लकडाउनमा डढेलो (फोटो फिचर)

विराटनगर । कोरोना भइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउनसँगै मोरङको वनमा डढेलोले क्षति पुर्याउन थालेको छ ।

डिभिजन वन कार्यालय मोरङका अनुसार यस वर्षको डढेलोका कारण चैतको २६ गतेसम्म १ सय १० हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।

मोरङमा ४५ हजार हेक्टरमा वन क्षेत्र रहेको छ । यहाँ १ सय ३४ सामुदायिक, ४ साझेदारी र १२ वटा धार्मिक वन रहेको डिभिजन वन कार्यालय मोरङका प्रमुख (डिएफओ) बिशाल घिमिरले जानकारी दिनभयो । जसमध्ये सबैभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ ।

डिभिजन बन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार चैतको सुख्खा यामदेखि मोरङको वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । उहाँका अनुसार हालसम्म मोरङको १४ वटा वन क्षेत्रमा डढेलोले वन क्षेत्रमा क्षति पुगेको छ ।

चैत २६ गतेसम्म ११ वटा सामुदायिक र ३ वटा साझेदारी वनमा ढडेलोले वन क्षेत्रमा क्षति पुर्याएको छ । हालसम्म एक हजार विभिन्न प्रजातिका विरूवा पूर्ण रूपमा नष्ट भएको उहाँले बताउनुभयो । यहाँको वनमा डढेलो लागे पनि मानवीय र जनवारमा क्षति नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

ठूला र घना जंगलका साथै प्रायः सबै वनमा डढेलो लागेको छ । केही वनमा फायर ब्रेकर राखिएकोले व्यापक क्षति हुनबाट जोगाउन केही सहयोग पुगेको वन कार्यालयले जनाएको छ । डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन् भने अमूल्य जडिबुटी पनि खरानी भएको उपभोक्ताहरू बताउँछन् ।

उर्लाबारी नगरपालिको २ स्थित बेतनी सामुदायिक वनमा बिहीबार साँझसम्म तीन स्थानमा डढेलो लागेको स्थानीय उपभोक्ता दधिराम पोखरेलले बताउनुभयो । बेतनी सामुदायिक वन क्षेत्रमा लागेको ढडेलो वन क्षेत्रमा रहेका स्थानीय र सामुदायिक वनका वन रक्षकको सहयोगमा नियन्त्रण गरिएको थियो ।

रातदिन हावाहुरी चल्दा डढेलो निभाउन गाह्रो भएको छ । हरियो बन अहिले डढेलोले कालो बन्दै गएको छ । वनमा ढडेलो लाग्दा आगो नियन्त्रण गर्ने उपकरण नहुदा समस्या भएको उपभोक्ताले बताएका छन् ।

स्थानिय उपभोक्ताले वनमा डढेलो लाग्दा काँचो सेउँलाको पत्ता र घरेलु विधी अपनाएर आगो नियन्त्रणमा ल्याउने गरेका छन् । डढेलोको क्षतिको यकिन मूल्यांकन गर्ने प्रविधि नभएपनि लगातारको वन डढेलोका कारण करौडौं मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पंक्षीको क्षति भएको स्थानीय उपभोक्ताले अनुमान गरेका छन् ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरले रमाइलो गर्ने नाममा पनि कतिपयले वनमा ढडेलो लगाउने गरेबो बताउनुभयो । लकडाउनको कारण धेरै मानिस काम नगरी घर बस्दा नजिकको वनमा गएर डढेलो लगाएकोले यो वर्ष डढेलो विगतको वर्षहरूमा भन्दा बढ्ने देखिएको वन कार्यालयले जनाएको छ ।

वनमा सिकार गर्न जानेहरूले पनि डेढेलो लगाउने गरेको भनाई छ । मोरङको राजमार्ग साइट र गाउँबस्तीको वन क्षेत्रमा अहिले बढी डढेलो लागेको स्थानीय उपभोक्ता बताउँछन् । उर्लाबारीस्थित बेतनी सामुदायिक वनका उपभोक्ताका अनुसार अहिले लागेको डढेलो अहिलेसम्मको ठूलो रहेको बताएका छन् । डढेलोले हुर्किदै गरेका साना रुख जलेर नष्ट भएको बेतनी सामुदियक वनकी उपभोक्ता चन्द्रकुमारी श्रेष्ठले बताउनुभयो ।

शुक्रबार, २८ चैत, २०७६, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर