प्रदेश १ मा २३२ बेड आइसोलेसन र १३३१ बेड क्वारेन्टाइन तयार
विराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताइरहनुभएको बेला स्वास्थ्यकर्मीहरुले भने उपचारमा खटिन न्यूनतम सामान पनि नपाएको गुनासो गरिरहेका छन् ।
मुख्यमन्त्री राईले बुधबार भिडियो सन्देश सार्वजनिक गर्दै कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको बताउनुभएको थियो ।
प्रदेश १ मा कोरोनाको संक्रमणबाट जोगिन ५१ स्थानमा १३३१ वेड क्वारेन्टाइन र ३६ स्थानमा २३२ शय्याको आइसोलेसन तयार भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै विराटनगरको नेशनल ट्रेडिङमा १० वटा आईसियुसहितको ५० बेडको अस्पताल निर्माणको आन्तिम चरणमा छ ।
तर, कोरोना संक्रमणको आशंका गरिएका विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध अझै हुन सकेको छैन । जसले गर्दा कोरोना संक्रमित र आशंकामा उपचारका लागि आउने विरामीको जाँचका लागि खटिएका स्वास्थ्यकर्मीहरु त्रासमा रहने गरेका छन् ।
विराटनगरमा कोरोना संक्रमित विरामीको उपचार गर्न आइसोलेशन वार्ड तयार गरिएको कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले यहि गुनासो गर्दै आएका छन् । बुधबार बिहानदेखि अस्पतालको इमरजेन्सीको चेनगेट बन्द गरेर स्वास्थ्यकर्मी बसेका छन् । कुनै विरामी पुगेमा सोधपुछपछि कोरोनाको आशंका भएकालाई भर्ना गर्ने वा बाहिर रेफर गर्ने गरिन्छ ।
स्वास्थ्यकर्मीको लागि पीपीई .(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) नहुँदा रेनकोट लगाएर काम गर्दै आएका छन् । एउटै गम्बुट (जुत्ता) पालैपालो लगाउनुपर्ने अवस्था छ । अस्पतालले इमरजेन्सीमा खटिने स्वास्थ्यकर्मीका लागि पीपीईका नाममा रेनकोट, गम्बुट, मास्क, टाउकोमा लगाउने टोपी तथा अनुहार छोप्नका लागि प्लाष्टिक दिएको छ ।
बुधबार बिहान पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरुले काम नगर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रदेश सरकारले पीपीई दिने प्रतिवद्धता व्यक्त गर्यो । तर, अझै समस्या समाधान भएको छैन । सरकारबाट प्राप्त नभएपछि अस्पतालले आफैं पीपीई निर्माणमा जुटेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट संगिता मिश्रले बताउनुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई सयवटा पीपीईसहितका सामान विभिन्नअस्पतालहरूलाई वितरण गरेके जनाएको छ । सीमित संख्यामा रहेकोले प्रदेश सरकारले पठाएको पीपीई शङ्कास्पद व्यक्तिको स्वाब संकलन गर्दा प्रयोग गर्नेगरि राखिएको छ । अन्य अवस्थामा प्रयोगका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै पीपीई बनाउने अस्पतालले जनाएको छ ।
प्रदेश १ का विभिन्न अस्पतालमा ३६ स्थानमा २३२ शय्याको आइसोलेशन बेड तयार भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जस्मा १३९ वेड आईसियु रहेको छ । तर, ती अस्पतालमा स्वास्थ्यकर्मीको लागि न्युनत्म सामाग्री उपलब्ध हुन सकेको छैन।
कोरोना विरुद्ध प्रदेश सरकारले २१ बुँदे कार्ययोजना बनाएर काम गरिरहेको जनाएको छ । प्रदेशका विभिन्न ५१ स्थानमा १३ सय ३१ शैय्याको क्वारेन्टाइन निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । ती क्वारेन्टाइनमा भारतीय नाका र अन्य नाकाबाट प्रवेश गरेका २७ महिला र २०० पुरुषलाई निगरानीका लागि राखिएको छ भने २०० जना होम क्वारेन्टाइनमा रहेको प्रादेशिक आपतकालीन कार्यसन्चालन केन्द्र, प्रदेश नम्बर १ले जनाएको छ ।
प्रदेशबाट कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा १९ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले छ । प्रदेशका विभिन्न अस्पतालको आइसोलेशनमा ९ जनाको उपचार भइरहेको छ । यसले स्वास्थ्यकर्मीहरुलाई केही सन्तोष मिलेको छ ।
विभिन्न अस्पतालहरुमा उपचारका लागि पुगेका र ज्वरो देखिएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको छ । मोरङको टाँडीमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा दुई महिलासहित ४७ जना राखिएको छ भने इलाममा ६ जना राखिएको छ ।
व्यक्तिगत सुरक्षात्मक उपकरणहरू बिरामी ओसार्ने एम्बुलेन्स चालकले पनि प्रयोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । एम्बुलेन्स चालकले सर्जिकल मास्क, ग्लोब्स, बिरामी बोक्न पर्दा गाउन लगाउन पर्छ। यस्तै ३.६ फिट दुरि कायम राख्नुपर्ने मापदण्ड भएपनि उनीहरूले मास्ककै भरमा बिरामी ओसारिरहेका छन् ।