पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने ब्यक्तिलाई खाद्यान्न बिक्री नगर्न ब्यवसायी तथा स्थानीयवासीलाई अपिल गरेको छ ।
लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुनसक्ने भन्दै गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरिद विक्रीमा रोक लगाएको हो ।
गाउँपालिकाले मदिरा उत्पादन गर्ने ब्यक्ति, समूह वा ब्यवसायीलाई खाद्यान्न बिक्री वितरण नगर्न स्थानीय ब्यवसायीहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ ।
गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारबाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले वताउनुभयो । गाउँपालिकाले धान, मकै, कोदो लगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ । चामलसहित मकै, कोदो लगायत खाद्य सामग्रीको प्रयोग गरी स्थानीय स्तरमा जाँड, रक्सी लगायत मदिराजन्य सामग्री उत्पादन हुने गरेका छन् ।
मदिराजन्य सामग्री उत्पादनमा ठूलो परिमाणमा खाद्य सामग्री खपत हुँदा खाद्यान्न अभाव हुनसक्ने भएकाले खाद्यान्नको जथाभावी प्रयोग र विक्रीमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत राईले वताउनुभयो । निर्माणाधीन राँके–रबि–भेडेटार सडक तथा दमक–चिसापानी–रबि सडकले जोड्ने यो गाउँपालिका तत्कालै भने खाद्यान्न आपूर्तिका दृष्टिले दुर्गम मानिन्छ ।
लकडाउन लम्बिँदै वर्षायामसम्म पुगेमा सडक अवरुद्ध भई खाद्यान्न अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गरी खाद्यान्न सञ्चितीमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताउनुभयो ।

