यस्ता कुरा अहिले नगरौं

 डा.रवीन्द्र पाण्डे

# कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो । यस्ता तनाब दिने कुरा नगरौं । यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए, भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन्, । नेपाल औद्योगिक देश हैन, तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन ।

# भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं । नाकाबन्दीमा बाँचेका थियौं । औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि । हामीले सिधै चीनबाट ल्याउन सकिन्छ । नेपालमा सयौं औषधि कम्पनी छन्, उनीहरुले आफ्नो ब्यबसाय गर्नेछन् । त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं । बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ । नेपाल कृषिप्रधान देश हो । गाउँ पुरै बाँझो छ, गाह्रो पर्यो भने हामीहरु खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं ।

# लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं । खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ ।

# कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं । मर्न त्यति सजिलो छैन, संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन । हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ । हामीकहाँ ४÷६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन्, हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन । लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु र भेन्टिलेटरमा बस्नुपरेको छैन । उनीहरु दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् ।

# सरकारले केहि गर्दैन, भ्रष्टाचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं । सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो । देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, पीपीई जस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ । प्रहरी प्रशासन रातदिन खटेको छ । स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर काम गरिरहेका छन् । जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ । यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबी, चुनाब आदिले तह लगाउनेछन् । उनीहरुलाई पापले भतभती पोल्नेछ । नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन ।

# सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं । कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानुभयो भने भोक र ज्वरोले मरिने छैन । गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् ।

# भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरु नेपाल आएर बर्बाद गर्छन् भनेर पनि चिन्ता नगरौं । त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ, मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ । आवश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ । हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं ।

# चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ । तसर्थ घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं । सकिन्छ आशाका किरण वितरण नगरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं ।
लेखक जनस्वास्थ्यविज्ञ हुन् ।

बिहिबार, ०४ बैशाख, २०७७

प्रतिक्रिया

  1. Sahi sir yo paristhiti ma hami jagroup huna sikau corona euta common cold ra flu jastai roop ma liyeu tyo vandaima hami covid 19 ko palana nagarau vaneko pani hoina. Pahilo kura hamro swastha ko immune system vanne kuralai agraj badauna k garnu parne ho tyo sochnu parcha ra. Tanab ra chinta ye sabai kura lai asar garcha..Aba hami bistarai sochai paribartan ma lagnu parcha jasto lagcha sir…haina ra

प्रतिक्रिया:

सम्बन्धित खवर