भगवती रानाभाट/ लण्डन
९ मार्चको बेलुकीसम्म म पूर्णरुपमा स्वस्थ थिएँ । सँधैजस्तो अफिसबाट फर्केर बेलुकी खाना खाइवरि सामान्य अवस्थामै सुतेँ । तर, असैह्य टाउको दुखाइले मध्यरातमा ब्यूँझिएँ । घडी हेर्दा १२ बजेको रहेछ ।
शरीर रनक्क तातेको थियो । ज्वरो नापेँ । थर्ममिटरले १ सय २ डिग्री देखायो । मनतातो पानी पिएँ । अनि, पारासिटामोल खाएर सुत्ने चेष्टा गरेँ । तर, ज्वरो कम भएन । टाउको दुखाई पनि घटेन ।
अलिक डर लाग्यो । कोरोनाको त्रास फैलिइरहेको थियो जताततै । बेलायतमा पनि चार हजार संक्रमित पुगेका थिए भने एक सय ८० जनाको मृत्यु भइसकेको थियो ।
सरकारले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल फोन गर्न भनेर हटलाइन नम्बर १११ दिएको थियो । मनमा चिसो पसेपछि मैले राति नै फोन डायल गरेँ । तुरुन्तै फोन उठ्यो । उताबाट लक्षण सोधियो । मैले अचानक ज्वरो आएको र टाउको दुखेको बताएँ । सास फेर्न गाह्रो भएको छ कि भनेर सोधियो । मैले छैन भनेँ । ‘केहीबेरमा कल आउँछ’ भनेर फोन राखियो ।
रातको २ बजेतिर मोबाइलको घन्टी बज्यो । सरकारी डाक्टरको फोन रहेछ । उहाँले पनि त्यही प्रश्न सोध्नुभयो– सास फेर्न गाह्रो भएको छ कि छैन ? मैले उही उत्तर दिएँ । रुघा खोकी केही छैन भनेँ ।
डाक्टरले भन्नुभयो– सास फेर्न गाह्रो भएमा तुरुन्त अस्पताल जानुस् । होइन भने भोलि नजिकैको स्वास्थ्यचौकीमा गएर जचाउँदा हुन्छ । उहाँले ज्वरो ठीक नहुँदासम्म आइसोलेसनमा बस्न सुझाव दिनुभयो ।
छट्पटीमै त्यो रात बित्यो । भोलिपल्ट बिहान श्रीमानले नजिकैको स्वास्थ्यचौकीमा लैजानुभयो । प्रारम्भिक परीक्षणपछि डाक्टरले भाइरल ज्वरोको आँकलन गरे । ६–६ घन्टामा खानु भनेर पारासिटामोल दिए । अरु कुनै औषधि दिएनन् । कोभिड–१९ को शंका नै गरेनन् ।
अलि ढुक्क भएर घर फर्कियौं । तर, मेरो स्वास्थ्य सुधार भएन । ज्वरो आएको आयै, टाउको दुखेको दुख्यै । ४–४ घन्टामा सिटामोल खान्थेँ । श्रीमानले पानीपट्टि लगाइदिनुहुन्थ्यो । तर, पनि ज्वरो नघट्ने । १०३ डिग्रीभन्दा बढी हुन्थ्यो तापक्रम ।
३ दिनसम्म बीसको उन्नाइस नभएपछि सोमबार एम्बुलेन्स बोलाएर श्रीमानसँग नर्थ पार्क अस्पताल गएँ र सिधै इमर्जेन्सीमा छिरेँ ।
मेरो रगत र पिशाबको परिक्षण गर्न लगाइयो । छातीको एक्सरे गराइयो । त्यहाँ पनि डाक्टरले कोभिड–१९को शंका गर्नुभएन । रिपोर्टमा भाइरलको संकेत देखिएको भन्नुभयो । सास फेर्न गाह्रो भयो भने आउनु, नत्र घरमै आइसोलेसनमा बस्नु भनेर फर्काइदिनुभयो । यसरी अस्पतालको इमर्जेन्सीमा करिब ५ घन्टा बिताएर हामी फर्कियौं ।
मंगलबार औषधि खाएर दिनभर घरै बसेँ । त्यही दिनबाट छाति दुख्न थाल्यो । राति दुखाई बढ्दै गयो । त्यसपछि बुधबार छोरीले आफ्नै गाडीमा राखेर मलाई अस्पताल लगिन् ।
अस्पतालमा फेरि छातिको एक्सरे गर्न लगाइयो । फेरि एकपटक रगत र पिशाबको पनि टेस्ट गराइयो । यसपालि अलि सिनियर डाक्टरले परीक्षण गर्नुभयो । एक्सरेको रिपोर्ट हेरेर उहाँले छातीको बायाँ भागमा अलिकति इन्फेक्सन देखिएको बताउनुभयो । अनि एन्टिबायोटिक लेखिदिनुभयो ।
म भनेँ होपलेस भइरहेको थिएँ । एक–दुई दिन अस्पताल नै भर्ना लिए हुन्थ्यो जस्तो भएको थियो । डाक्टरलाई अनुरोध पनि गरेँ । तर, उहाँले एन्टिबाइटिकले ठिक हुने आश्वासन दिनुभयो र नआत्तिन भन्नुभयो ।
त्यसपछि मैले डाक्टरसँग भने, ‘मलाई निकै डर लागिरहेको छ । एकपटक कोभिड–१९ को परिक्षण गर्न पाए ढुक्क हुन सक्थेँ ।’
डाक्टरले सल्लाह गरेर बोलाउँछु भन्नुभयो । आधा घन्टापछि बोलाउनुभयो । अनि भन्नुभयो– हुन्छ, टेस्ट गरौं ।
परीक्षणका लागि मेरो नाक र मुखबाट स्वाव निकालियो । डाक्टरले परीक्षणको रिपोर्ट आउन ७२ घन्टा लाग्ने बताउनुभयो । अनि हामी सबैजना घर फर्कियौं ।
त्यसको भोलिपल्ट अस्पतालबाटै फोन आयो । सोधियो– तपाईंलाई अहिले कस्तो छ ? मैले खासै सुधार नभएको बताएँ ।
‘तपाईमा कोभिड–१९ पोजिटिभ देखियो । गाह्रो भएको भए अस्पताल भर्ना हुन आइहाल्नुस,’ उताबाट भनियो ।
म नराम्ररी झस्किएँ । एकछिन त केही सोच्नै सकिनँ । फेरि मन बलियो बनाएँ । निको नै नहुने रोग होइन भन्ने थाहा थियो ।
श्रीमानले एम्बुलेन्स बोलाउनु भयो । म एम्बुलेन्समा र उहाँहरु गाडीमा अस्पताल गयौं । अस्पतालले भर्ना लिइहाल्यो । डाक्टरले श्रीमान र छोराछोरीलाई पनि २ हप्ता आइसोलेसनमा बस्न भन्नुभयो । उहाँहरु सबैजना घर फर्किनुभयो ।
मलाई जुन वार्डमा राखियो, त्यहाँ अरु ४ जना कोभिड–१९ संक्रमित बिरामीहरु थिए । सबैजना महिला मात्रै । उनीहरुमध्ये दुईजना बृद्धाको अवस्था अलि नाजुक थियो । उहाँहरुलाई भेन्टिलेटरमा राखिएको थियो ।
मेरो उपचार सुरु भयो । प्रत्येक बिरामीलाई उनीहरुको लक्षण अनुसार बेग्लाबेग्लै औषधि चलाइँदो रहेछ । यस भाइरसले मान्छेको सबैभन्दा कमजोर अंगमा आक्रमण गर्ने भएकाले त्यसै अनुसार औषधि उपचार गरिँदो रहेछ । मेरो छातीमा दाग देखिएकाले डाक्टरले निमोनियाका दुईवटा एन्टिबायोटिक चलाउनुभयो । त्यो इन्जेक्सनको माध्यमबाट दिइन्थ्यो ।
चार दिन र चार रातसम्म अस्पतालमा बसेपछि मेरो स्वास्थ्यमा सुधार आयो । चौंथो दिनमा डाक्टरले अक्सिजनको पाइप निकाल्नुभयो । सास फेर्न समस्या नभएपछि पाचौं दिनमा मलाई डिस्चार्ज गरियो ।
भगवानरुपी चिकित्सक
मलाई कोभिड १९ संक्रमण चाहिँ कसरी भयो होला ? म एउटा अस्पतालमा काम गर्छु । तर, प्रशासनतर्फ भएकाले अस्पताल आउने बिरामीहरुसँग कुनै सम्पर्क हुँदैन । बिरामी जाँच्ने भवन र प्रशासनिक भवन नै अलग–अलग छ । मसँग काम गर्ने सहकर्मी कसैलाई यो संक्रमण भएको थिएन ।
म घरबाट नियमित ट्रेन चढेर अस्पताल आउ–जाउ गर्छु । ट्रेनबाट ओर्लेर बस पनि चढ्नुपर्छ । घरबाट अस्पताल पुग्न झण्डै एक घन्टा लाग्छ ।
त्यसबेला कोभिडको प्रकोपविरुद्ध सरकारले कुनै ठोस कदम चालेको पनि थिएन । बजार, पसल, रेस्टुरेन्ट, यातायात सबै खुल्ला नै थिए । ट्रेन र बसमा भिडभाड हुन्थ्यो । सम्भवत यही भिडभाडभित्र मलाई संक्रमण भएको हुन सक्छ ।
संक्रमण थाहा भइसकेपछि पनि म पुरै नर्भसचाहिँ भइनँ । मेरो आत्मबल उच्च नै थियो । यही आत्मबलले गर्दा पनि चाँडै रिकभर भएँ जस्तो लाग्छ । तर, त्योभन्दा ठूलो कुरा त डाक्टरको उपचार र नर्सहरुको स्याहार नै हो । अस्पतालमा डाक्टर–नर्सहरुले निकै राम्रो केयर गर्नुभयो ।
यो अरुभन्दा फरकखालको रोग हो । प्रायः रोग लाग्दा बिरामीलाई आफ्नो परिवार र आफन्त साथ हुन्छ । तर, यो रोगमा त तपाईंसँग कोही छेउसमेत पर्न सक्दैनन्, सिवाय डाक्टर र नर्स । उनीहरु नै तपाईंका लागि सबैथोक हुन्छन् । परिवार र आफन्तले त घरमा बसेर प्रार्थना गर्ने मात्रै हो ।
म अहिले झल्झली सम्झिन्छु ती डाक्टर र नर्सहरुलाई जसले मलाई यो रोगबाट मुक्त गराए । एकजना फिलिपिनो नर्स थिइन् । उनले मलाई निकै माया गर्थिन् । मलाई छुन, सुम्सुम्याउन डराउँदिनथिन् ।
प्रेरणादायी कुराहरु गरेर मेरो आत्मबल बढाउँथिन् । अस्पतालमा भर्ना भएपछि पहिलो दिन म लगातार वान्ता गरेर आलसतालस भएकी थिएँ । त्यसबेला उनैले सम्हालिन् ।
उनी र उनको परिवारको सँधै भलो होस् ।
हाम्रो वार्डमा एक जना स्वास्थ्यकर्मीले बढिमा १५ मिनेट समय मात्रै बिताउन पाउँथे । लामो समय बस्दा संक्रमणको जोखिम हुने भएर । त्यसैले एकैपटकमा सबैलाई हेरेर जान सम्भव थिएन । निश्चित समयको अन्तरालमा बारम्बार आउनुपर्ने हुन्थ्यो । ४–४ घन्टामा प्रेसर जाँच्नुपर्ने, औषधि खुवाउनुपर्ने हुन्थ्यो । कतिलाई खाना खुवाउने र शौचालय लगिदिनुपर्ने पनि हुन्थ्यो ।
डाक्टर–नर्सहरुको अवस्था निकै टिठलाग्दो लाग्थ्यो । हाम्रो वार्डमा पस्दा उहाँहरुले आफ्नो युनिफर्ममाथि पूरा शरीर ढाक्ने गाउन, चश्मा, हेडमास्क, बुट लगाउनुपथ्र्यो । भित्र खल्खली पसिना आइरहेको हुन्थ्यो । बिरामीको अनेक गुनासो सुन्नुपथ्र्यो । तर, पनि कहिल्यै झर्कोफर्को गर्नुभएन ।
डाक्टरहरु साँच्चै भगवानका रुप हुन् । अझ, कोरोना संक्रमितहरुका लागि उनीहरु नै जीवनदाता हुन् । आज संसारभरका डाक्टर–नर्सहरुले गरिरहनुभएको छ, त्यो जागिर होइन । मानव सेवा हो । पुण्य हो ।
म अस्पतालमा बस्ने क्रममा मेरो वार्डका दुई जना डिस्चार्ज भएर गए । बाँकी तीनजना सिरियस अवस्थामा थिए । तीमध्ये एउटी बहिनीको झल्झली याद आइरहन्छ । करिब २१–२२ वर्षकी हुँदिहुन् । एक रात त निकै अत्याइन् उनले । लगभग रेस्पोन्स नै गर्न छोडेकी थिइन् । डाक्टरहरुले पनि हार खान लागेका थिए । अन्तमा एउटा इन्जेक्सनले उनलाई ब्यूँतायो ।
त्यस रात मेरो मन पनि आत्तिएको थियो । कतै म पनि दिनदिनै गल्दै यही अवस्थामा पुग्ने हुँ कि जस्तो भएको थियो ।
पछि थाहा भयो, कि ती बहिनी मिर्गौला रोगी रहिछन् । यस्ता रोगीलाई कोरोनाले बढी दपेट्छ । अस्ति समाचारमा एक २१ वर्षीया युवतीको कोरोनाबाट निधन भएको खबर सुनेँ । उनी नै हुन् कि ? नाम नखुलाइएकाले एकिन गर्न सकिनँ ।
म डिस्चार्ज हुँदा नयाँ दुई संक्रमित थपिएका थिए भने दुईजना वृद्धाहरु चाहिँ भेन्टिलेटरमै थिए । उनीहरु के भए होलान् ? अहिले त अस्पतालमा कोरोना संक्रमितहरुको चाप निकै बढेको छ रे । म हुँदा १८ जना संक्रमित भर्ना भएका थिए त्यो अस्पतालमा । अहिले त सयौं होलान् ।
अनि फेसबुकमा लेखेँ
कोरोना संक्रमित धेरै बिरामीहरु खुल्न चाहँदैनन् । त्यही भएर उनीहरुको नाम पनि सार्वजनिक नगर्ने प्रचलन छ । तर, मेरो विचारमा बिरामीहरुको नाम र पहिचान खुलाउनु उचित हो ।
मानिसहरु सामान्य रोगको उपचारका लागि अस्पताल बस्दा फोटो खिचेर फेसबुकमा हाल्न हतार गर्छन् । मैले त्यस्तो कहिल्यै गरिनँ । तर, कोरोना संक्रमण भएपछि मैले यो कुरा सबैलाई बताउन आवश्यक सम्झिएँ, ताकि अरु मानिसहरु सचेत होउन् ।
अस्पतालको बेडमा हुँदा मोबाइल साथमै हुन्थ्यो । तर, प्राय साइलेन्टमा राख्थेँ । घरबाट फोन आएको देखेँ भने कलब्याक गर्थेँ । सबैको फोन उठाएर साध्य नै भएन । त्यसपछि सोचेँ, फेसबुकबाट सबैलाई एकैपटक जानकारी दिन्छु । अनि थर्थरारहेको हातले कष्टपूर्वक केही शब्दहरु लेखेँ । सेल्फी खिचेँ अनि फेसबुकमा पोष्ट गरेँ ।
मेरो त्यो पोष्टले धेरैलाई सजक गरायो जस्तो लाग्छ । मसँग सम्पर्कमा रहेका र नरहेकालाई पनि । अहिले पनि मलाई फोन गरेर कतिपयले भन्नुहुन्छ, तपाईंले त्यो लेखेपछि हामी काममा जान छोडेर घरमै बसिरहेका छौं । जानकारी दिएर राम्रो गर्नुभयो भन्नुहुन्छ ।
हुन त नाम सार्वजनिक गर्ने–नगर्ने व्यक्तिगत कुरा हो । यसमा व्यक्तिगत गोपनीयताको कानून आकर्षित हुन्छ होला । तर, मलाई के लाग्छ भने एउटा संक्रमितको पहिचान बाहिर आउँदा ऊसँग हिमचिम भएका धेरैले सजक हुने अवसर पाउँछन् । सार्वजनिक हितका लागि नाम सार्वजनिक गरिनु आवश्यक छ ।
आखिर कोरोना संक्रमितहरु अपराधि त होइनन् नि । उनीहरुको नाम आयो भने भोली मुख लुकाएर हिँड्नुपर्ने हुन्छ र ? आखिर यो एउटा भाइरस न हो । जसलाई पनि हुन सक्छ । यति चेतना हरेक विरामीलाई भयो भने उनीहरु नाम बाहिर ल्याउन नहिच्किचाउलान् ।
घरभित्रको आइसोलेसन
मेरो स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भएपछि डाक्टरहरुले डिस्चार्ज गर्नुभयो । अनि, घरमा सबैजना आइसोलेसनमा बस्नुपर्ने भयो । मलाई एक हप्ता र परिवारका अरु सदस्यलाई १४ दिन आइसोलेसनमा बस्नुपर्ने भन्नुभएको थियो ।
हाम्रो दुई तल्ले घर छ । पहिलो तल्लामा एउटा ठूलो वैठक कोठा, किचेन र अर्को एउटा कोठा छ । दोस्रो तल्लामा तीन बेडरुम छन् । एउटा छोराको, अर्को छोरीको र तेस्रो हाम्रो । अस्पतालबाट घर फर्केपछि म तलैको कोठामा बसेँ ।
कहिले बुवाले र कहिले छोरीले खाना पकाउथेँ । मेरो भाग ल्याएर ढोका छेउ राखिदिन्थे। म खाएर ती भाँडाहरु आफैंले माझ्थेँ । सुकेपछि ढोकाछेउ राखिदिन्थेँ ।
म मात्र होइन, बुवा, छोरा र छोरी पनि एक–अर्कासँग टचमा बसेनन् । उनीहरु पालैपालो खाना खान्थे । छुट्टाछुट्टै कोठामा बस्थे ।
हामी कोही बाहिर सपिङ गर्न निस्केनौं । घरभित्र चाहिने सामग्रीहरु छरछिमेकी र साथीभाइले ल्याइदिन्थे । हामी फोन गरेर उहाँहरुलाई सूची टिपाउँथ्यौं। उहाँरुले ल्याएर घरको गेटमा राखिदिने गर्नुहुन्थ्यो ।
दिनदिनै १११ बाट फोन गरेर मेरो स्वास्थ्यबारे सोधनी हुन्छ । उहाँहरुले म लगभग ठीक भइसकेको बताउनुभएको छ । अब एक–दुई दिनमा अफिस पनि जाँदा हुन्छ भन्नुभएको छ ।
तर, कोभिड १९ को टेस्ट भने दोहोर्याएर गरिएको छैन । मैले टेस्ट नगरी म ठिक भए–नभएको कसरी एकिन हुन्छ भनेर सोधेको थिएँ । तर, डाक्टरहरुले लक्षणकै आधारमा भन्न सकिने बताउनुभयो । उहाँहरुको भनाइअनुसार बेलायतका अरु अस्पतालमा पनि बिरामी ठीक भएको एकिन गर्न स्वाब टेस्ट गरिँदैन । लक्षणहरु देखिएनन् भने त्यसलाई क्लियर भएको मानिन्छ ।
मेरी छोरी पनि सरकारको लाइसेन्सप्राप्त फार्मेसिस्ट हुन् । उनी पनि नर्थ पार्क अस्पतालको एउटा शाखामा काम गर्छिन् । मलाई संक्रमण भएपछि उनी पनि घरभित्रै आइसोलेसनमा थिइन् । अहिले हस्पिटल जान थालेकी छन् । श्रीमानचाहिँ अझै पनि होम क्वारेन्टाइनमै हुनुहुन्छ ।
बाहिरको जनजीवन
अहिले पनि बेलायतमा पूरै लकडाउन गरिएको छैन । सरकारले भिडभाड हुन सक्ने केही ठाउँहरुमा रोक लगाएको छ । स्कुल–कलेजहरु बन्द गरिएका छन् ।
सडकमा ट्रेन र गाडीहरु भने गुडिरहेकै छन् । सपिङ मलहरु खुल्ला छन् । त्यहाँ ६ मिटरको दुरीमा लाइन लगाएर बिल तिराइन्छ । अहिलेसम्म कुनै सामग्रीको अभाव छैन ।
बेलायतमा करिब साढे दुई लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुमध्ये कतिलाई संक्रमण भएको छ भन्ने कुनै तथ्यांक छैन । तर, मलाई लाग्छ सयौंलाई भएको हुन सक्छ । मेरै मोबाइलामा १०–१२ जनाको म्यासेज आएको छ, जसमा तीनजना नर्स हुनुहुन्छ । उहाँहरुले मलाई पनि यस्तो भयो, तपाईंलाई कस्तो छ भनेर सोध्नुहुन्छ । म नआत्तिन भन्छु र आफूले जानेको सल्लाह दिन्छु ।
म फेरि पनि यही भन्छु कि कोरोनासँग धेरै डराउनुपर्दैन । तर, उच्च सतर्कता आवश्यक छ । उच्च मनोबल र रोग प्रतिरोधात्मक क्षमता भएको जोकोहीले यो भाइरससँग सजिलै जित हासिल गर्न सक्छ । मेरो अनुभवले त्यही भन्छ ।
– अनलाइनखबरबाट साभार