विराटनगर । कोरोना भाइरसको जोखिमको कारण सरकारले लकडाउन गरेको समयमा पनि बजारमा अखाद्य बस्तुको बेचबिखन भइरहेको पाइएको छ ।
विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की नेतृत्वको टोलीले मंगलबार विराटनगरको बजार अनुगमन गर्दा अतिआवश्यक मानिएको खाद्य पदार्थको बिक्रेताहरुले म्याद गुज्रिएको, अखाद्य बस्तु बेचबिखन गरेको र मूल्यसुचीसमेत नराखेको पाइएको थियो ।
नगरको विभिन्न स्थानमा रहेका किराना पसलहरुको अनुगमन गर्दा कसैले पनि मुल्यसूची राखेको नभेटिएपनि अनुगमन टोलीले जनाएको छ । विराटनगर १ पानीटंकी स्थित अष्टचिरञ्जिवी खाद्यान्न ट्रेडिङले म्याद गुज्रिएको सामान बिक्री वितरण गरिरहेको अनुगमन टोलीले फेला पारेको थियो ।
ट्रेडिङबाट बिक्रीका लागि राखिएको हजारौं मूल्य बराबरको म्याद गुज्रिएका पेय पदार्थदेखि तितौरा पाऊँसम्मका खाध्यान्न टोलीले जफत गरी नष्ट गरेको थियो । उपमेयर कार्कीले यस्तो महामारीको बेला कालोबजारी र कमसल खाध्यान्नको बिक्री सह्य नहुने बताउनुभयो ।
नगरवासीको हित र स्वास्थ्यका लागि लकडाउनको बेला पनि अनुगमन नरोकिने उपप्रमुख कार्कीले बताउनुभएको छ । ट्रेडिङका संचालक महेश अग्रवालले आफूबाट गल्ती भएको स्वीकार गर्दै आईन्दा गलत कार्य नगर्ने भन्दै टोली सामू माफी मागेका थिए ।