संकटको समानता र अनुशासनले जोगाउने जीवन

कोरोना भाइरसको त्रास संसारभरी फैलिरहेको छ । दिनहुँ संसारका चारै कुनाबाट मृत्युका खवरहरु आइरहेका छन् । यसको सुरुवात भएको देश चीनले रोगको ब्यवस्थापनमा सकारात्मक फड्को मारेर जनजीवन सामान्य बनाउदै लैजाँदा बिश्वका बिकसित देशहरुमा यसको संक्रमण दिन दुना रात चौगुनाको दरमा बढिरहेको छ । अछुतो कोहि छैन । राजादेखि रंकसम्म सबै बर्ग समुदायका मानिसहरु उस्तै रुपमा रोगको शिकार भैरहेका छन् । न यहाँ धनि गरिबको भेद छ¸ न सानो ठूलोको¸ न जातजाति¸ न त महिला पुरुष¸ न युवा न त बृद्धबृद्धा संकटको घडीमा सबै समान छन् । आखिर संकटमा त सबैलाई उस्तै हुनेरहेछ र सबै एकैनासले प्रताडित हुनेरहेछन् । यो संकटको वास्तविकताबाट हामी सबैलाई यो पाठ सिक्ने मौका मिलेको छ । अर्को कुरा अहिलेको लकडाउनले हामी सबैलाई एकान्तमा बस्ने र आफनो स्वमुल्याङ्कन गर्ने मौका दिएको छ । यो समयको सदुपयोग गरौं । हाम्रा पूर्वीय दर्शनका किताबहरु पढौं र तिनको सारमा चिन्तन गरौं । हामीलाई आफ्नो संस्कृति तथा परम्पराको र त्यसको मुल्यको थोरै भएपनि जानकारी हुनेछ ।

रोगको फैलावट
कोरोना भाइरस रोगको चीनबाट सुरुवात हुँदा धेरै मानिसलाई लागेको थियो, यो रोग चिनियाहरुको लागि मात्र हो र अरुहरु अजम्बरी छन् जसलाई यस्ले छुदैछुदैन । अमेरिकी राष्ट्रपती ट्रम्प र केही युरोपियनहरु चीनलाई तल पार्ने एउटा मौकाको रुपमा यसलाई प्रचारप्रसार गर्दैथिए । तर, चीन चुपचाप आफ्ना नागरिकहरुलाई अनुशासनमा राख्दै रोगसँग लड्दैथियो । यो रोग सुरु भएर चीनको बुहानमा महामारी ल्याउँदै गर्दा संसारमा यसको रोकथामको लागि सहकार्यको कुनै पहल थिएन । बिश्व स्वास्थ्य संगठन एकोहोरो कराउँदै थियो र मानिसहरुलाई भविष्यमा आउनसक्ने संकटको चेतावनि दिँदैथियो । तर, अमेरिकी राष्ट्रपतिलगायत केही अरु बिश्व स्वास्थ संगठनलाई चीनको पक्षमा लागेको आरोप लगाउँदै थिए । तर, समयक्रमसँगै परिस्थिति फेरिएको छ । चीन रोग ब्यवस्थापन गरेर आसाको गहिरो सास फर्दैछ भने इटाली¸ स्पेन¸ अमेरीका¸ बेलायत लगायतका देशहरु कोरोनाको मुख्य चपेटामा पिरोलिइरहेका छन् । एकातिर उनीहरुलाई आफ्ना नागरिकहरु बचाउने चिन्ता छ भने अर्कोतिर चीनले यो मौकाको फाइदा उठाउँदै आर्थिक र सामाजिक रुपमा आफुलाई उछिन्ने चिन्ताले पनि सताइएका छन् । चीनले कतै बिश्व नेतृत्व गर्ने कुरामा अमेरिकी स्थान पो लिने हो की भनेर कतिको चिन्ता छ । त्यसैको बौखलाहट अमेरिकी राष्ट्रपति र केही अरु युरोपेलीहरुको लकडाउनलाई मान्दैनौं भन्ने बोली र ब्यवहारमा झल्किने गरेको छ ।

तर, जति धेरै आइसोलेसन र लकडाउनको बिरुद्ध ती राष्ट्रहरु बोल्दैछन् त्यतिनै तीब्र रुपमा ती देशहरुमा कोरोना भाइरसको संक्रमण फैलदैछ । आजको दिनमा इटाली सबै भन्दा धेरै नागरिकहरुको मृत्यु हुने देश बनेको छ भने अमेरिका सबैभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित नागरिकहरु भएको देश बनेको छ । बेलायत¸ फ्रान्स¸ इटली र जर्मनी लगायतका देशका उच्चपदस्तहरु नै यो रोगबाट संक्रमित बनेका छन् । पचासौंं डाक्टरहरु र स्वास्थकर्मीहरुले यो रोगका कारण ज्यान गुमाएका छन् । यो स्थिती झनझन फैलँदै गैरहेको छ र रोगको फैलने रफ्तार तिनै देशहरुमा तीब्र छ, जस्ले अनुशासनमा र आइसोलेसनमा बस्न सकिदैन भन्ने भावना फैलाउने काम गरिरहेका छन् ।

संकटको सामना गर्ने क्षमता र संकटको असर
सन् २००८ को आर्थिक मन्दि सुरु हुँदा म नेदरल्याण्डमा थिएँ । मैले त्यहाँ बिताएको ८ महिनामा १५ किलो चामलको मूल्य २४ बाट ४८ युरो पुगेको थियो अथवा दोब्बर भएको थियो । विकसित देशहरुमा त्यो मन्दिका कारण लाखौं मान्छेहरुले आफनो जागिर गुमाएका थिए र संसारभरी यस्को चर्चा भएको थियो । म नेपाल फर्केपछि धेरैसँग यस्को बारेमा कुरा भए । तर, धेरैलाई यस्ले छोएकै थिएन अथवा आर्थिक मन्दि आयो गयो धेरैलाई यस्को थाहा पत्तै भएन । केहि वर्ष अगाडि हामीले भारतीय नाकाबन्दी पनि बेहोर्यौं । केहि समस्या त भयो तर त्राहिमाम हुनेगरी त्यो पनि थिएन । तर, अहिले कोरोना भाइरसको फैलावट चीन बाहिर सुरु भएको एक महिनाभन्दा अलि बढि भयो । तर, सबैतिर कोलाहल मच्चिएको छ । बिकसित देशका सरकारहरुमा बौखलाहट देखिन थालेको छ । भौतिकवादको चरम स्थितिमा रहेका धेरैजसो देशहरुका नागरिकहरु यस्ता संकटको सामना गर्न हामीभन्दा कमजोर हुने रहेछन् । तातै खाँउ जलि मरौ भन्ने उखान सायद यहाँ चरितार्थ होला ।

हामीहरु पूर्वीय संस्कारमा हुर्किएका देशका नागरिकहरु आफुले आर्जन गरेको कमाईको केहि हिस्सा भविष्यका लागि जोगाउने गर्छौ । केहि वर्ष पहिलाको कुरा गर्ने हो भने आफुले उत्पादन गरेका बालीबस्तु आफुलाई बर्षभरी पुग्ने जोहो गरेर बल्ल धेरै भएको बिक्रि गर्ने गरिन्थ्यो । यातायातको र बजारको पहुँच बढेसँगै हामी पनि भौतिकवादतिरको यात्रामा छौं । हाम्रा परम्पराहरु कमजोर हुँदै जादैँछन् । तरैपनि हामीहरुमा संकटको सामना गर्ने क्षमता विकसित देशहरुका धेरै मान्छेहरु भन्दा धेरै रहेछ । हामीले बिगत दशकहरुमा बेहोरेका संकटहरु ब्यहोर्नु परेको भए विकसित भनाउँदा देशका मान्छेहरु के गर्थे होला ? यो प्रश्न धेरैका लागि अध्यनको राम्रो विषय हुनसक्छ । सायद हाम्रो परम्परा धेरै प्राकृतिक छ¸ दिगो छ¸ अनि विज्ञानसम्मत छ । तर, अल्पबिध्या भयंकरी भने जस्तै सतहि कुरा र बाहिरी चकमदमकलाई नै सत्य मानेर आधुनिक देखिने लहडमा रंगिने हाम्रा मानिसहरु पश्चिमि सभ्यतामा रंगिदै जाँदा हाम्रो खँदिलो धरातल पनि खस्किदो छ । सायद अहिलेको कोरोना भाइरस सृजित संकटले हामीलाई आफनो परम्पर्रा पुनर्जिवित र परिष्कृत गर्ने मौका दिएको छ । यस्को सदुपयोग गरौं ।

अनुशासन र एकअर्काको भरोसामा अडेको हाम्रो उत्कृष्ट संस्कृति
हामी बचपनदेखि नै यो गर्ने यो नगर्ने भन्ने हरेक परिवारबाट पाउने शिक्षाबाट दिक्षित हुँदै हुर्किन्छौं । हाम्रो परम्परा एकअर्कालाई साथ सहयोग दिँदै सर्वजन हिताय सर्वजन सुखाय को मुल सिद्धान्तमा आधारित परम्परा हो । तर, यो भौतिकवदको चपेटामा मानिसहरु रंगिदै जाँदा कमजोर हुँदै गएको छ र मै खाउ मै लाउ अरु सव मरुन् दुर्वलहरु हावी हुदै गएको छ । जुन हाम्रो संस्कृति र परम्परा होइन । त्यही कुराको मञ्चन कोरोना भाइरसको ब्यवस्थापनमा देखिएको छ । जुनबेला चीन यो रोगसँग लड्दैथियो र अरुहरुबाट उस्ले भौतिक नभएपनि मानसिक साथ सहयोग खोजिरहेको थियो । त्यो बेला धेरै ठालुहरु उसलाई उडाउँदै थिए र यस्लाई तल पार्ने एक स्वर्णिम मौकाको रुपमा त्यो अवसरको दुरुपयोग गर्दैथिए । तर, आज परिस्थिति फेरिएको छ । तर, चीनले पहिलाको बदला होइन आफुले सक्ने सहयोग गरिरहेको छ । धेरै देशहरुमा चिनिया स्वास्थकर्मिहरु र स्वास्थसामाग्रीहरु पुगिरहेका छन् र चीनले आफुलाई परेको बेला संझन सकिने एउटा बिश्वासिलो साथीको रुपमा स्थापित गरिरहेको छ ।

अपवादलाई छोडने हो भने हामीलाई अनुशासनमा बस्न त्यति गाह्रो छैन किनकी यो हाम्रो संस्कृति र परम्परा हो । जुठो नखाने¸ हातखुट्टा धोएर खाने¸ राम्ररी पकाएर खाने र बिविधतायुक्त खानेकुराहरु खाने हाम्रो परम्परादेखि चलिआएको चलन हो । हामी हाम्रो सरसफाईको लागि पानिको अधिकतम प्रयोग गर्छौ । हामी ट्वाइलेट पेपरमा आश्रित छैनौं । त्यसैले हामी ट्वाइलेट पेपर भेला पार्ने दौडमा छैनौं । यस्तो कुरा हाम्रो लागि संकट हुँदैन । अहिले जुनवेला भाइरससँग लड्ने कुरा आएको छ पानी र साबुनको महत्व देखिएको छ । हजारौं बर्षदेखि हाम्रो परम्परा रहँदै आएको बाहिरबाट घुमेर घर फिरेपछि घरभित्र छिर्नुभन्दा पहिला हातखुट्टा धुने चलन बिज्ञानसम्मत र स्वास्थकर चलन रहेछ भन्ने कुरा प्रमाणित भएको छ । हाम्रा अधिकांस चलनहरु हजारौं वर्षका अनुभव र ज्ञानले खारिएर बनेका छन् । तर, आधुनिकताका नाममा हामी हाम्रा राम्रा कुराहरु छाड्दै गएका छौं। आज बिकसित देशहरु परम्परागत ज्ञानको खोजिमा भौतारिरहँदा हामीहरु तिनै कुराहरु ध्वस्त पारेर बहादुरी प्रदर्शित गरिरहेका छौं।

अन्त्यमा
समयले फेरि एकपटक हामीसँगै संसारलाई मौका दिएको छ । आफ्नो स्वार्थपुर्तिका लागि सबै चिजको सिमाहिन दोहन गर्ने¸ एकाधिकार जमाउने र कमजोरहरुको दुर्दशामा रमाउने प्रबृतिहरुको चरमोत्कर्ष अवस्था देखापरेको छ । जसले बसुदैव कुटुम्बकं भन्ने पूर्वीय दर्शनलाई नामेट पार्न कोशिस गरिरहेको छ । यो जति बढ्दै जाँदैछ संसार त्यति नै जोखिम झेल्न कमजोर र असाहय बन्दै गएको छ । हामीले आफनो बिशिष्ठ परम्परा र संस्कृतिलाई पुनर्जिवन दिँदै परिष्कृत पारेर लानुछ । बल्ल स्वास्थकर र दिगो बिकास संभव छ । सबैको हितमा मेरो हित छ भन्ने भावना देश हाक्नेहरुले र उनीहरुलाई पछ्याउनेहरुले राख्न सके भने एक पटक फेरि संस्कृति र परम्परागत ज्ञानका धनि पूर्वीय देशहरुले आफुलााई पुर्नजिवित पार्नेछन् र संसारलाई सुखी संसारको निर्माणमा बाटो देखाउन सक्नेछन् ।

शनिबार, १५ चैत, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर