रुपेश खतिवडा
SARS- COV-2 अर्थात COVID-19 का कारण आज विश्व मानव अस्तित्व संकटमा छ । सन् २०१९ डिसेम्बरमा मित्रराष्ट्र चीनको वुहान शहरमा यो भाइरस पहिलो पटक देखा पर्यो । सन् २०१९ मार्चमा विश्वस्वास्थ्य संगठनले यो महामारी हो भनी यकिन गर्यो र विश्व समुदायलाई सावधानीका उपायहरु अपनाउन अपिल गर्यो । अप्रिल ८ मा आईपुग्दा बुहान शहरले त्यो कालजयी भाइरसलाई सावधानीका साथ पराजित गरेको घोषणा गर्दै ७३ दिनको लकडाउनबाट बुहानबासीलाई मुक्ति दिलाउन सफल भएको घोषणा गर्यो । तर, बिडम्बना त्यही दिनमा मात्र महाशक्ति राष्ट्र अमेरिकामा १९०९ जनाको मृत्यु भएको छ भने इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायतका दुईसय नौ राष्ट्रहरुमा यो महामारी थप बढिरहेको खबरले विश्व समुदाय थप त्रसित हुन पुगेको छ ।
आजको विश्व तथ्यांकलाई हेर्दा १६,२२,७९४ संक्रमित, ४९,२४५ सिकिस्त र ९७,२०६ को मृत्यु भईसकेको देखिन्छ भने ३,६६,३४६ उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा भने आजसम्म संयोगवस ९ जना मात्र संक्रमित देखा परेका छन् र एक जना उपचारपछि डिस्चार्ज भएका छन् । तर, यो यतिमै सिमित हुने कुनै निश्चितता भने छैन । यो भाइरस उपचारको यकिन औषधिको अनुसन्धान भईरहेको छ । तर, अहिलेसम्म पत्ता लागिसकेको पाईदैन । आशा गरौं, चांडै औषधि उत्पादन भई विश्व मानव जगतलाई जोगाउन सकियोस् । यस महामारीले विश्व समुदायमा भय र त्रासले जरा गाडिरहेको छ । नेपाल सरकारले कोभिड–१९ संक्रमण हुन नदिन लकडाउन घोषणा गरेको आज १७ दिन भईसकेको छ । यसको पालना बुहानवासीले जस्तो हामी नेपालीले गर्न सकेका छौं छैनौ जगजहेर नै छ । पालना गर्नुपर्छ की पर्दैन यो पंक्तिकारले संझाईरहनु नपर्ला, विश्वभरी नै सोझा र इमान्दार भनेर चिनिएका हामी नेपालीलाई । साथै सावधानीका अन्य सुरक्षित उपायहरु कति अवलम्बन गर्दैछौं या छैनौ त्यो पनि भनिरहनु नपर्ला ।
अब म कोभिड–१९ ले आगामी केही वर्षसम्म नेपालको अर्थ व्यवस्थामा पार्ने प्रभाव र असरहरुको बारेमा चर्चा गर्न गईरहेको छु । कोभिड–१९ ले विश्व मानव स्वास्थ्यमा त ठूलै क्षति पुर्याउने निश्चित प्राय छंदै छ भने विश्व आर्थिक व्यवस्थामा समेत ठूलो संकट पैदा गर्ने कुरामा द्विविधा छैन । नेपाल विश्वमानचित्रमा एक सानो कम विकशित राष्ट्रहरुमध्येको एक भुपरिबेष्ठित देश हो । शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापनमा दयनीय अवस्थाबाट गुज्रिरहेको मुलुक हो, यो । मुलत: परनिर्भरता अर्थात वैदेशिक ऋण र रेमिटान्सको जगमा जसोतसो बाचिरहेको मुलुक हो, यो । पाच वर्ष अघिको विनाशकारी भुकम्प र तथाकथित भारतीय नाकावन्दीका कारण ठूलो आर्थिक संकट झेल्न बाध्य भई भरखरै धुलो टक्टक्याएर उठ्ने प्रयास गर्दै गरेको विद्यमान अवस्थामा लगत्तै अर्को कोभिड–१९ महामारीको चपेटामा परेको छ । यो महामारीको आर्थिक प्रभाव र असर विकशित र शक्तिशाली राष्ट्रहरुमा समेत पर्ने देखिन्छ भने हाम्रो जस्तो कमविकशित राष्ट्रले अबका केही वर्ष ठूलो आर्थिक संकट झेल्नुपर्ने अवस्था आएको छ । कुन तहको संकट व्यहोर्नुपर्ने हो भन्ने कुरा कोभिड–१९ को संक्रमणको स्तर र स्थीतिले निर्कौल गर्नेछ, अहिल्यै आंकलन गर्न सकिदैन । तर, निम्न संकटहरु भने अवश्यमेव झेल्नैपर्ने देखिन्छ ।
पहिलो : नेपालको कुल गार्हथ्य उत्पादन (GDP) मा झण्डै ३० प्रतिशत वैदेशिक रेमिटान्सको योगदान रहेको छ । यो अवस्था अब रहनेछैन किनकी विश्वका धेरै राष्ट्रहरुमा श्रम गरिरहेका ५० औं लाख युवाहरु काम गरिरहेका उद्योग, कलकारखाना, व्यापारिक मल आदि यो संकटका कारण कर्मचारी कटौती गर्न बाध्य हुनेछन् र युवाहरु रोजगारी गुमेर आफ्नो घर फर्कनेछन् ।
दोस्रो: पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा कटौती हुनेछ । किनकी नेपालले पर्यटक भित्र्याउनका लागि अघि सारेको नेपाल भ्रमण वर्ष २०२० कोरोनाका कारण स्थगित गरिसकेको छ र सबैभन्दा वढीे चिन, भारत, यूरोप र अमेरीकाबाट पर्यटक आउने अनुमान गरिएकोमा अब त्यो अवस्था रहेन । जसको कारण ट्राभल्स, यातायात, होटल व्यवसाय बन्द हुने अवस्थामा पुग्नेछन र त्यहा“ कार्यरत हजारौं कामदारहरुको रोजगारी गुम्नेछ ।
तेस्रो: नेपालका उद्योग कलकारखानाहरुले उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरु जस्तै, सिमेन्ट, फलाम, स्टिल, कपडा, औषधि, विधुतीय उपकरण आदि विदेशबाट आयात गर्न विश्वव्यापि वितरण प्रणाली ( Global Supply Chain ) अवरुद्ध हुंदै जादा कच्चा पदार्थको अभावमा नेपालका उद्योग धन्दा कलकारखानाहरु धमाधम बन्द हुने स्थिति एकातिर छ भने अर्कातिर चर्को बैक व्याज तिर्न नसकेर उद्योगी व्यवसायीहरु टाट पल्टिने स्थिति पैदा हुनेछ । जसका कारण हजारौं संख्यामा कामदारहरु वेरोजगार बन्नेछन् ।
चौथोः सार्वजनिक उद्योगका निर्माणाधिन परियोजनाहरु जस्तै: मेलम्ची खानेपानी परियोजना, पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल, विभिन्न हाइड्रोपावर र सिमेन्ट उद्योगहरु बन्द भईसकेका छन् । त्यहा कार्यरत ठूलो संख्याका प्राविधिक र कामदारहरु कोरोना संक्रमणको जोखिमले कार्यस्थल छोडेर हिडिसकेका छन् । लामो समय सम्म परियोजनाको काम स्थगित हुदा परियोजना खर्च बढ्ने निश्चित छ ।
पाचौ : नेपालबाट उच्चशिक्षा अध्ययन गर्न अन्य मुलुक जानेको संख्यामा कमि आउने र हाल भारत, बलादेश, अमेरिका र युरोपका अन्य मुलुकमा अध्ययन गर्न गएका विद्यार्थीहरु कोरोना महामारीका कारण स्वदेश फर्किनेछन् । यसले देशमा शैक्षिक बेरोजगारीको संख्यामा वृद्धि हुनेछ ।
छैटौं : हामीले उपभोग गर्ने अधिकांश वस्तुहरु जस्तैः खाद्यान्न, कपडा, विद्युतीय उपकरण, मेशिनरी, निर्माण सामग्री, औषधि, पेट्रोलियम पदार्थ आदिलगायत अन्य बस्तुहरु वैदेशिक आयातमा नै भर पर्नुपर्ने अवस्था छ । अब यी वस्तुहरु सहज र सुलभ रुपमा उपभोग गर्न सकिने देखिदैन । किनकी यी वस्तुहरु उत्पादन गर्ने उद्योगहरु कच्चा पदार्थको सहज आपुर्ती हुन नसक्दा केही बन्द भईसकेका छन् भने केही वन्द हुने क्रममा छन् । उदाहरणका लागि कपडाको निर्यात गर्ने मुख्य दुई राष्ट्रहरु बंगलादेश र कम्बोडियाका अधिकांश कपडा उद्योगहरु कच्चा पदार्थको आपुर्ती हुन नसक्दा बन्द भईसकेका छन् । यो समस्या अन्य उत्पादन उद्योगहरुले पनि व्यहोर्नु स्वभाविक नै छ ।
निश्कर्षमा: कोभिड–१९ ले राष्ट्रको आर्थिक, समाजिक, राजनितिकलगायत सबै क्षेत्रमा दुरगामी प्रभाव र असर पर्ने निश्चित प्रायः छ । सबैभन्दा दर्दनाक अवस्था त नेपाली नागरिकहरु ठूलो संख्यामा बेरोजगार हुने र दैनिक उपभोग्य बस्तु तथा सेवाको अभावमा कष्टकर जीवन व्यतीत गर्नुपर्ने अवस्थाबाट गुज्रिनु पर्ने देखिन्छ । आगतको विकराल स्थितिलाई हृदयगम गरी नेपाल सरकारले विद्यमान बजेटलाई पुनर्संयोजन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र उद्योग कलकारखानामा उल्लेखनीय रकम विनियोजन गरी ठूलो मात्रामा रोजगारी सृजना गर्नेुपर्ने चुनौती थपिएको छ । यो महामारीबाट बच्नका लागि सरकारले स्वास्थ्य सामग्री र दक्ष प्राविधिकहरु विभिन्न मुलुकबाट तत्काल भित्र्याउनु जरुरी छ । साथै वर्तमान र भविश्यका लागिसमेत मध्यनजर गरी कमविकसित राष्ट्रहरुसंगको पारस्परिक एकता र सहयोगलाई अझ बलियो र विश्वासिलो बनाउदै क्षेत्रीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमार्फत राहत प्याकेज भित्र्याउन ठोस पहलकदमी चाल्नुपर्ने देखिन्छ । निहारिका कलेज, विराटनगर