लकडाउनको चपेटामा परेका किसानलाई राहतको आशा

विराटनगर । ‘बा’ ले गर्दै आएको परम्परागत तरकारी खेतीलाई २२ वर्षे युवा मनोज मण्डलले सुधार गरेर आधुनिक प्रणालीमा विकसित गर्नुभयो । औपचारिक तालिम र तरकारी खेती सम्वन्धी शिक्षा नलिएका मण्डलले ‘यु ट्युब’ हेरेर आधुनिक खेती गर्ने तरिका व्यवहारमा परीक्षण गर्नुभएको हो ।

यु ट्युबमै हेरेर बीऊ, मल, औषधि र त्यसको मात्रा आदिको बारेमा जानकारी लिनुभयो । दश कक्षासम्मको औपचारिक शिक्षा लिनुभएका मनोज विदेश जाने तरखरमा हुनुहुन्थ्यो तर नेपालमै पैसा कमाउने विश्वासले आधुनिक तरकारी खेतीका लागि उहाँले ‘बा’ लाई पालो दिनथाल्नुभयो ।

विराटनगर ४ इक्राहीमा करिव एक बिघा जमिन भाडामा लिएर तरकारी खेती बिस्तार गर्नुभएका मनोजले १० कठ्ठामा गोलभेडा रोप्नुभएको छ । गोलभेडा लटरम्म फलेको छ । बोटमै पाकिरहेको छ । गोलभेडा लगायत अरु तरकारी खेती गर्न यु ट्युब नै मनोजका लागि गूरु बन्यो । यु ट्युबमा विज्ञहरुले राखेका भिडियो हेरेर तरकारी खेती गर्दा उहाँलाई निकै सजिलो भयो । ‘मैले यु ट्युब हेरेर खेतीलाई आधुनिक तरिकाबाट विस्तार गरें,’ मनोजले भन्नुभयो ‘मेरो गुरु यु ट्युब नै हो जसले राम्रो उत्पादन लिन, रोगहरुको पहिचान गर्न, बीउ छनौट गर्ने लगायत सबै कुराको ज्ञान दिएको छ ।’

लाखौंको गोलभेडा कुहिने डर

अघिल्लो वर्षदेखि तरकारी खेतीमा रमाइरहनुभएका मनोज अहिले भने केही निराश हुनुभएको छ । १० कठ्ठामा २५ सय बोटमा लटरम्म गोलभेडा फलेका छन् । एउटा बोटमा कम्तिमा पनि २० किलो फसल हुन्छ । अहिले उत्पादनको मुख्य सिजन हो । तर १५ दिन यता उहाँले गोलभेडा टिप्नुभएको छैन । लाखौंको उत्पादन बोटमै कुहिने अवस्था आएकोमा मनोजलाई डर लागिरहेको छ ।

मनोज भन्नुहुन्छ ‘व्यापारी किन्न आए आजै २० टन गोलभेडा दिन सक्छु तर बिक्री नै हुँदैन, पहिलो जसले मेरो उत्पादन लैजान्थ्यो बन्दीले गर्दा उ पनि आउन छोडेको छ ।’ लकडाउन हुनु अगाडि दैनिक ३ टन गोलभेडा बिक्री गर्दै आउनु भएका मनोजले अहिले स्थानीय व्यापारीलाई मुस्किलले तीन चार क्वीन्टल मात्र बिक्री गरिरहनुभएको छ । अब धेरै दिन बोटमा गोलभेडा राख्न सक्ने अवस्थामा पनि छैन । उहाँको गोलभेडा नष्ट हुन करिव निश्चित छ । मनोजलाई यस पटक गोलभेडा खेतीबाट लाखौंको नोक्सानी हुने डर लागेको छ । ‘म पैसा कमाउन अलिअलि भएको सम्पति खेतिमै लगाएर यतै बसेको थिएँ तर यस पटक धेरै घाटा हुने देख्दैछु अर्को खेती कसरी गर्ने भनेर चिन्ता लाग्न थालेको छ,’ मण्डलले भन्नुभयो । बजारमा ५० रुपैयाँ किलोमा बिक्री भइरहेको गोलभेडा १५ रुपैयाँमा लैजाउ भन्दा पनि व्यापारीहरु नआएको उहाँको गुनासो छ । जरे सिमी, लौका, फर्सी, बोडी जस्ता तरकारी पनि प्रयाप्त बिक्री नभइरहेको उहाँले बताउनुभयो ।

उहाँमात्र होइन इक्राहिका करिव एक दर्जन किसानहरुले यतिबेला आफ्नो उत्पादन बजारमा पठाउन सकेका छैनन् । गोलभेडा खेती गर्नेहरु अलि बढी मारमा परेका छन् । सहज अवस्थामा ढल्केवरबाट व्यापारी आउँथे । गाडीमा लोड गरेर लैजान्थे । उत्पादन बिक्री गर्न खासै गाह्रो थिएन । तर अहिले अवस्था सहज छैन । त्यसैले गर्दा उत्पादन बिक्री गर्न गाह्रो परेको हो ।

इक्राहीकै सुनिता बिनको पनि उस्तै गुनासो छ । उहाँको खेतभरी फर्सिका कैंडा बग्रेल्ती छन् । ‘फर्सी फलेको छ तर बजार लैजान पाएको छैन,’ सुनिताले भन्नुभयो ‘बुढाले सिटी सफारीमा राखेर अलिअली चोकतिर लैजानु हुन्छ प्रहरीले लखेटिहाल्छ त्यसै फर्किनुहुन्छ ।’ सुनिताले एक बिघा खेतमा फर्सी खेती गर्नुभएको छ । गिनरीको साग पनि छ खेतमा । ‘गिनरी फुल्न थालिसक्यो तर बेच्ने ठाउँनै छैन’ उहाँले भन्नुभयो ।

इक्राहीमा केही दिन अघि सरकारले विपन्नहरुलाई राहत वितरण ग¥यो । उनीहरुको थोरै भएपनि समस्या समाधान भयो । तर आफ्नो बीऊ पूँजीसमेत मासिने अवस्थामा पुगेका किसानहरुको बारेमा सरकारले केही पनि नबोलेकोमा मनोज र सुनिताले प्रश्न गरेका छन् । भन्छन् ‘सरकारले किसानको समस्या सुन्दैन, सुन्नै पर्दा पनि पहुँचवालाको मात्र सुन्छ ।’ उनीहरुले भनेका छन् ‘लकडाउनले किसान सबैभन्दा धेरै मारमा परेका छन् उनीहरुलाई पनि यथोचित राहतको प्रवन्ध गर्नुपर्छ ।’

आइतबार, ०७ बैशाख, २०७७, बिहानको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर