डा.बालकृष्ण साह
घटना १ : बिराटनगरको हनुमानदास रोड अर्थात शनी मन्दिरदेखि अस्पताल चौक जाने बाटो, दिउँसो पुरै भीडभाड । कारण अधिकांश बैंकका शाखा कार्यालय त्यो बाटोमा रहेछ । सबै बैंकहरु १ बजेसम्म मात्र खुल्ने र सिमीत मानिसहरुलाई मात्र छिर्न दिए पछि अधिकांश सडकमा बस्नुपर्ने ।
घटना २ : विराटनगर कोचाखाल अर्थात् विराटनगर ५ बिहान पूरै भीडभाड । कारण तरकारीको किनमेल । सुनसरीका गाउँहरु (चिमडी, छिटहा, हरिनगरा, भुटहा आदि) बाट ताजा तरकारी आउने अनि सस्तोमा ताजा तरकारी किन्नेहरुको लस्कर ।
घटना ३ : विराटनगरका अधिकांश साना सडकहरु जहाँ मर्निङ्ग वाक र ईभिनिङ्ग वाक हुन्छ, कसैले नेताहरुलाई गाली गर्दै त कसैले अन्य समाजिक बिषयवस्तुका बारेमा चिन्तन गर्दै हिंडिरहेका हुन्छन् ।
लामो समयको लकडाउनले आर्थिकरुपमा हामी कमजोर हुँदै गएको सत्य हो । घरमा बसेर दिक्क मात्र भएका छैनौं, समस्याले पनि घेरिसकेको छ । व्यावसायिक र आर्थिक असहजता अनि यसले उत्पन्न गरेको पारिवारिक, सामाजिक र मानसिक समस्याको पहाड अग्लिसकेको छ । दैनिक ज्यालादारीहरुले १५–२० केजी चामलले कति दिनसम्म पु¥याउन सकिएला ? समस्या दैनिक ज्यालादारीमा काम गर्नेमा मात्र सिमीत छैन । निजी क्षेत्रमा काम गर्ने सबै वर्गले पूर्ण तलब पाएका छन् वा पाउन सक्ने अवस्थामा छैन । बन्द व्यवसायले कति दिन तलब बाँड्न सक्लान् ? सबैले सोच्नु आवश्यक छ । लामो समयको लकडाउनले रोकिएको उत्पादन अनि सिमीत खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तुहरुले कसरी र कति समय सम्म पु¥याउन सकिन्छ ?
तर यो कुरा गरिरहँदा कोरोनाको संक्रमण फैलिन दिने हो त भन्ने कुरा आउँछ । प्रदेश नं. १ मा नेपालकै सबैभन्दा बढी कोभिड १९ का संक्रमित रहेको छ । यद्यपि नेपालमा कुनै पनि संक्रमित सिकिष्त अवस्थामा नहुनु, संक्रमितहरुबाट घरकै धेरै सदस्यहरुमा पनि नफैलिनु र यसका कारणले कसैको मृत्यु नहुनुले पक्कै सकारात्मक उर्जा दिएको छ । समयमै लकडाउन, उच्च सर्तकता, क्वारेन्टिन र कोभिड अस्पतालको व्यवस्थापनले गर्दा कुनै मानवीय क्षति तथा आत्तिनु पर्ने अवस्था आउन सकेनन् । यसमा दुईमत पक्कै नहोला ।
तर एक पटक सोचौं १ बजे सम्म खुल्ने बैंक ४ बजेसम्म खोल्दा के हुन्छ ? हो मानिसको भीड नियन्त्रण गर्नुपर्छ तर बैंक अगाडि सडकमा भीड हुनुले संक्रमण फैलिनबाट रोक्छ र ? बिहान ९–१० बजे सम्म तरकारी किन्दा संक्रमण नफैलिने र दिउसो फैलिने पनि पक्कै होईन होला । आफ्नो सवारी साधन हुनेहरुले बजार जान मिल्ने र साधन नहुनेले घरमा नै बस्नुपर्ने पनि होईन होला । मर्निङ्ग वाक गर्न मिल्ने अनि रिक्सा ठेल्न नमिल्ने पक्कै होईन होला ।
सरकारले मात्र सबै कुराको समाधान गर्न सक्दैन होला । यस बिषयमा जनस्वास्थ्य विज्ञ, चिकित्सक, उद्योगपति, व्यपारी, उपभोक्ता, मजदुर र नेतृत्ववर्गमा बहस हुनु अत्ति आवश्यक छ । यो समान्य अवस्था पक्कै होइन, अहिलेको अवस्थामा जुनसुकै सरकारलाई निर्णय लिन र व्यवस्थापन गर्न सजिलो छैन ।
राम्रो कुरा के भने प्रदेश नं. १ मा खाद्यन्नको उत्पादन राम्रो छ । यस प्रदेशमा प्रसस्तै उद्योगहरु पनि छ । यस प्रदेशलाई दुईतिर भारत अर्कोतिर कोशीले (उदयपुर, ओखलढुंगा बाहेक) ले राम्ररी घेरेको छ । यदि अन्तराष्ट्रिय सिमाना (बोर्डर) र कोशीलाई सिल गर्ने हो भने आन्तिरिक रुपमा प्रदेश १ का उद्योगहरु सञ्चालन गर्न सकिन्छ कि ? हाम्रो स्थानीयमा संक्रमण नरहेको हुँदा बाहिरबाट संक्रमित आउने बाटाहरु बन्द गरेर आन्तरिक खोल्न सके एकातिर स्वदेशी उत्पादनले आवश्यक्ता पुरा गर्ने थियो भने अर्कातिर आर्थिक मारमा रहेका श्रमजिवी तथा उद्योगी र व्यपारीहरुले पनि राहत महशुस गर्ने थिए । कोभिड १९ को कुनै भ्याक्सिन तथा उपचार आई नसकेको वर्तमान अवस्थामा हामीसँग सिमीत उपायहरु र त्यसमध्ये प्रमुख भौतिक दूरी, मास्क र सरसफाई नै हो पनि बिर्सन सकिँदैन ।
कुरा सान्दर्भिक छ मलाई एकदम चित्त बुझ्यो तर यसको समाधानको लागि समयमै सरोकारवाला हरुको ध्यान जाओस् धन्यवाद डाक्टर साहेब लाइ