ दिनपछि एक पटक फेरि टेस्ट गर्ने उहाँले बताउनु भयो ।
यता प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले चिकित्सकीय सेवाको जिम्मेवारी पूरा गर्नेहरु सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभएको छ । उपचाररत अन्यको क्रमशः डिस्चार्ज गर्ने क्रम सुरु भएको बताउँदै उहाँले आफू अत्यन्तै सन्तुष्ट भएको प्रतिक्रिया दिनुभयो । अस्पतालको भित्री पाटोृ व्यवस्थापन, स्वास्थ्य उपचार, चिकित्सकको परामर्श सबै राम्रो भएकै कारण आफूहरुले सफलता पाएको घिमिरेको भनाइ छ ।
हाल ७२ जना स्वास्थ्यकर्मी उपचारमा खटिएको बताउँदै उहाँले अहिले तेस्रो टोली खटिरहेको बताउनु भयो । डिस्चार्ज भएका विदेशी नागरिक भएपनि तत्काल स्वदेशमा फर्किने सक्ने अवस्था नरहेको बताउँदै उहाँले चिकित्सकले तोकेको अवधि पुरा गरेपछि घरजाने वातावरणका लागि पहल गर्ने प्रतिक्रिया दिनुभयो ।
उपचार पछि डिस्चार्ज भएका भारतीय नागरिक अनुस जैदीले उपचारको समयमा आफूहरुलाई कुनै समस्या नभएको प्रतिक्रिया दिनुभयो । ‘हामीलाई केही समस्या भएन, स्टाफदेखि सबैले हामीलाई राम्रो सहयोग गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘हामीलाई यहाँको सरकार र डाक्टरको टिमले राम्ररी उपचार गरेको छ ।’